राष्ट्र चिनाउँदै खेलकुद

नेपाली खेलाडीहरू व्यावसायिक रूपमै विदेशी प्रतियोगितामा खेल्नेक्रम बढेको छ । क्रिकेट खेलाडी विश्वका फ्रेन्चाइज लिगमा बिक्री हुन थालेका छन् । फुटबलमा पनि यो क्रम जारी छ । भलिबल र कबड्डीका खेलाडीले पनि अन्तर्राष्ट्रिय व्यावसायिक यात्रा थालिसकेका छन् । 

फाल्गुन ७, २०८२

विनोद पाण्डे

Sports that make the nation known

What you should know

२०४६ मा प्रजातन्त्रको उदयपछि नेपाली खेलकुदको उडान संकुचित घेराबाट उठ्दै संघर्षपूर्ण ढंगले फराकिलो दायरातिर चलेको यात्रा हो । यसमा पञ्चायतकालीन छायाबाट पाएको मुक्तिदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुग्दा स्वतन्त्रता, पूर्वाधार निर्माण, व्यावसायिकता, मिडियाको प्रभाव, प्रायोजकको चासो, निजी क्षेत्रको प्रवेश, अन्तर्राष्ट्रिय सफलता र व्यावसायिक छलाङसम्मको झन्डै चार दशक लामो इतिहास छ । 

यसबीच चुनौती र कमजोरीका शृंखला यथावत् नै छन् । खेलकुद समग्रमा ढिलो प्रगति गरेको एउटा अत्यन्त सम्भावनाको क्षेत्र हो । यसलाई तीन चरणमा हेर्न सकिन्छ :  

प्रजातन्त्र प्राप्तिपछिको सुरुवात   

राणाकालीन समयमा खेलकुद क्षेत्रको जग बसेको थियो । त्यतिखेर नेपाली खेलकुदको आफ्नै गति थियो । खेलकुदको नियामक निकायहरू राष्ट्रिय खेलकुद परिषद्देखि राष्ट्रिय खेल संघहरू त्यतिबेला राजपरिवारको नियन्त्रणमा हुन्थे । 

यद्यपि त्यसबेला ७५ जिल्लामा कभर्डहल निर्माणदेखि पाँच विकास क्षेत्रमा ठूला रंगशाला निर्माण भए । थुप्रै खेल संघहरू स्थापना भएकाले खेलकुदले आफ्नै खाले गति लिएको देखिन्थ्यो । २०४६ मा प्रजातन्त्रको प्राप्तिपछि केही समय नेपाली खेलकुद कता–कता भड्किन पुगेको जस्तो देखियो । पञ्चायतकालीन छत्रछायामा हुर्केको खेलकुद क्षेत्र नेतृत्वविहीन जस्तै बन्न पुगेको देखियो । खेलकुद गतिविधिहरू व्यवस्थित तवरले अगाडि बढ्न सकेनन् । राष्ट्रिय खेल संघहरूले नयाँ नेतृत्व लिन समय लाग्यो । अन्तर्राष्ट्रिय खेलकुद सहभागिता पनि रोकिए जस्तो भयो । 

पञ्चायतकालीन प्रशासनले प्रजातन्त्रको उदय रोक्न खेलकुद र खेलाडीलाई जनआन्दोलन दबाउन प्रयोग गरेको भन्ने सन्देश फैलिएको थियो । यसले गर्दा खेलकुद क्षेत्रको छवि नै नकारात्मक बन्न पुग्यो । यहाँसम्मकी ट्र×्याक–सुट लगाएर निस्किने खेलाडीहरू कुटिने अवस्था सिर्जना भयो । यसको प्रभावले नियमित सञ्चालन हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भयो । जुन देशभरि खेलकुद गतिविधि सक्रिय बनाउने बृहत् प्रतियोगिता थियो । हरेक दुई वर्षमा आयोजना हुने बृहत् खेलकुद नहुँदा खेलाडी उत्पादनमा समेत प्रत्यक्ष असर पर्‍यो । 

Sports that make the nation knownखेलकुद क्षेत्र पुनः जुर्मुराउनमा २०५५ (सन् १९९८) मा आयोजना भएको एसियाली खेलकुद र २०५६ (१९९९) मा आयोजित ‘आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता’ ले भूमिका खेले । नेपाली खेलकुद क्षेत्रले सहभागिता जनाउने सबैभन्दा फराकिलो अवसरका रूपमा लिइने एसियाली खेलकुद थाइल्यान्डमा हुँदै थियो । त्यसका निम्ति खेलाडी छनोट प्रतियोगिता, तयारी, बजेटदेखि व्यवस्थापनको काम सुरु हुँदा यसले खेलकुद गतिविधि चलायमान भयो । खेलकुद क्षेत्र व्यवस्थित हुनेदेखि खेलाडीमा पनि ऊर्जा थपिएको देखियो । अर्कोतर्फ दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि त्यसकै बहानामा १० वर्षदेखि स्थगित ‘राष्ट्रिय खेलकुद प्रतियोगिता’ ब्युँतिन पुग्यो । 

नेपालगन्जमा २०५५ मा भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताले देशभरि नै खेलकुद गतिविधि ब्युँझाएको थियो । आठौं साफकै समयमा ठूला ठूला खेलकुद पूर्वाधार निर्माण भए । त्रिपुरेश्वरको दशरथ रंगशाला पुनर्निर्माण गरियो । नेपाली मैदानमा पहिलो पटक रात्रिकालीन खेलका लागि कृत्रिम प्रकाश दिने ‘फ्लडलाइट’ बन्यो भने रंगशालामा ‘सेन्थेटिक ट्र्याक’ को निर्माण भयो । 

यसैबेला सातदोबाटोमा नयाँ खेलकुद कम्प्लेक्स पनि निर्माण गरियो, जसमा पौडी पोखरी, सुटिङ कम्प्लेक्सदेखि कभर्डहलसम्म बन्यो । आठौं दक्षिण एसियाली खेलकुदमा यो कम्प्लेक्स प्रयोग गर्नेहरू दिल खोलेर तारिफ गर्थे । सोही साफमा नेपालले ऐतिहासिक रूपमा ३१ स्वर्ण पदक जितेपछि विशेषगरी कराते र तेक्वान्दो जस्ता मार्सल आर्ट्सका खेलले प्रगति गरेको देखियो । 

साफपछि नै अखिल नेपाल फुटबल संघ (एन्फा) दशरथ रंगशालाको प्यारापिटमुनिबाट एन्फा कम्प्लेक्समा पुगेको थियो । आफ्नै भवन र मैदानले नेपाली फुटबलको मात्र नभई नेपाली खेल संघको दायरालाई निकै फराकिलो बनाएको थियो । यस्तो सुविधायुक्त कार्यालय बनाउने एन्फा नेपालको पहिलो खेल संघ थियो । 

खेलकुदका अन्य गतिविधि बढ्नुमा यी सबैले मद्दत पुगेको थियो । खेलकुद क्षेत्रमा निजी क्षेत्रको प्रवेश पनि बढ्न थाल्यो । जसले गर्दा स्कुलदेखि क्लबस्तरीय प्रतियोगिता बढे । खेलकुद प्रतियोगिताको संख्यामा वृद्धि हुन थालेको यो कालखण्डमा नेपाली खेलकुदले फेरि गति लियो । 

एन्फा र नेपाल क्रिकेट संघ (क्यान) का गतिविधि तीव्र रूपमा हुन थाल्नु यसको उदाहरणका रूपमा लिन सकिन्छ । २०५२ मा क्यानले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन पाइला चालेको थियो । त्यस्तै एन्फाले दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) को सुरुआत नेपालबाटै गरेको थियो । यतिबेला मुख्यतः महिला खेलकुदका गतिविधि तीव्र रूपमा बढ्नु खेलकुद क्षेत्रको उपलब्धि मान्नुपर्छ । महिला फुटबलको दक्षिण एसियाली प्रतिस्पर्धा साफ च्याम्पियनसिपको सुरुआत भएसँगै यसले महिला फुटबलको विकासमा फड्को मार्न सुरु गरेको थियो । 

प्रजातन्त्र प्राप्तिपछि मिडिया क्षेत्र स्वतन्त्र भएसँगै यसले पनि खेलकुदको विकासमा अहम् भूमिका निभाउन थालेको देखिन्छ । खेलाडीका सफलता आम जनतासामु खुलेर समाचार बन्न थालेपछि यसले निजी क्षेत्र र प्रायोजकलाई आकर्षित गर्‍यो । यो कालखण्डलाई स्वतन्त्रतातर्फ उन्मुख हुँदै आधुनिक स्वरूप लिएको समय भन्दा फरक पर्दैन । 

२०६२/६३ पछिको फड्को

प्रायोजक संख्या थपिनु र निजी क्षेत्रको आकर्षण बढ्दै जानुले खेलकुद क्षेत्रको आकार बढाउन यो कालखण्डले मद्दत पुर्‍याएको देखिन्छ । पोखराको एउटा निजी सहारा क्लबले  आहा रारा गोल्डकप आयोजना गर्दा प्रायोजकको दरिलो साथ पाउनु त्यसको एउटा उदाहरण हो । 

सोचिएजस्तै पूर्वाधार विकास हुन नसके पनि त्यसतर्फ ध्यान तान्ने काम हुन थालेको थियो । क्रिकेट र फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउन थालेका थिए । क्लबस्तरीय लिग र जिल्ला तहमा विभिन्न प्रतियोगिता सुरु हुन थाल्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकहरू जित्नुले यो क्षेत्र नियमित चर्चामा आउन थाल्यो ।  खेलाडीहरू राष्ट्रिय हिरोका रूपमा चर्चित हुँदै गए । 

क्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता पाउन थाल्यो । २०७० (२०१४) मा पुरुष क्रिकेट टोली ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्न सफल भइसकेको थियो । नेपाली क्रिकेट पछि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम पनि भएको थियो । 

२०७२ पछिको सफलता

नेपाली खेलकुद पूर्ण व्यावसायिक हुन नसकेको भनिए पनि व्यवसायीकरणतर्फ भने निरन्तर रूपमा अघि बढ्यो । नेपाल प्रिमियर लिग (एनपीएल) जस्तो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता र नेपाल सुपर लिग (एनएसएल) जस्तो फुटबल प्रतियोगिताले फ्रेन्चाइज खेलकुदको सुरुआत भयो । त्यस्तै भलिबलको फ्रेन्चाइज महिला लिग ईपीएल महिला भलिबल, एनकेएल कबड्डी लिग जस्ता प्रतियोगिताका कारण वर्तमानमा प्रायोजकहरूको नयाँ गन्तव्य खेलकुद बन्न थालेको छ । 

नेपाली खेलाडीहरू व्यावसायिक रूपमा विदेशी प्रतियोगितामा खेल्ने प्रक्रियाले तीव्र रूप लिइसकेको देखिन्छ । क्रिकेट खेलाडीहरू विश्वका फ्रेन्चाइज लिगमा बिक्री हुन थालेका छन् । फुटबलमा यो क्रम जारी नै छ भने भलिबल र कबड्डी खेलका खेलाडीहरूले पनि व्यावसायिक यात्रा सुरु गर्न थालिसकेका छन् । खेलाडीहरूको व्यक्तिगत प्रायोजनको प्रतिशत पनि ह्वात्तै बढिसकेको छ । प्रायोजकहरू खेलकुदलाई मुख्य गन्तव्यका रूपमा लिइरहेका छन् । 

Sports that make the nation knownफ्रेन्चाइज मोडलका प्रतियोगिताहरू जिल्ला जिल्लामा नियमित बढिरहेको देखिन्छ । टाइगर कप भलिबल पछिल्लो समय पोखरामा हुने चर्चित भलिबल प्रतियोगिता हो भने धनगढीमा हुने अर्जुन ट्रफीलाई मोफसलमा क्रिकेटको लोकप्रियताको मापन गर्ने प्रतियोगिताकै रूपमा लिन सकिन्छ । डिजिटल युगमा प्रवेश गरेको मिडिया क्षेत्रले व्यवसायीकरणमा थप मद्दत पुर्‍यायो । 

देश संघीय संरचनामा गएकाले स्थानीय तह र प्रदेश तहले खेलकुदलाई अपरिहार्य क्षेत्रका रूपमा स्वीकार गर्दै त्यसमा बजेटको व्यवस्था गर्दा स्थानीय तहका खेल गतिविधिमा उल्लेख्य वृद्धि भएका छन् । प्रतियोगिता थपिएका छन् । यसलाई संरक्षण गर्नु र स्तरीय बनाउनु अबको चुनौती हुन सक्छन् । नयाँ नयाँ खेलहरू थपिन थाल्यो । युवा खेलाडीको प्रवेश बढ्दै गएको छ ।  

सन् २०१९ मा नेपालले पुनः दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आयोजना गर्दा खेलकुदमा सरकारी समर्थनलाई दर्शाएको थियो । पोखरा रंगशालाको पुनर्निर्माण र मूलपानी क्रिकेट मैदान निर्माण गरिएको थियो । हाइ अल्टिच्युड जस्ता हिमाली खेलमा पूर्वाधार निर्माणको कामले तीव्रता पाएको थियो । फलस्वरूप अहिले प्रतियोगिताका विभिन्न स्वरूपले यसलाई चलायमान गरिरहेको छ । 

देश संघीयतामा गएसँगै प्रदेश खेलकुदको संरचना विकेन्द्रीकरणको अर्को आयाम मान्न सकिन्छ । प्रदेश सरकारको खेलकुदमा आफ्नै संरचना र बजेट व्यवस्थापनको युग सुरु भएपछि सातै प्रदेशमा खेलकुदको पहुँच बढेको छ । प्रदेशले आफ्नै संरचनाको प्रदेश खेलकुदको विकासका मोडल बनाइरहेका छन् । प्रदेश खेलकुद प्रतियोगिता आयोजनादेखि प्रदेशभित्र हुने प्रतियोगितामा प्रदेश सरकारको सहयोग बढेको छ । यसले स्थानीय खेलकुदको संख्या बढेको छ । 

कमजोरी र चुनौती 

खेलकुदले अन्तर्राष्ट्रिय स्वरूपमा फैलँदै व्यावसायिक स्वरूप लिइसक्दा पनि समस्या भने यथावत् नै देखिन्छ । सरकारले छुट्याउने बजेट अझै पनि न्यून छ । सरकारले नीतिगत सुधार गर्न सकेको छैन । खेलकुदमा राजनीतिक हस्तेक्षप व्यापक देखिन्छ । राष्ट्रिय खेल संघहरू स्वतन्त्र भए पनि कानुनले उनीहरूलाई स्वतन्त्र बन्न दिएको छैन । 

खेलकुद पूर्वाधार बनेको त छ तर त्यो अझै पनि न्यून छ । खेलकुद पूर्वाधारको अवस्था खराब नै छ । पूर्वाधार घोषणका लामा योजना छन् तर ती कार्यान्वयनमा आउन सकेका छैनन् । ग्रासरुट कार्यक्रम बनेका छन् तर तिनले निरन्तरता पाउन सकिरहेका छैनन् । क्षमतावान् खेलाडीको पलायन हुने क्रम बढ्दो छ ।  

खेलकुदले व्यावसायिक स्वरूप लिन खोज्दा खेल विज्ञानका अपरिहार्य आधारभूत कार्यक्रम बन्न सकेको छैन । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आवश्यक सहभागिता बढ्न सकेको छैन । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी सहभागितामा नै सीमित हुन पुगेका छन् । खेलकुद क्षेत्रलाई व्यावसायिक करिअर बनाएर समृद्ध भविष्यको सपना कोर्ने अपरिहार्य योजना बन्न सकिरहेको छैन ।  

पलेशा गोवर्द्धन, एरिका गुरुङ, सावित्रा भण्डारी, प्रतिभा माली, पूजा महतोजस्ता खेलाडीहरू जन्माउने अर्को कार्यक्रम देखिएको छैन भने उनीहरूलाई संरक्षण गर्न पनि उत्तिकै चुनौतीपूर्ण पाटोलाई नेपाली खेलकुदले सामान्य हिसाबमा लिएको देखिन्छ । राम्रो प्लाटफर्म नबन्दा गौरिका सिंह, शिरीष गुरुङ, नीराजन मल्ल, विमल घर्तीमगर, श्रेया धिताल, कविता भट्ट, कृतिका मरासिनीलगायत खेलाडी चाँडै हराउन पुगे । 

समग्रमा भन्नुपर्दा नेपाली खेलकुद क्षेत्रले प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको अभ्यास गर्न थालेको झन्डै चार दशक बित्न लाग्दासम्म खेलकुद सुढृढ योजनासहितको क्षेत्र बन्न सकेको छैन । यसतर्फ सरकारले संरचनात्मक योजना बनाएर यसलाई राज्यको महत्त्वपूर्ण अंगका रूपमा कार्यान्वयन गर्न नसकेसम्म खेलकुद अस्थायी विकासको परियोजनामा सीमित भएर रहनेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully