पर्यटन नेपालका लागि केवल मनोरञ्जन वा साहसिक यात्राको माध्यम मात्र होइन, यो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमध्ये एक बनिसकेको छ
What you should know
नेपाल विश्व पर्यटन नक्सामा एउटा साधारण गन्तव्य मात्रै होइन, सभ्यता, प्रकृति र मानव आकांक्षाको गहिरो संगमस्थल हो । हिमाल, नदी, उपत्यका, वन, जैविक विविधता, बहुसांस्कृतिक समाज र आध्यात्मिक परम्पराले नेपाललाई विश्वभर अद्वितीय पहिचान दिलाएको छ ।
पर्यटन नेपालका लागि केवल मनोरञ्जन वा साहसिक यात्राको माध्यम मात्र होइन, यो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमध्ये एक बनिसकेको छ । विगतका उतारचढाव, राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र विश्वव्यापी महामारीका बाबजुद पनि नेपालको पर्यटन क्षेत्र लचिलो रहँदै निरन्तर अघि बढिरहेको छ, जुन भविष्यप्रति आशावादी हुन पर्याप्त आधार हो ।
विश्व पर्यटनको ऐतिहासिक विकास हेर्दा यात्रालाई ज्ञान, व्यापार र सांस्कृतिक आदानप्रदानसँग जोड्ने परम्परा मध्ययुगदेखि नै देखिन्छ । एसिया हुँदै युरोपसम्म यात्रा गरेका मार्को पोलोजस्ता यात्रीले संसारलाई नयाँ भूगोल र संस्कृतिसँग परिचित गराउन सिकाए । पछि थोमस कुकले संगठित टुर प्याकेज, टिकेटिङ आदि अवधारणा विकास गर्दै परम्परागत घुमफिर शैलीमा आधुनिक पर्यटन उद्योगको आधार तयार पारे । यही विश्वव्यापी प्रवृत्तिसँग समानान्तर रूपमा नेपाल पनि क्रमशः अन्तर्राष्ट्रिय यात्रुहरूको ध्यानको केन्द्र बन्दै गयो ।
विगतका उतारचढाव, राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र विश्वव्यापी महामारीका बाबजुद पनि नेपालको पर्यटन क्षेत्र लचिलो रहँदै निरन्तर अघि बढिरहेको छ, जुन भविष्यप्रति आशावादी हुन पर्याप्त आधार हो।नेपालमा आधुनिक पर्यटनको बीजारोपण २०औं शताब्दीको प्रारम्भदेखि नै भएको देखिन्छ । सन् १९५० मा फ्रान्सेली आरोही मोरिस हेर्जोग र लुइस लासनालले अन्नपूर्ण प्रथम आरोहण गरेपछि नेपाल विश्वव्यापी रूपमा चर्चामा आयो । १९५३ मा तेन्जिङ नोर्गो शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेक्दा नेपाल साहसिक पर्यटनको प्रतीक बन्यो । त्यसयता नेपाल बाहिरको बाँकी विश्वले नेपाललाई हिमाल, ट्रेकिङ र आध्यात्मिक यात्राको केन्द्रका रूपमा चिन्न थाल्यो ।
प्रजान्तत्रको आगमन (१९९०) अघि नेपालको पर्यटन संरचनात्मक रूपमा सीमित थियो । अन्तर्राष्ट्रिय आगमन मुख्यतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मात्र हुन्थ्यो । काठमाडौं र पोखराबाहेक अन्य गन्तव्यमा सडक पहुँच न्यून थियो । देशभर पाँच सयभन्दा कम दर्ता होटल थिए । तीमध्ये लक्जरीस्तरका होटल १० भन्दा कम थिए । गाइड, भरिया र लज प्रणाली अनौपचारिक थियो । त्यसबेला आउने पर्यटकहरू लामो समय बस्ने गर्थे, तर दैनिक खर्च कम हुन्थ्यो । नेपाल उच्च अनुभवात्मक मूल्य भएको तर कम आम्दानी दिने गन्तव्यका रूपमा चिनिन्थ्यो ।
