'आज नेपालले राम्रो खेलेको हो, विशेषतः दीपेन्द्रसिंह ऐरीले । उनी कति धेरै राम्रा खेलाडी हुन्, सबैलाई थाहा नै छ ।'
मुम्बई — स्कटल्यान्डका फास्ट बलर ब्राड करी ट्वान्टी-२० विश्वकप २०२६ मा नेपालसँग हारपछि आफू निकै निराश भएको मंगलबार बताएका छन् । मिडियाको सामना गर्ने क्रममा उनले समग्रमा प्रतियोगितामा आफ्नो टिमको प्रदर्शनलाई लिएर गर्व रहेको पनि बताए । बंगलादेशलाई यस विश्वकपबाट हटाएपछि स्कटल्यान्डलाई समावेश गरिएको थियो । स्कटल्यान्ड हारले तीन अंकमै सीमित रह्यो ।
नेपालले समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको हो । खेलको समाप्तीमा उनले भने, ‘आज नेपालले राम्रो खेलेको हो, विशेषतः दीपेन्द्रसिंह ऐरीले । उनी कति धेरै राम्रा खेलाडी हुन्, सबैलाई थाहा नै छ ।नेपालले यसअघि पनि यही वानखेडे स्टेडियमा तीन खेल खेलिसकेको थियो, त्यसैले पनि नेपाललाई यहाँको स्थितिबारे राम्रोसँग थाहा थियो । म नेपाललाई बधाई दिन चाहन्छु ।’
करीले आफ्नो टिमले एक भन्दा बढी स्थानमा खेल्नु परेको पनि समस्या भएको दाबी गरे । उनको थप प्रतिक्रिया थियो, ‘आज हामीले नेपाली समर्थकमाझ पनि पनि खेल्ने अवसर पायौं, त्यसैले यो खुसीको अवसर हो । हाम्रो लागि यो बहुमूल्य अनुभव पनि रह्यो । समग्रमा हामी शीर उभो राखेर नै घर फर्किने छौं ।’
