ट्वान्टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने

इटालीलाई पराजित गरेमा नेपालको ‘सुपर एट’ मा पुग्ने सम्भावना ब्युँतिने छ।

माघ २९, २०८२

विनोद पाण्डे

What you should know

मुम्बई — नेपालले इटालीसँग १०–१५ वर्षअघि केही प्रतिस्पर्धा विश्व क्रिकेट लिगमा गर्ने गरेको थियो । डीवाई पाटिल रंगशालाभित्र बुधबार ट्वान्टी–२० विश्वकपको खेलअघि आयोजित पत्रकार सम्मेलनमा इटालियन टोलीका कप्तान र प्रशिक्षकमाथि त्यसै सम्बन्धित प्रश्न वर्षिएको थियो ।

पत्रकार सम्मेलनपछि नेपाली मिडिया एक हुल एउटा कुनामा थियो । इटालीका प्रशिक्षक जोन डेभिसन त्यही कुनातिर पुगे । पत्रकार सम्मेलनमा गरिएको प्रश्नको भाव मिलाउँदै उनले भने, ‘तिमीहरू पक्कै नेपालको मिडियाबाट हुनुपर्छ ।’

इटाली पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्दै छ । तर डेभिसन विश्वकप अनुभवले खारिएका व्यक्ति हुन् । सन् २००३ को एकदिवसीय विश्वकपमा उनले क्यानडाबाट खेल्दै ६७ बलमै शतक बनाएका थिए । यो शतक त्यो विश्वकपकै सबैभन्दा कम बलमा बनेको शतक थियो । डेभिसन जतिखेर खेल्थे ट्वान्टी–२० को जन्मेकै थिएन, अन्यथा छोटो भर्सनको यो क्रिकेटमा उनी सुपर स्टार हुनसक्थे ।

बेलायतमा जन्मेर अस्ट्रेलियामा घरेलु क्रिकेट खेलेर उनी क्यानडा पुगेका थिए । पछि क्यानडाको कप्तानी गरे । अहिले इटाली टोलीमा अधिकांश यस्तै खेलाडी छन्, कोही अस्ट्रेलिया, कोही इंग्ल्यान्ड र केही दक्षिण अफ्रिकाबाट आएका । विश्वकपमा देशको प्रतिनिधित्व गरिरहँदा केही खेलाडी अझै इटाली पनि पुगेका छैनन् । 

‘इटालीमा क्रिकेटको विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ इटालीका कप्तान वायन म्याडसेनले भन्छन् । उनी ४२ वर्षका भए । दक्षिण अफ्रिकाको डरबान हुँदै उनी इटाली पुगेका थिए । इंग्ल्यान्डको द हन्ड्रेड, भाइटालिटी ब्लास्ट, दक्षिण अफ्रिकाको ट्वान्टी–२०, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, अबुधाबी टी–१० खेलेको अनुभव छ । उनी भन्दै थिए, ‘इटालीको नक्सामा क्रिकेट ल्याउन सकेकोमा गर्व लाग्छ । विश्वकपमा प्रर्दशनमार्फत अझै धेरै गर्ने योजना राखेका छौं ।’

केही वर्षअघि मात्र हो, विश्व क्रिकेट लिगको संरचनामा नेपालभन्दा अगाडि थियो इटाली । नेपाल बल्लबल्ल सन् २००८ मा विश्व क्रिकेट लिगको संरचनामा छिरेको थियो । २०१० मा नेपाल डिभिजन ५ मा पुग्दा इटाली डिभिजन ४ मा अड्डा जमाएर बसेको थियो । 

नेपाल र इटाली आमनेसामने भएको सन् २००५ देखि नै हो । मलेसियामा भएको विश्व क्रिकेट लिग २ छनोटमा शक्ति गौचनको अविजित १ सय ६ रनमा नेपालले इटालीलाई हराएको थियो । यो नेपाली खेलाडीको केवल दोस्रो अन्तर्राष्ट्रिय शतक थियो । तर, नेपाल विश्व क्रिकेट लिग २ छनोटबाटै हरायो भने इटाली डिभिजन २ मा पुग्यो । 

नेपालले होस्टेमा हैंसे गर्दै डिभिजन ४ मा पुगेपछि मात्र पुनः इटालीसँग खेल्ने अवसर पायो । इटाली भने त्यसको ठीक उल्टो डिभिजन २ बाट झर्दै डिभिजन ४ मा आइपुगेको थियो । २०१० मा इटालीमै भएको डिभिजन ४ मा नेपालले इटालीमाथि ५ विकेटको जित पाएको थियो । इटालीलाई ७१ रनमा अलआउट गरेपछि नेपालले त्यो लक्ष्य २५ ओभरमा पूरा गरेको थियो । 

त्यसपछि नेपालको इटालीसँगको अर्को भेट २०१३ मा बर्मुडामा भयो । डिभिजन ३ को समूह चरणको अन्तिम खेलमा नेपालले ८ विकेटको जित पाएको थियो । इटालीले पूरा ५० ओभर खेलेर ९ विकेटमा १ सय २७ रन बनाएको थियो । नेपालले १५ ओभरभित्रै १ सय २९ रन बनाएर फाइनलमा स्थान सुरक्षित गर्दै डिभिजन २ को यात्रा थालेको हो । त्यसयता नेपालले विश्व क्रिकेटमा लामो फड्को मारिसकेको छ । इटाली भने निरन्तर ओरालो लागिरहेको थियो । अन्तर्राष्ट्रिय हिसाबमा पनि नेपालभन्दा पुरानो हो इटालीको क्रिकेट । इटालीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट १९९५ मा एसोसिएट सदस्यता पाएको थियो । त्यसको एक वर्षपछि मात्र नेपाल यो स्थानमा पुगेको हो ।