१९९० को राजनीतिक परिवर्तनपछि नेपालको पर्यटन क्षेत्रमा गुणात्मक मोड आयो । बजार उदारीकरण, निजी क्षेत्रको प्रवेश र विदेशी लगानीको ढोका खुल्दा पर्यटनलाई रणनीतिक राष्ट्रिय उद्योगका रूपमा विकास गर्ने आधार तयार भयो । आन्तरिक हवाई सञ्जाल विस्तार भयो, ट्रेकिङ केन्द्रसम्म नियमित उडान सुरु भए, सडक पहुँच सुधार भयो र होटल तथा ट्राभल एजेन्सीहरूको संख्या तीव्र रूपमा बढ्यो ।
१९९० तिर करिब ४ सय ५० होटल रहेको देशमा २०२६ सम्म आइपुग्दा ४ हजारभन्दा बढी पर्यटक स्तर र यसमाथिका होटल सञ्चालन भइरहेका छन् । ट्रेकिङ एजेन्सी ५० बाट बढेर १६ सयभन्दा बढी पुगेका छन् भने टुर अपरेटर २ हजारभन्दा बढी भएका छन् । पर्यटन क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी करिब १ लाखबाट बढेर करिब १० लाख पुगेको अनुमान छ ।
पर्यटक आगमनको प्रवृत्ति हेर्दा १९९० मा करिब साढे २ लाख रहेको संख्या २००० मा ४ लाख, २०१० मा ६ लाख, २०१९ मा ११ लाख ९७ हजार र २०२५ मा नेपालले करिब ११ लाख ६० हजार अन्तर्राष्ट्रिय पर्यटक स्वागत गरेको अनुमान छ । दीर्घकालीन दृष्टिले हेर्दा द्वन्द्व, भूकम्प र कोभिड–१९ जस्ता गम्भीर चुनौतीका बाबजुद पनि पर्यटन क्षेत्रले पुनरुत्थान गर्ने क्षमता प्रमाणित गरेको छ ।
पर्यटन आम्दानीको दृष्टिले पनि उल्लेख्य वृद्धि भएको छ । औपचारिक र अनौपचारिक दुवैतर्फको तथ्यांक विश्लेषण गर्दा १९९० को मध्यतिर नेपालको पर्यटन आम्दानी करिब १५ अर्ब नेपाली रुपैयाँ बराबरको प्रक्षेपण गरिएको थियो । २०२३ मा हालको विनिमय दरअनुसार पर्यटन क्षेत्रबाट करिब ८५ अर्ब नेपाली रुपैयाँभन्दा बढी आम्दानी भएको प्रक्षेपण छ । यसरी पर्यटनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ७–८ प्रतिशत योगदान पुर्याइरहेको छ ।
नेपालको अर्को ठूलो शक्ति साहसिक पर्यटन हो । हाल नेपालमा ४ सयभन्दा बढी हिमाल आरोहणका लागि खुला छन् । पर्वतारोहण अनुमति शुल्क, गाइड सेवा, उपकरण भाडा, बिमा, हेलिकोप्टर रेस्क्युजस्ता सहायक सेवाले उच्च मूल्य सिर्जना गर्छन् । ट्रेकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ र माउन्टेन बाइकिङले युवा पुस्तालाई आकर्षित गरिरहेको छ ।
नेपाल आज बहुआयामिक गन्तव्यका रूपमा विकसित हुँदै छ । साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटन, वेलनेस तथा ध्यान रिट्रिट, लक्जरी रिसोर्ट, डेस्टिनेसन विवाह, इको–टुरिजम र समुदाय आधारित होमस्टे पर्यटनमा ठूलो सम्भावना देखिन्छ । यस्ता सेग्मेन्टले कम वातावरणीय दबाबमा बढी आम्दानी दिन सक्छन् । जुन दिगो पर्यटन विकासका लागि महत्त्वपूर्ण छ ।
पछिल्ला वर्षमा आन्तरिक पर्यटन पनि उल्लेख्य रूपमा बढेको छ । नेपाली नागरिक आफैं देशभित्र यात्रा गर्ने प्रवृत्ति बढ्दा होटल, रेस्टुरेन्ट, यातायात र स्थानीय व्यवसायलाई निरन्तर आयको स्रोत मिलेको छ । यसले सिजनल उतारचढाव घटाउन र साना गन्तव्यलाई जीवन्त बनाउन सहयोग गरेको छ ।
होटल उद्योगमा निजी क्षेत्रको लगानी करिब २० खर्ब रुपैयाँभन्दा बढी पुगेको अनुमान छ । स्टार रेटेड र गैरस्टार होटल, रिसोर्ट, लज र होमस्टे निरन्तर बढिरहेका छन् । कुल होटल क्षमता वार्षिक कम्तीमा २५–३० लाख पर्यटक धान्न सक्षम छ, तर प्रयोग दर अझै कम छ । यसको अर्थ बजार विस्तार र एयर कनेक्टिभिटी सुधार गर्न सके ठूलो सम्भावना अझै बाँकी छ ।
नेपालको पर्यटनमा चुनौती स्पष्ट छन् । राजनीतिक अस्थिरता, नीतिगत निरन्तरताको कमी, पूर्वाधार निर्माणमा ढिलाइ, सिजनल अकुपेन्सी, जलवायु परिवर्तनका असर र दक्ष जनशक्तिको पलायनजस्ता समस्याले पर्यटनको पूर्ण सम्भावना उपयोग गर्न अवरोध पुर्याइरहेका छन् । तर दीर्घकालीन दृष्टि र सार्वजनिक–निजी साझेदारी बलियो बनाइयो भने समाधान कठिन छैन ।
भविष्यतर्फ हेर्दा, नेपालले २०३० सम्म वार्षिक १६ लाख र दशकको अन्त्यसम्म ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो लक्ष्य सम्भव छ, पोखरा र भैरहवाबाट पनि एयर कनेक्टिभिटी विस्तार गरियो, गन्तव्य विविधीकरण गरियो, डिजटल मार्केटिङ सुदृढ बनाइयो र दिगोपनलाई विकासको केन्द्रमा राखियो भने । अबको प्राथमिकता पर्यटक संख्या मात्र होइन, प्रत्येक पर्यटकबाट प्राप्त औसत खर्च बढाउनु पनि छ ।
नेपालसँग तीन अन्तर्राष्ट्रिय विमानस्थल हुनु आफैंमा ठूलो उपलब्धि हो, तर यसको वास्तविक लाभ तब मात्र मिल्छ, जब ती विमानस्थल रणनीतिक रूपमा सञ्चालन गरिन्छन् ।नेपाल सरकारले निजी क्षेत्रसँगको साझेदारीमा नेपाल पर्यटन बोर्ड स्थापना गर्नुको मूल उद्देश्य नेपालको पर्यटनलाई योजनाबद्ध, आधुनिक र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउनु हो । बोर्डको भूमिका केवल प्रचार सामग्री उत्पादन गर्ने निकायमा सीमित रहनु हुँदैन, बरु यो नेपालको समग्र पर्यटन ब्रान्ड व्यवस्थापकका रूपमा स्थापित हुनुपर्छ । आजको विश्व पर्यटन बजार गन्तव्यकेन्द्रितभन्दा पनि अनुभवकेन्द्रित बन्दै गएको छ । त्यसैले बोर्डले नेपाललाई केवल हिमालको देश होइन, बहुआयामिक अनुभवको गन्तव्यका रूपमा ब्रान्डिङ गर्नुपर्छ ।
यसका लागि पहिलो प्राथमिकता डिजिटल मार्केटिङ हुनुपर्छ । विश्वका प्रमुख स्रोत बजारहरूमा डेटा आधारित डिजटल अभियान, सामाजिक सञ्जाल इन्फ्लुएन्सर साझेदारी, भर्चुअल रियालिटी र ३६० डिग्री गन्तव्य प्रस्तुतिजस्ता माध्यम प्रयोग गरेर नेपाललाई आधुनिक यात्रुहरूसम्म पुर्याउनुपर्छ ।
दोस्रो, उत्पादन आधारित प्रचार आवश्यक छ । साहसिक पर्यटन, वेलनेस, लक्जरी, सांस्कृतिक, समुदाय आधारित र इको–टुरिजमका लागि फरक–फरक ब्रान्ड सन्देश विकास गर्नुपर्छ । तेस्रो, निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय ट्राभल फेयर, रोड शो र एयरलाइन्ससँग संयुक्त प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
नेपाल पर्यटन बोर्डले प्रचारसँगै गन्तव्य विकासमा पनि सक्रिय भूमिका खेल्नुपर्छ । नयाँ गन्तव्य पहिचान, स्थानीय सरकारसँग समन्वय, सेवा गुणस्तर मापदण्ड, पर्यटक सुरक्षा प्रोटोकल र दिगोपन सूचक विकास गरेर बोर्डले पर्यटनको दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्न सक्छ । यसरी हेर्दा बोर्डको प्रभावकारी भूमिका नेपालको पर्यटन वृद्धिको केन्द्रीय आधार बन्न सक्छ ।
नेपालसँग तीन अन्तर्राष्ट्रिय विमानस्थल हुनु आफैंमा ठूलो उपलब्धि हो, तर यसको वास्तविक लाभ तब मात्र मिल्छ, जब ती विमानस्थल रणनीतिक रूपमा सञ्चालन गरिन्छन् । पहिलो, तीन वटै विमानस्थललाई फरक–फरक बजार र गन्तव्यसँग जोड्ने स्पष्ट नीति आवश्यक छ । काठमाडौंकेन्द्रित उडान संरचनालाई क्रमशः विकेन्द्रीकरण गर्दै पोखरा र भैरहवालाई क्षेत्रीय हबका रूपमा विकास गर्नुपर्छ । चीन, भारत, दक्षिणपूर्व एसिया र मध्यपूर्वका सहरसँग प्रत्यक्ष उडान बढाउन सके यी विमानस्थलले ठूलो भूमिका खेल्न सक्छन् ।
दोस्रो, एयरलाइन्स आकर्षित गर्न प्रोत्साहन प्याकेज आवश्यक छ । अवतरण शुल्क छुट, इन्धन मूल्य सहुलियत, संयुक्त मार्केटिङ कार्यक्रमजस्ता उपायले नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स ल्याउन सकिन्छ । तेस्रो, विमानस्थल वरपरको पूर्वाधार– सडक, होटल, यातायात, सूचना केन्द्र, समन्वित रूपमा विकास गर्नुपर्छ ताकि पर्यटक सहजै गन्तव्यमा पुग्न सकून् ।
चौथो, तीन वटै विमानस्थललाई पर्यटन उत्पादनसँग जोड्नुपर्छ । पोखरा विमानस्थललाई साहसिक र प्रकृति पर्यटनको प्रवेशद्वार, भैरहवालाई धार्मिक र सांस्कृतिक पर्यटनको प्रवेशद्वार र काठमाडौंलाई मिश्रित अन्तर्राष्ट्रिय हबका रूपमा विकास गर्न सकिन्छ । यसले पर्यटक प्रवाह सन्तुलित हुन्छ र होटल तथा सेवा क्षेत्रमा लगानीको समान वितरण सम्भव हुन्छ ।
यसरी नेपाल पर्यटन बोर्डको सशक्त भूमिका र तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलको रणनीतिक सञ्चालन एकआपसमा जोडिएर अघि बढे भने नेपालको पर्यटनले गुणात्मक फड्को मार्न सक्छ । यसले पर्यटक संख्या मात्र होइन, प्रतिपर्यटक आम्दानी, रोजगारी र समग्र अर्थतन्त्रमा पर्यटनको योगदान उल्लेख्य रूपमा बढाउनेछ ।
नेपालको पर्यटन क्षेत्र ऐतिहासिक उत्तराधिकार, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधतामा आधारित बलियो आधारमा उभिएको छ । विगतमा साहसिक सीमामा अडिएको पर्यटन आज रणनीतिक राष्ट्रिय उद्योग बनेको छ । सही नीति, पूर्वाधार, मानव संसाधन विकास र दिगो अभ्यासको संयोजन भयो भने नेपालको पर्यटन भविष्यमा अझ उज्यालो हुनेछ र नेपाल एसियाकै मात्र होइन, विश्वकै अग्रणी गन्तव्यहरूमध्ये एक बन्नेछ ।
