जितका लागि १ सय ७६ रन पछ्याएको पाकिस्तानले १८ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र बनायो ।
What you should know
मुम्बई — भारतले ट्वान्टी-२० विश्वकप २०२६ मा आइतबार पाकिस्तानलाई सजिलै ६१ रनले पराजित गरेको छ ।
जितका लागि १ सय ७६ रन पछ्याएको पाकिस्तानले १८ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र बनायो । पाकिस्तानका लागि एकै ब्याटरले मात्र राम्रो प्रदर्शन गर्न सके र उनी थिए, उसमान खान । उनले ३६ बलमा ६ चौका र १ छक्काको मदतले ४४ रन बनाए । उनलाई छाडेर सादब खानले १४ रन जोडे । अन्त्यतिर साहिन अफ्रिदीले २३ रन थपे ।
भारतीय बलरमध्ये हार्द्धिक पान्ड्यो, जसप्रित बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले दुई दुई विकेट हात पारे । त्यस अगाडि पाकिस्तानले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि भारतले ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । सुरुमा भारतले ठूलो स्कोर खडा गर्ने स्थिति रहे पनि त्यो मैदानमा पूरा भएन । तर यही स्कोर पाकिस्तानका लागि पछि ठूलो चुनौती साबित भयो । अभिषेक वर्मा शून्यमा आउट भएपछि अर्का ओपनर इसान किसनले ४० बलमा ७७ रन बनाए ।
उनले ४० बलमा १० चौका र ३ छक्का प्रहार गरे । उनी आउट भएपछि भारतको रन बनाउने गति सुस्त भएको थियो । यसक्रममा तिलक वर्माले २५ र कप्तान सूर्यकुमार यादवले ३२ रन बनाए । यस्तै शिवम दुबेले २७ रनको योगदान गरे । पाकिस्तानी बलरमध्ये सइम अयुब सबैभन्दा सफल रहे । उनले २५ रनमा तीन विकेट लिए ।
