खेलअगाडि आयोजित प्रि-म्याच कन्फ्रेन्समा इटालीका प्रशिक्षक तथा कप्तानले नेपाली समर्थकबाट आफूहरू निकै प्रभावित रहेको बताएका छन् ।
What you should know
मुम्बई — इटालीले ट्वान्टी-२० विश्वकप-२०२६ मा बिहीबार नेपालको सामना गर्दैछ । त्यसको पूर्वसन्ध्यामा टिमको दाबी छ, नेपाललाई हराउन प्रयास गर्नेछौँ । समूह 'सी' को यो खेल वानखेडे स्टेडियममा हुनेछ ।
खेलअगाडि आयोजित प्रि-म्याच कन्फ्रेन्समा इटालीका प्रशिक्षक तथा कप्तानले नेपाली समर्थकबाट आफूहरू निकै प्रभावित रहेको बताएका छन् ।
कप्तान रेयडन वेन म्याडसनले भने, ‘हाम्रो खेल हेर्न धेरै नेपाली समर्थक वानखेडेमा हुनेछन् । तर हामीमाथि दर्शकको दबाब हुने छैन किनभने हाम्रा अधिकांश खेलाडीले धेरै दर्शक अगाडि खेलिसकेका छन् । हामीले यसलाई मौकाका रूपमा लिनेछौं ।’ उनले नेपालविरुद्धको खेलमा एक मात्र लक्ष्य जित नै रहने बताए । कप्तान म्याडसनले इटालीमा क्रिकेटको लामो इतिहास भए पनि पछिल्लो समय त्यो ओझेलमा रहेको बताए ।
तर उनलाई के विश्वास छ भने यो विश्वकपले इटालीमा क्रिकेटलाई लोकप्रिय बनाउन मद्दत गर्नेछ । उनलाई के पनि विश्वास छ भने यूएई र क्यानडामाथि आधिकारिक अभ्यास खेलमा प्राप्त जितले नेपालको सामना गर्दा मद्दत मिल्नेछ । तर विश्वकपको डेब्यु खेलमा भने इटाली स्कटल्यान्डविरुद्ध पराजित रहेको थियो ।
यस्तै प्रशिक्षक जोन डेभिसनले भने, ‘नेपालविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । यो हाम्रो लागि ठूलो मौका पनि हो । यही मौकालाई हामी जितमा बदल्न प्रयास गर्नेछौं । इटालीमा अहिले क्रिकेटको भौतिक पूर्वाधार राम्रो छैन । तर इटालीको क्रिकेटलाई त्यहाँको सरकार र प्रायोजकले मद्दत गर्ने स्थिति तयार हुन लागेको छ । ट्वान्टी-२० क्रिकेटमा कोही खास खेलाडी चम्किँदा पनि पुग्छ, विश्वास गरौं, हाम्रा लागि त्यस्तै हुनेछ ।’
