नेपाली खेलाडीहरू व्यावसायिक रूपमै विदेशी प्रतियोगितामा खेल्नेक्रम बढेको छ । क्रिकेट खेलाडी विश्वका फ्रेन्चाइज लिगमा बिक्री हुन थालेका छन् । फुटबलमा पनि यो क्रम जारी छ । भलिबल र कबड्डीका खेलाडीले पनि अन्तर्राष्ट्रिय व्यावसायिक यात्रा थालिसकेका छन् ।
What you should know
२०४६ मा प्रजातन्त्रको उदयपछि नेपाली खेलकुदको उडान संकुचित घेराबाट उठ्दै संघर्षपूर्ण ढंगले फराकिलो दायरातिर चलेको यात्रा हो । यसमा पञ्चायतकालीन छायाबाट पाएको मुक्तिदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुग्दा स्वतन्त्रता, पूर्वाधार निर्माण, व्यावसायिकता, मिडियाको प्रभाव, प्रायोजकको चासो, निजी क्षेत्रको प्रवेश, अन्तर्राष्ट्रिय सफलता र व्यावसायिक छलाङसम्मको झन्डै चार दशक लामो इतिहास छ ।
यसबीच चुनौती र कमजोरीका शृंखला यथावत् नै छन् । खेलकुद समग्रमा ढिलो प्रगति गरेको एउटा अत्यन्त सम्भावनाको क्षेत्र हो । यसलाई तीन चरणमा हेर्न सकिन्छ :
प्रजातन्त्र प्राप्तिपछिको सुरुवात
राणाकालीन समयमा खेलकुद क्षेत्रको जग बसेको थियो । त्यतिखेर नेपाली खेलकुदको आफ्नै गति थियो । खेलकुदको नियामक निकायहरू राष्ट्रिय खेलकुद परिषद्देखि राष्ट्रिय खेल संघहरू त्यतिबेला राजपरिवारको नियन्त्रणमा हुन्थे ।
यद्यपि त्यसबेला ७५ जिल्लामा कभर्डहल निर्माणदेखि पाँच विकास क्षेत्रमा ठूला रंगशाला निर्माण भए । थुप्रै खेल संघहरू स्थापना भएकाले खेलकुदले आफ्नै खाले गति लिएको देखिन्थ्यो । २०४६ मा प्रजातन्त्रको प्राप्तिपछि केही समय नेपाली खेलकुद कता–कता भड्किन पुगेको जस्तो देखियो । पञ्चायतकालीन छत्रछायामा हुर्केको खेलकुद क्षेत्र नेतृत्वविहीन जस्तै बन्न पुगेको देखियो । खेलकुद गतिविधिहरू व्यवस्थित तवरले अगाडि बढ्न सकेनन् । राष्ट्रिय खेल संघहरूले नयाँ नेतृत्व लिन समय लाग्यो । अन्तर्राष्ट्रिय खेलकुद सहभागिता पनि रोकिए जस्तो भयो ।
पञ्चायतकालीन प्रशासनले प्रजातन्त्रको उदय रोक्न खेलकुद र खेलाडीलाई जनआन्दोलन दबाउन प्रयोग गरेको भन्ने सन्देश फैलिएको थियो । यसले गर्दा खेलकुद क्षेत्रको छवि नै नकारात्मक बन्न पुग्यो । यहाँसम्मकी ट्र×्याक–सुट लगाएर निस्किने खेलाडीहरू कुटिने अवस्था सिर्जना भयो । यसको प्रभावले नियमित सञ्चालन हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भयो । जुन देशभरि खेलकुद गतिविधि सक्रिय बनाउने बृहत् प्रतियोगिता थियो । हरेक दुई वर्षमा आयोजना हुने बृहत् खेलकुद नहुँदा खेलाडी उत्पादनमा समेत प्रत्यक्ष असर पर्यो ।
खेलकुद क्षेत्र पुनः जुर्मुराउनमा २०५५ (सन् १९९८) मा आयोजना भएको एसियाली खेलकुद र २०५६ (१९९९) मा आयोजित ‘आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता’ ले भूमिका खेले । नेपाली खेलकुद क्षेत्रले सहभागिता जनाउने सबैभन्दा फराकिलो अवसरका रूपमा लिइने एसियाली खेलकुद थाइल्यान्डमा हुँदै थियो । त्यसका निम्ति खेलाडी छनोट प्रतियोगिता, तयारी, बजेटदेखि व्यवस्थापनको काम सुरु हुँदा यसले खेलकुद गतिविधि चलायमान भयो । खेलकुद क्षेत्र व्यवस्थित हुनेदेखि खेलाडीमा पनि ऊर्जा थपिएको देखियो । अर्कोतर्फ दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि त्यसकै बहानामा १० वर्षदेखि स्थगित ‘राष्ट्रिय खेलकुद प्रतियोगिता’ ब्युँतिन पुग्यो ।
नेपालगन्जमा २०५५ मा भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताले देशभरि नै खेलकुद गतिविधि ब्युँझाएको थियो । आठौं साफकै समयमा ठूला ठूला खेलकुद पूर्वाधार निर्माण भए । त्रिपुरेश्वरको दशरथ रंगशाला पुनर्निर्माण गरियो । नेपाली मैदानमा पहिलो पटक रात्रिकालीन खेलका लागि कृत्रिम प्रकाश दिने ‘फ्लडलाइट’ बन्यो भने रंगशालामा ‘सेन्थेटिक ट्र्याक’ को निर्माण भयो ।
यसैबेला सातदोबाटोमा नयाँ खेलकुद कम्प्लेक्स पनि निर्माण गरियो, जसमा पौडी पोखरी, सुटिङ कम्प्लेक्सदेखि कभर्डहलसम्म बन्यो । आठौं दक्षिण एसियाली खेलकुदमा यो कम्प्लेक्स प्रयोग गर्नेहरू दिल खोलेर तारिफ गर्थे । सोही साफमा नेपालले ऐतिहासिक रूपमा ३१ स्वर्ण पदक जितेपछि विशेषगरी कराते र तेक्वान्दो जस्ता मार्सल आर्ट्सका खेलले प्रगति गरेको देखियो ।
साफपछि नै अखिल नेपाल फुटबल संघ (एन्फा) दशरथ रंगशालाको प्यारापिटमुनिबाट एन्फा कम्प्लेक्समा पुगेको थियो । आफ्नै भवन र मैदानले नेपाली फुटबलको मात्र नभई नेपाली खेल संघको दायरालाई निकै फराकिलो बनाएको थियो । यस्तो सुविधायुक्त कार्यालय बनाउने एन्फा नेपालको पहिलो खेल संघ थियो ।
खेलकुदका अन्य गतिविधि बढ्नुमा यी सबैले मद्दत पुगेको थियो । खेलकुद क्षेत्रमा निजी क्षेत्रको प्रवेश पनि बढ्न थाल्यो । जसले गर्दा स्कुलदेखि क्लबस्तरीय प्रतियोगिता बढे । खेलकुद प्रतियोगिताको संख्यामा वृद्धि हुन थालेको यो कालखण्डमा नेपाली खेलकुदले फेरि गति लियो ।
एन्फा र नेपाल क्रिकेट संघ (क्यान) का गतिविधि तीव्र रूपमा हुन थाल्नु यसको उदाहरणका रूपमा लिन सकिन्छ । २०५२ मा क्यानले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन पाइला चालेको थियो । त्यस्तै एन्फाले दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) को सुरुआत नेपालबाटै गरेको थियो । यतिबेला मुख्यतः महिला खेलकुदका गतिविधि तीव्र रूपमा बढ्नु खेलकुद क्षेत्रको उपलब्धि मान्नुपर्छ । महिला फुटबलको दक्षिण एसियाली प्रतिस्पर्धा साफ च्याम्पियनसिपको सुरुआत भएसँगै यसले महिला फुटबलको विकासमा फड्को मार्न सुरु गरेको थियो ।
प्रजातन्त्र प्राप्तिपछि मिडिया क्षेत्र स्वतन्त्र भएसँगै यसले पनि खेलकुदको विकासमा अहम् भूमिका निभाउन थालेको देखिन्छ । खेलाडीका सफलता आम जनतासामु खुलेर समाचार बन्न थालेपछि यसले निजी क्षेत्र र प्रायोजकलाई आकर्षित गर्यो । यो कालखण्डलाई स्वतन्त्रतातर्फ उन्मुख हुँदै आधुनिक स्वरूप लिएको समय भन्दा फरक पर्दैन ।
२०६२/६३ पछिको फड्को
प्रायोजक संख्या थपिनु र निजी क्षेत्रको आकर्षण बढ्दै जानुले खेलकुद क्षेत्रको आकार बढाउन यो कालखण्डले मद्दत पुर्याएको देखिन्छ । पोखराको एउटा निजी सहारा क्लबले आहा रारा गोल्डकप आयोजना गर्दा प्रायोजकको दरिलो साथ पाउनु त्यसको एउटा उदाहरण हो ।
सोचिएजस्तै पूर्वाधार विकास हुन नसके पनि त्यसतर्फ ध्यान तान्ने काम हुन थालेको थियो । क्रिकेट र फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउन थालेका थिए । क्लबस्तरीय लिग र जिल्ला तहमा विभिन्न प्रतियोगिता सुरु हुन थाल्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकहरू जित्नुले यो क्षेत्र नियमित चर्चामा आउन थाल्यो । खेलाडीहरू राष्ट्रिय हिरोका रूपमा चर्चित हुँदै गए ।
क्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता पाउन थाल्यो । २०७० (२०१४) मा पुरुष क्रिकेट टोली ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्न सफल भइसकेको थियो । नेपाली क्रिकेट पछि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम पनि भएको थियो ।
२०७२ पछिको सफलता
नेपाली खेलकुद पूर्ण व्यावसायिक हुन नसकेको भनिए पनि व्यवसायीकरणतर्फ भने निरन्तर रूपमा अघि बढ्यो । नेपाल प्रिमियर लिग (एनपीएल) जस्तो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता र नेपाल सुपर लिग (एनएसएल) जस्तो फुटबल प्रतियोगिताले फ्रेन्चाइज खेलकुदको सुरुआत भयो । त्यस्तै भलिबलको फ्रेन्चाइज महिला लिग ईपीएल महिला भलिबल, एनकेएल कबड्डी लिग जस्ता प्रतियोगिताका कारण वर्तमानमा प्रायोजकहरूको नयाँ गन्तव्य खेलकुद बन्न थालेको छ ।
नेपाली खेलाडीहरू व्यावसायिक रूपमा विदेशी प्रतियोगितामा खेल्ने प्रक्रियाले तीव्र रूप लिइसकेको देखिन्छ । क्रिकेट खेलाडीहरू विश्वका फ्रेन्चाइज लिगमा बिक्री हुन थालेका छन् । फुटबलमा यो क्रम जारी नै छ भने भलिबल र कबड्डी खेलका खेलाडीहरूले पनि व्यावसायिक यात्रा सुरु गर्न थालिसकेका छन् । खेलाडीहरूको व्यक्तिगत प्रायोजनको प्रतिशत पनि ह्वात्तै बढिसकेको छ । प्रायोजकहरू खेलकुदलाई मुख्य गन्तव्यका रूपमा लिइरहेका छन् ।
फ्रेन्चाइज मोडलका प्रतियोगिताहरू जिल्ला जिल्लामा नियमित बढिरहेको देखिन्छ । टाइगर कप भलिबल पछिल्लो समय पोखरामा हुने चर्चित भलिबल प्रतियोगिता हो भने धनगढीमा हुने अर्जुन ट्रफीलाई मोफसलमा क्रिकेटको लोकप्रियताको मापन गर्ने प्रतियोगिताकै रूपमा लिन सकिन्छ । डिजिटल युगमा प्रवेश गरेको मिडिया क्षेत्रले व्यवसायीकरणमा थप मद्दत पुर्यायो ।
देश संघीय संरचनामा गएकाले स्थानीय तह र प्रदेश तहले खेलकुदलाई अपरिहार्य क्षेत्रका रूपमा स्वीकार गर्दै त्यसमा बजेटको व्यवस्था गर्दा स्थानीय तहका खेल गतिविधिमा उल्लेख्य वृद्धि भएका छन् । प्रतियोगिता थपिएका छन् । यसलाई संरक्षण गर्नु र स्तरीय बनाउनु अबको चुनौती हुन सक्छन् । नयाँ नयाँ खेलहरू थपिन थाल्यो । युवा खेलाडीको प्रवेश बढ्दै गएको छ ।
सन् २०१९ मा नेपालले पुनः दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आयोजना गर्दा खेलकुदमा सरकारी समर्थनलाई दर्शाएको थियो । पोखरा रंगशालाको पुनर्निर्माण र मूलपानी क्रिकेट मैदान निर्माण गरिएको थियो । हाइ अल्टिच्युड जस्ता हिमाली खेलमा पूर्वाधार निर्माणको कामले तीव्रता पाएको थियो । फलस्वरूप अहिले प्रतियोगिताका विभिन्न स्वरूपले यसलाई चलायमान गरिरहेको छ ।
देश संघीयतामा गएसँगै प्रदेश खेलकुदको संरचना विकेन्द्रीकरणको अर्को आयाम मान्न सकिन्छ । प्रदेश सरकारको खेलकुदमा आफ्नै संरचना र बजेट व्यवस्थापनको युग सुरु भएपछि सातै प्रदेशमा खेलकुदको पहुँच बढेको छ । प्रदेशले आफ्नै संरचनाको प्रदेश खेलकुदको विकासका मोडल बनाइरहेका छन् । प्रदेश खेलकुद प्रतियोगिता आयोजनादेखि प्रदेशभित्र हुने प्रतियोगितामा प्रदेश सरकारको सहयोग बढेको छ । यसले स्थानीय खेलकुदको संख्या बढेको छ ।
कमजोरी र चुनौती
खेलकुदले अन्तर्राष्ट्रिय स्वरूपमा फैलँदै व्यावसायिक स्वरूप लिइसक्दा पनि समस्या भने यथावत् नै देखिन्छ । सरकारले छुट्याउने बजेट अझै पनि न्यून छ । सरकारले नीतिगत सुधार गर्न सकेको छैन । खेलकुदमा राजनीतिक हस्तेक्षप व्यापक देखिन्छ । राष्ट्रिय खेल संघहरू स्वतन्त्र भए पनि कानुनले उनीहरूलाई स्वतन्त्र बन्न दिएको छैन ।
खेलकुद पूर्वाधार बनेको त छ तर त्यो अझै पनि न्यून छ । खेलकुद पूर्वाधारको अवस्था खराब नै छ । पूर्वाधार घोषणका लामा योजना छन् तर ती कार्यान्वयनमा आउन सकेका छैनन् । ग्रासरुट कार्यक्रम बनेका छन् तर तिनले निरन्तरता पाउन सकिरहेका छैनन् । क्षमतावान् खेलाडीको पलायन हुने क्रम बढ्दो छ ।
खेलकुदले व्यावसायिक स्वरूप लिन खोज्दा खेल विज्ञानका अपरिहार्य आधारभूत कार्यक्रम बन्न सकेको छैन । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आवश्यक सहभागिता बढ्न सकेको छैन । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी सहभागितामा नै सीमित हुन पुगेका छन् । खेलकुद क्षेत्रलाई व्यावसायिक करिअर बनाएर समृद्ध भविष्यको सपना कोर्ने अपरिहार्य योजना बन्न सकिरहेको छैन ।
पलेशा गोवर्द्धन, एरिका गुरुङ, सावित्रा भण्डारी, प्रतिभा माली, पूजा महतोजस्ता खेलाडीहरू जन्माउने अर्को कार्यक्रम देखिएको छैन भने उनीहरूलाई संरक्षण गर्न पनि उत्तिकै चुनौतीपूर्ण पाटोलाई नेपाली खेलकुदले सामान्य हिसाबमा लिएको देखिन्छ । राम्रो प्लाटफर्म नबन्दा गौरिका सिंह, शिरीष गुरुङ, नीराजन मल्ल, विमल घर्तीमगर, श्रेया धिताल, कविता भट्ट, कृतिका मरासिनीलगायत खेलाडी चाँडै हराउन पुगे ।
समग्रमा भन्नुपर्दा नेपाली खेलकुद क्षेत्रले प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको अभ्यास गर्न थालेको झन्डै चार दशक बित्न लाग्दासम्म खेलकुद सुढृढ योजनासहितको क्षेत्र बन्न सकेको छैन । यसतर्फ सरकारले संरचनात्मक योजना बनाएर यसलाई राज्यको महत्त्वपूर्ण अंगका रूपमा कार्यान्वयन गर्न नसकेसम्म खेलकुद अस्थायी विकासको परियोजनामा सीमित भएर रहनेछ ।