पहिलो पटक ट्वान्टी–२० मा 

नेपाल र इटाली दुवैले २०११ र २०१३ को ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट खेलेका थिए, तर फरक समूहमा रहेकाले भेट भएन । त्यसैले यी दुई टोलीको 

ट्वान्टी–२० मा पहिलो भेट हो । इटालीले युरोपियन छनोटमा स्कटल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको भएको हो । नेपालले एसिया र एसिया प्यासिफिक छनोटको सबै खेल जितेर तेस्रो पटक विश्वकपमा खेल्दै गरेको हो । 

यस विश्वकपमा यी दुई टोलीकै दोस्रो खेल हो । इटालीलाई कोलकाताको इडेन गार्डेनमा स्कटल्यान्डले सजिलै पन्छाएर युरोपियन छनोटमा पाएको बदला लियो । नेपाल भने इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरमा पराजित भएको थियो । नेपालले सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ । जसले गर्दा इटालीसँग खेल्दा नेपाललाई फाइदा हुनेछ । 

इटालीलाई पराजित गरेमा नेपालको ‘सुपर एट’ मा पुग्ने सम्भावना ब्युँतिने छ । सन् २०१४ मा बंगलादेशमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा खेल जित्न सकेको छैन । इंग्ल्यान्डसँग पराजित भए पनि जुझारु प्रदर्शनले नेपालको आत्मविश्वास बढेको दाबी कप्तान रोहित पौडेलको छ । इटालीविरुद्ध यस्तै प्रदर्शन दोहर्‍याउनुपर्ने उनी सुनाउँछन् । उनले भने, ‘इटाली राम्रो टोली हो र उसले पछिल्लो केही समय राम्रो क्रिकेट खेलिरहेको छ । हामीसँग आफ्नै योजना छ, त्यो इटालीसँगको खेलमा मैदानमै उतार्न चाहन्छौं ।’ 

नेपाल पनि लयमै छ । चेन्नईमा नेपालले पनि अभ्यास खेलमा यूएई र क्यानडालाई पराजित गरेको थियो । इटालीलाई पराजित गरी विश्वकपमा लय फर्किने नेपालको दाउ छ । नेपालले इटालीपछि वेस्ट इन्डिज र स्कटल्यान्डसँगको खेल पनि मुम्बईमै खेल्नेछ । 

इटालीले दुई साताअघि आयरल्यान्डलाई शारजहाँमा हराएको थियो । आयरल्यान्डले दिएको १ सय ५५ रनको लक्ष्य इटालीले ३ बलअघि पूरा गरेको थियो । त्यसपछि चेन्नईमा इटालीले विश्वकपको अभ्यास खेलमा यूएई र क्यानडालाई हरायो । ‘नेपालभन्दा वरीयताको हिसाबमा माथिल्लो टोली यूएईलाई हामीले सानदार खेल प्रदर्शन गर्दै हराएका थियौं, त्यसैले हामी नेपाललाई पराजित गर्नेमा विश्वस्त छौं,’ इटालीका कप्तान म्याडसेन दाबीका साथ भन्छन् । 

प्रशिक्षक डेभिसन नेपालविरुद्ध विजय हात पारे इटाली क्रिकेटका लागि त्यसले ठूलो अर्थ राख्ने बताउँछन् । इटालीको प्रशिक्षण टोलीमा डेभिसनलाई सघाउनेमा आयरल्यान्डका केभिन ओ’ब्राइन र इंग्ल्यान्डका पूर्व बलर डगी ब्राउन छन् । डेभिसनले विश्वकपमा बनाएको तीव्र शतकलाई उछिन्ने एक हुन्, ओ’ब्राइन । उनी नेपाल प्रिमियर लिगको पहिलो सिजनमा विराटनगर किंग्सका प्रशिक्षक थिए । 

नेपाल र इंग्ल्यान्डबीचको खेल १७ हजारभन्दा बढी दर्शकले हेरेका थिए, त्यसमा अधिकांश नेपाली समर्थक थिए । म्याडसेन यसलाई ‘अविश्वसनीय’ मान्छन् । ‘नेपाली समर्थक उत्साही छन्, हामीले इंग्ल्यान्डसँगको खेलमा देख्यौं,’ म्याडसेन भन्छन्, ‘हामीसँगको 

खेलमा पनि पक्कै ती दर्शक आउने छन्, हामी पनि त्यो क्षणको आनन्द लिएर खेल्ने छौं र अवश्य पनि खेलमा केन्द्रित हुनेछौं ।’

डेभिसन नेपालमाथि विजय हात पार्नेमा ठूलो आशावादी देखिन्छन् । उनले भने, ‘टी–२० मा केही खेलाडीका लागि राम्रो दिन बनेर आउने गर्छ । त्यो दिन नेपालविरुद्धको खेलमै आउने छ भन्ने आस लिएका छौं ।’ पत्रकार सम्मेलनपछि त्यो कुनाबाट नेपाली मिडियासँग छुट्टिने क्रममा डेभिसनले अनौपचारिक प्रसङ्गमा भने, ‘निश्चय पनि नेपाललाई पराजित गर्ने अवसर हामीसँग छ ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully