नेपालले स्कटल्यान्डलाई दियो ब्याटिङको निम्तो

करण केसीको स्थानमा सन्दीप जोरा

फाल्गुन ५, २०८२

विनोद पाण्डे

Nepal invites Scotland to bat

मुम्बई — नेपालले स्कटल्यान्डविरुद्धको ट्वान्टी–२० विश्वकप क्रिकेटको मंगलबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि मुम्बईको वानखडे रंगशालामा स्कटल्यान्डलाई ब्याटिङका लागि बोलाएका हुन् । 

नेपालले अघिल्लो खेल खेलेको टोलीबाट करण केसीको स्थानमा सन्दीप जोरालाई खेलाएको छ । जोराको प्रतियोगितामा यो पहिलो खेल हो । पहिलो ३ खेल खेलेका मध्यमगतिका बलर करणले कुनै विकेट लिन सकेका थिएनन् । 

नेपालले एउटै विजय हात पार्न सकेको छैन र पहिलो तीन खेलमै पराजित हुन पुगेको थियो । वेस्ट इन्डिज र इंग्ल्यान्डसँग पराजित स्कटल्यान्डले इटालीमाथि विजय हात पारेको थियो । नेपाल र स्कटल्यान्ड दुवै ‘सुपर एट’ दौडबाट बाहिरिसकेका छन् । समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड समान ३ जित निकाल्दै दोस्रो चरणमा पुगिसकेका छन् । 

बंगलादेशले प्रतियोगिता नखेल्ने गरेपछि अन्तिम समयमा उसको स्थान लिन आएको स्कटल्यान्डले पहिलो ३ खेल नै कोलकात्ताको इडेन गार्डेनमा खेलेको थियो । टोलीले पहिलो पटक मुम्बईमा खेल्न लागेको हो । नेपालले सबै ४ खेल वानखेडेमा खेलिरहे पनि अघिल्ला खेलहरूमा त्यसको फाइदा लिन सकिरहेको थिएन । 

नेपाल र स्कटल्यान्ड ट्वान्टी–२० अन्तर्राष्ट्रियमा खेल्न लागेको यो तेस्रो पटक हो । नेपालले मे–जुनमा स्कटल्यान्ड भ्रमण गरेको थियो, जहाँ नेपालले त्रिकोणात्मक शृंखलामा स्कटल्यान्डसँग २ खेल खेलेको थियो, जसमा दुवै टोलीले १–१ खेल जितेका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully