इंग्ल्यान्डले ‘सुपर एट’ को लगातार तेस्रो खेल जितेको हो । यसअघि नै दुई खेल जितेर शीर्ष चारमा परिसकेको इंग्ल्यान्डले मुम्बईमा सेमिफाइनल खेल्नेछ, जहाँ टोलीको सम्भावित प्रतिद्वन्द्वी भारत र वेस्ट इन्डिजमध्ये एक हुनेछ ।
What you should know
कोलम्बो — विल ज्याक्स र रेहन अहमदको अलराउन्ड प्रदर्शनमा इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकपमा शुक्रबार न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । यी दुईले १६ बलमा अविजित ४४ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले कोलम्बोमा १ सय ६० रनको लक्ष्य ३ बलअघि नै १ सय ६१ रन बनाएको थियो ।
न्युजिल्यान्डले यो खेल जितेको भए सेमिफाइनल पक्का हुन्थ्यो । तर अब टोली पाकिस्तान र श्रीलंकाबीच शनिबार हुने ग्रुप २ को सुपर एट खेल नतिजा पर्खनुपर्नेछ । न्युजिल्यान्डको ३ र पाकिस्तानको १ अंक छ भने श्रीलंका पहिलो दुवै खेलमा पराजित भइसकेको छ । पाकिस्तानले श्रीलंकालाई ६४ रनले पराजित गरे वा श्रीलंकाले दिएको लक्ष्य १३.१ ओभरभित्र पूरा गरेमा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्न सक्छ ।
इंग्ल्यान्डले ‘सुपर एट’ को लगातार तेस्रो खेल जितेको हो । यसअघि नै दुई खेल जितेर शीर्ष चारमा परिसकेको इंग्ल्यान्डले मुम्बईमा सेमिफाइनल खेल्नेछ, जहाँ टोलीको सम्भावित प्रतिद्वन्द्वी भारत र वेस्ट इन्डिजमध्ये एक हुनेछ ।
प्लेयर अफ द म्याच ज्याक्सले १८ बल खेल्दै ४ चौका र १ छक्कासहित ३२ र रेहनले ७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाई अविजित रहे । इंग्ल्यान्डको सुरुआत राम्रो थिएन । पहिलो दुई ओभरमै टोलीले फिल सल्ट (२) र जस बटलर (०) लाई गुमाएको थियो ।
कप्तान ह्यारी ब्रुकले २४ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाए । ज्याकोब बेथल १६ बलमा २१, टम बान्टोन २४ बलमा ३३ र साम करन २२ बलमा २४ रन बनाई आउट भए । न्युजिल्यान्डका देव्रेहाते स्पिनर रचिन रवीन्द्रले ४ ओभरमा १९ रनमात्र खर्चेर ३ विकेट लिए ।
यसअघि इंग्ल्यान्डले १६ ओभर स्पिनरहरूको प्रयोग गरेपछि न्युजिल्यान्डलाई १५९–७ को स्कोरमा रोकेको थियो । टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले पावर प्लेको ६ ओभरमा ५३ रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो । तर इंग्ल्यान्डले सिमर जेमी ओभरटनको स्थानमा एक अतिरिक्त स्पिनरमा रेहनलाई खेलाएको थियो । इंग्ल्यान्डका कप्तान ब्रुकले ५ स्पिनर प्रयोग गरे ।
सन् २०१० र २०२२ को विजेता इंग्ल्यान्डले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा स्पिनरलाई यति धेरै बलिङ कहिल्यै गराएको थिएन, सोही कारण टोली न्युजिल्यान्डलाई खुलेर खेल्न दिएन । ज्याक्सले २३ र आदिल रशिदले २८ रन खर्चेर २–२ विकेट लिए । रशिदले प्रतियोगितामा सर्वाधिक ११ विकेट लिइसकेका छन् । ट्वान्टी–२० विश्वकपमा ‘डेब्यु’ गरिरहेका रेहन अहमदले आफ्नो पहिलो बलमै रचिनलाई ११ रनमा आउट गरे । उनले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।
ग्लेन फिलिप्सले न्युजिल्यान्डबाट सर्वाधिक ३९ रन बनाए । उनले २८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । टिम सेफर्टले ३५ रन जोडे । इंग्ल्यान्डले प्रयोग गरेका अर्का दुई स्पिनर लिएम डावसनले ३२ रन खर्चेर १ विकेट लिए भने बेथलले १ ओभरमा १३ रन खर्चेका थिए ।
