नेपालले स्कटल्यान्डलाई हरायो, विश्वकपमा १२ वर्षपछि पहिलो जित

दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० रनभन्दा माथिको स्कोर बनाएपछि नेपालले १ सय ७१ रनको लक्ष्य मुम्बईको वानखडे रंगशालामा ४ बल अगाडि नै पूरा गर्‍यो । 

फाल्गुन ५, २०८२

विनोद पाण्डे

Nepal defeats Scotland, first win in World Cup after 12 years

What you should know

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० रनभन्दा माथिको स्कोर बनाएपछि नेपालले १ सय ७१ रनको लक्ष्य मुम्बईको वानखडे रंगशालामा ४ बल अगाडि नै पूरा गर्‍यो । 

नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो । तेस्रो विश्वकप खेल्दै गरेको नेपालको विश्वकपमा कुल तेस्रो जित पनि हो ।

२०१४ मा बंगलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन । सोक्रममा ६ खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यसै विश्वकपमा पनि नेपाललाई इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजले पराजित गरेको थियो । यी तीन खेल हारेर नेपाल यसअघि नै दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो । 

Nepal defeats Scotland, first win in World Cup after 12 yearsतस्बिरहरू : अंगद ढकाल, हेमन्त श्रेष्ठ/कान्तिपुर

दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाए । सोक्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्र र गुलशन झाले चौथो विकेटमा ३६ बलमा ७३ रनको साझेदारी गरे । गुलशनले १७ बल खेली १ चौका र २ छक्कासहित २४ रन बनाए । 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुआत दिलाउँदै नेपालको विजयको आधार तयार पारेका थिए । पावरप्लेमा बिनाक्षति ५६ रन जोडेको नेपालले ९ ओभरमा ७४ रन बनाएको थियो । १० औं ओभरको पहिलो बलमा कुशललाई माइकल लिस्कले क्याच गराए । कुशलले ३५ बल खेल्दै १ चौका र ५ छक्का प्रहार गरे । 

लिस्कले १२ औं ओभरमा अर्का नेपाली ओपनर आसिफलाई पनि आउट गरे । आसिफले २७ बल खेली २ छक्का प्रहार गरी ३३ रन बनाए । लिस्कले कप्तान रोहित पौडेललाई पनि आउट गरेपछि नेपाल दबाबमा परेको थियो । रोहितले १४ बल खेली १ चौकासहित १६ रन बनाए । 

Nepal defeats Scotland, first win in World Cup after 12 yearsलिस्कले आफ्नो पहिलो ३ ओभरमा १० रनमात्र खर्चेका थिए । तर उनको चौथो तथा नेपालको १६ ओभरमा उनले २० रन खर्चन पुगेका थिए । त्यसमध्येको १९ रन बनाउनेक्रममा दीपेन्द्रले लिस्कलाई २ छक्का र १ चौका प्रहार गरेका थिए । 

यसअघि ओपनर माइकल जोन्सको ७१ रनमा टस हारेपछि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनाएको हो । पावरप्लेमा बिनाक्षति ५२ रन बनाएको स्कटल्यान्डले सुरुको १० ओभरमा ८० रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो । 

१० औं ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले जर्ज मन्सीलाई आउट गरी यो साझेदारी तोडेका थिए । मन्सीले २९ बल खेली ४ चौका प्रहार गर्दै २७ रन बनाए । ब्रान्डन म्याकमुलनले १५ रनमा जीवनदान पाएका थिए, जब नन्दन यादवको बलमा सन्दीप जोराले उनको क्याच छुटाउन पुगे । 

Nepal defeats Scotland, first win in World Cup after 12 yearsजोन्सले म्याकमुलनसँग दोस्रो विकेटमा ३२ बलमा ५२ रनको साझेदारी गरे । सोमपाल कामीले १६ औं ओभरमा दुवैलाई आउट गरी नेपाललाई खेलमा फर्काउने प्रयास गरे । सोमपालले जोन्सलाई बोल्ड गरे भने म्याकमुलनलाई कट एन्ड बोल्ड गरे । 

जोन्सले ४५ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे । म्याकमुलनले १९ बल खेली समान १ चौका र छक्का प्रहार गरि २५ रन बनाए । अर्को ओभरमा कुशल भुर्तेलले रिची बेरिङटनलाई १० रनमा आउट गरे । नन्दनले म्याथ्यु क्रसलाई ४ रनमा बोल्ड गरे भने माइकल लिस्कलाई ४ रनमा आउट गरे । 

Nepal defeats Scotland, first win in World Cup after 12 yearsसोमपालले टम ब्रुसलाई ५ रनमा आउट गरी आफ्नो तेस्रो विकेट लिए । सोमपालले ४ ओभरमा २५ रनमात्र खर्चेर सो ३ विकेट लिएका हुन् । नन्दनले २ ओभरमा ३४ रन खर्चेर २ विकेट तथा रोहित र कुशलले १–१ विकेट लिए ।

ट्वान्टी-२० विश्वकप

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully