लगातार तीन हारपछि बाहिरियो नेपाल

वेस्ट इन्डिजसाग आइतबार ९ विकेटले पराजित भएपछि आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालको हारसंख्या ७ पुगेको छ

फाल्गुन ४, २०८२

विनोद पाण्डे

Nepal is out after three consecutive losses.

What you should know

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा लामो समयदेखि नेपाली ब्याटरको ठूलो इनिङ्स खेल्न नसकेको खडेरी त पुरे होलान्, तर यसले नेपालको हार शृंखला रोक्न सकेन । नेपाल आइतबार वानखेडे स्टेडियममा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो ।

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’ मा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमै पूरा गर्‍यो । नेपालको यो लगातार तेस्रो पराजय हो । नेपाल पहिलो दुई खेलमा इंग्ल्यान्डसँग ४ रन र इटालीसँग १० विकेटले पराजित भएको थियो । समूहको ‘सी’ को पुछारमा रहेको नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । 

कुल तीन विश्वकपमा गरी नेपालले खेलेको यो १० औं खेल हो, त्यसमा दुई खेलमात्र जित्न सकेको छ भने ७ खेलमा पराजय भोगेको छ । एक खेल वर्षाका कारण रद्द भएको छ । यस विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो । सन् २०२४ को विश्वकपमा पनि नेपालले ४ मध्ये ३ खेल हारेको थियो । पहिलो दुई जित नेपालले १२ वर्षअघिको विश्वकपमा पाएको थियो ।

Nepal is out after three consecutive losses.नेपालबाट दीपेन्द्रको ब्याट चम्केको थियो । दीपेन्द्र र सोमपाल कामीको प्रयासमा नेपालले अन्तिम १० ओभरमा ९१ रन जोडेर केही प्रतिस्पर्धा दिन सक्यो, जसको कारण टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३३ रन बनायो । दीपेन्द्रले ५८ रन बनाए । नेपाली खेलाडीको ट्वान्टी–२० विश्वकपमा यो दोस्रो अर्धशतक हो र उच्च स्कोर पनि ।

सुवास खकुरेलले सन् २०१४ मा अफगानिस्तानविरुद्ध ५६ रन बनाउनु नै ठूलो स्कोर थियो । नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । वेस्ट इन्डिजका अकेल हुसैनले कुशल भुर्तेललाई पाँचौं बलमा १ रनमै बोल्ड गरे । कप्तान रोहित पौडेल ७ बलमा ५ रनमात्र बनाई म्याथ्यु फोर्डको बलमा एलबीडब्लू आउट भए ।

त्यसपछि जेसन होल्डरले शेख दाजुभाइ आसिफ र आरिफलाई आउट गरे । दुई चौका प्रहार गरी १० बलमा ११ रन बनाएका आसिफले फाइनलेगमा क्याच दिन पुगे । आरिफ पनि २ रनमा मिडविकेटमा क्याचआउट भए । नेपालले पावर प्लेको पहिलो ६ ओभरमा २२ रनमात्र बनाउँदा ३ विकेट गुमाइसकेको थियो । त्यसपछिको ४ ओभरमा नेपालले २० रन जोड्यो । 

लोकेश बमले १३ रन बनाए । १५ बल खेल्दै २ चौका प्रहार गरेका उनी सामर जोसेफको लेग साइडमा पुगेको बलमा विकेटकिपरलाई क्याच दिन पुगे । दीपेन्द्र र  गुलशन झाले छैटौं विकेटमा २६ बल खेल्दै २७ रनको साझेदारी गरे । एक छक्का प्रहार गरेका गुलशनलाई रोस्टन चेजले बोल्ड गरिदिए । 

Nepal is out after three consecutive losses.नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी गर्नेक्रममा दीपेन्द्र र सोमपाल अन्तिम ५ ओभर जमे । नेपालले  अन्तिम ५ ओभरमा ६० रन जोडेको थियो । होल्डरले  फालेको १८ औं ओभरमा नेपालले १६ रन बटुल्यो । त्यसमा सोमपालले होल्डरलाई लगातार तीन चौका प्रहार गरे । दीपेन्द्रले २ छक्का प्रहार गरेपछि नेपालले १९ ओभरमा कुल १८ रन जोड्यो । 

दीपेन्द्रले अन्तिम ओभरमा होल्डरको बलमा लङअफमा क्याच दिन पुगे । उनले ४७ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गरे । करण केसी १ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भए । होल्डरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । फोर्डले ४ ओभरमा १ मेडन राख्दै १० रनमात्र खर्चेर १ विकेट लिए । फोर्डसँगै हुसैन, जोसेफ र चेजले १–१ विकेट लिए । 

लगातार तेस्रो खेल जित्दै ‘सुपर एट’ मा प्रवेश गर्न वेस्ट इन्डिजलाई लक्ष्यमा पुग्न खासै गाह्रो भएन । ब्रान्डन किङ २२ रन बनाई आउट भए । नन्दन यादवको बलमा कुशल भुर्तेलले मिडअनमा उनको क्याच लिए । किङ र कप्तान साई होपले ६ ओभरभित्र पहिलो विकेटमा ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि होप र सिमरन हेटमायरले ४१ बलमा अर्धशतकीय साझेदारी पूरा गरे, जसमा हेटमायरको योगदान ३७ रनको थियो । त्यसपछि भने होप आक्रामक बने । 

यी दुईले दोस्रो विकेटमा कुल ५९ बल खेल्दै ९१ रनको अविजित साझेदारी गरे । होप ६१ र हेटमायर ४६ रन बनाए । होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का तथा हेटमायरले ३२ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । 

Nepal is out after three consecutive losses.नेपालले सेप्टेम्बरमा यूएईको शारजहाँमा वेस्ट इन्डिजसँग तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ऐतिहासिक रूपमा २–१ ले जितेको थियो । त्यो टोलीका केवल दुई खेलाडी हुसैन र होल्डरमात्र अहिले वेस्ट इन्डिजको टोलीमा छन् । वेस्ट इन्डिजले धेरै नयाँ खेलाडीलाई मौका दिँदा हुसैनले शारजहाँमा क्यारेबियन टोलीको नेतृत्व गरेका थिए । 

‘नेपाल निकै राम्रो टोली हो, हामीले विगतमा नेपालसँग कस्तो खेल्यौं भन्दा पनि आजको खेल जित्यौं, त्यो महत्त्वपूर्ण छ । एसोसिएट क्रिकेट टोलीहरू राम्रो भएका छन्, उनीहरूले सेतो बलको क्रिकेटमा राम्रो खेल्दै आएका छन्,’ वेस्ट इन्डिजका कप्तान होपले भने, ‘उपाधि जित्ने लक्ष्य लिएर अगाडि बढ्ने हो भने हरेक टोलीसँग हामीले राम्रो खेल्नुपर्छ ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully