श्रीलंकाको जितमा निसन्काको शतक

श्रीलंकाले ट्वान्टी-२० विश्वकप २०२६ को समूह 'बी'को खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Nissanka's century helps Sri Lanka win

मुम्बई — श्रीलंकाले ट्वान्टी-२० विश्वकप २०२६ को समूह 'बी'को खेलमा सोमबार अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय ८२ रन पछ्याएको श्रीलंकाले ओपनर पथुम निसन्काको शतकको मद्दतले १८ ओभरमा २ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । जितले श्रीलंकाको ३ खेलबाट ६ अंक भएको छ ।

अस्ट्रेलिया भने तीन खेलबाट दुई अंकमै सीमित रहेर प्रतियोगिताको लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

श्रीलंकाका लागि ओपनर निसन्काले ५२ बलमा सय रन बनाए र नटआउट रहे । उनले १० चौका र ५ छक्का प्रहार गरे । त्यस अगाडि मेन्डिस ३८ बलमा ५१ रन बनाएका थिए । अर्का नटआउट खेलाडी पवन रथनयाकेले २८ रन थपे ।

अस्ट्रेलियाका लागि ओपनर जोडी मिचेल मार्स र ट्रेभिस हेडले १ सय ४ रनको साझेदारी गरे । दुवैले अर्धशतक पूरा गरे । मार्सले ५४ र हेडले ५६ रन बनाए । तर एकपल्ट उनीहरू आउट भएपछि अस्ट्रेलियाको पतन सुरु भएको थियो । उसले अन्तिम ५ विकेट ७ रनमा गुमाएको थियो ।

श्रीलंकाली बलरमध्ये दुसान हेमन्थले ३७ रनमा ३ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully