प्लेयिङ ११ मा लोकेशको छनोटलाई लिएर धेरै प्रश्न उठाइएको थियो, इंग्ल्यान्डसँग खेलेको इनिङ्समा उनले विश्वकै ध्यान तानेका छन्
What you should know
मुम्बई — लोकेश बमले मुम्बईको वानखेडे स्टेडियममा आइतबार यस्तो इनिङ्स खेले, जसलाई नेपाली क्रिकेटले लामो समय सम्झिने छ । नेपाललाई ‘फिनिसिङ लाइन’ पार गराएको भए लोकेशको इनिङ्स ट्वान्टी–२० विश्वकपको उत्कृष्टमध्ये एक बन्ने निश्चित थियो ।
नेपाललाई विजय नजिक पुर्याएपछि लोकेश चुक्न पुगे । नेपालले अन्तिम ८ बलमा ७ रनमात्र बनाएपछि खेल ४ रनले गुमाएको थियो । अन्तिम ओभरमा नेपाललाई विजयनिम्ति १० रन चाहिने समीकरणमा लोकेशको ब्याट रोकिन पुग्यो । अर्को हिसाबमा हेर्ने हो भने सन् २०२२ को ट्वान्टी–२० विश्वकप फाइनलमा प्लेयर अफ द म्याच बनेका इंग्ल्यान्डका साम करनले उत्कृष्ट बलिङ गर्दा नेपाल फेरि एक पटक टेस्ट राष्ट्रसँग विजयको सामुन्ने पुगेर चुक्न पुग्यो ।
करनले अन्तिम ओभरमा योर्कर वर्षाएपछि लोकेश र करण केसीको ब्याट स्विङ हुन सकेन । अन्तिम बलमा विजयका लागि आवश्यक छक्का प्रहार गर्न नसकेपछि लोकेश ब्याटको सहारामा थचक्कै बसे । लोकेशले छक्का प्रहार गरेर नेपाललाई विजयी बनाएको भए वानखेडेमा अर्को अविस्मरणीय विजयी छक्का हुन्थ्यो । भारतले सन् २०११ मा विश्वकप जित्दा श्रीलंकाविरुद्धको फाइनलमा महेन्द्रसिंह धोनीले वानखेडेमै विजयी रन छक्का प्रहार गर्दै बटुलेका थिए ।
करनले योर्कर फाल्नेबारे अवगत भए पनि कुनै बल त्यो हिसाबमा नआए त्यसलाई ठूलो शट प्रहार गर्ने आशा लिएको लोकेशले सुनाए । ‘टिभीमा हेरेर आएका खेलाडीसँगै खेल्नु राम्रो चुनौती हुनेरहेछ, तर हामीले उनीहरूलाई राम्रो प्रतिस्पर्धा दियौं,’ लोकेशले भने, ‘मैले उनीहरूको नाम हेरेर खेलेको थिइनँ, बल हेरेर खेलिरहेको थिएँ । जुन स्थितिमा म क्रिजमा पुगेको थिएँ, त्यहाँ बललाई हिट गर्नुबाहेक अन्य कुनै विकल्प थिएन । मैले बलमात्र हिट गर्ने प्रयास गरेको थिएँ ।’
लोकेश २० बलमा अविजित ३९ रन बनाई पनि इंग्ल्यान्डले अन्तिम ओभरमा अनुभवको उपयोग गर्दै खेल जितेको हो । उनले १८ औं ओभरमा इंग्ल्यान्डका प्रमुख स्ट्राइक बलर जोफ्रा आर्चरलाई लगातार दुई छक्का प्रहार गरेका थिए । स्लो बाउन्सर पहिलो बललाई लोकेशले मिडविकेट कटाइदिए भने दोस्रो बलमा स्ट्रेट छक्का प्रहार गरेका थिए । लोकेशको इनिङ्समा एउटा साहस थियो, जसले नेपाली टोलीको चित्रण गर्थ्यो । तीव्र गतिका बलर आर्चरको सामना गर्दा लोकेशमा कुनै डर देखिएको थिएन ।
पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलरहे पनि लोकेश ब्याटिङ अनुभवमा खारिए जस्तो देखिन्थे । दुई पटकको ट्वान्टी–२० विश्वकप जितिसकेको टोलीलाई नेपालले आच्छुआच्छु पारेको थियो । यसपालि पनि इंग्ल्यान्डलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । पछिल्लो वर्षमा ह्यारी ब्रुकको कप्तानीमा रहेको इंग्ल्यान्डले अधिकांश ट्वान्टी–२० खेल जित्दै आएको छ । ‘हामीले लगभग इंग्ल्यान्डलाई हराएका थियौं,’ लोकेशले सुनाए, ‘अहिले जे पनि हुनसक्छ । हामी हाम्रो टोलीमा विश्वास गर्छौं र यही विश्वासलाई आगामी खेलमा लिएर जान्छौं ।’
दुई वर्षअघि २०२४ को विश्वकपमा लोकेश अन्तिम समयमा छनोटबाट बाहिरिएका थिए । लोकेश त्यतातिर फर्किन चाहान्न । उनले दोस्रो विकेटकिपरको रूपमा टोलीमा स्थान बनाएका थिए । तर प्लेयिङ ११ मा उनको छनोटलाई लिएर धेरै प्रश्न उठाइएको थियो । यूएई र क्यानडाविरुद्धको दुई अभ्यास खेलमा लोकेशले ब्याटबाट खासै केही गर्न सकेका थिएनन् । जबकि क्यानडासँग म्याच विजयी साझेदारी गरेका सन्दीप जोरालाई बेन्चमा राखेर लोकेशलाई खेलाइएको थियो ।
लोकेशले सन् २०२२ को फेब्रुअरीमा यूएईविरुद्धको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरे पनि नेपाली टोलीमा उनको स्थान कहिल्यै निश्चित भएन । चार वर्षमा उनले केवल २४ म्याच खेलेका छन् । सन् २०२४ मा विश्वकपको ठीकअगाडि आयरल्यान्ड ‘ए’ टोली नेपाल भ्रमणमा आउँदा लोकेशले एक खेलमा १ सय ६ रन बनाएका थिए । उक्त खेलमा शतक पूरा गरेपछि त्यसको खुसी मनाउन ब्याट लिएर चोभार एन्डसम्म पुगेका थिए । पछिल्ला तीन वर्षमा नेपाली खेलाडीले ट्वान्टी–२० मा बनाएको त्यही एक शतक हो । त्यसका बावजुद उनी अमेरिका र वेस्ट इन्डिज जाने नेपाली विश्वकप टोलीमा अटाएनन् ।
इंग्ल्यान्डविरुद्धको खेलमा विजयी रन बटुल्न नसक्नुमा उनी अनुभवको कमी देख्छन् र दोष अरूलाई नभएर आफैंमाथि थुपार्छन् । पहिलो विश्वकप भएकाले अनुभवको कमी भएकाले हुनसक्छ योजनाअनुसार खेल्न नसकेर चुक्न पुगेको उनको ठम्याइ छ ।
मुम्बईबाटै समातेको ‘ट्र्याक’
मुम्बईबाटै लोकेशको खेलजीवनले ‘ट्र्याक’ समातेको थियो । भूकम्पबाट देश पीडामा रहेको समयमा २०१५ मा धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले आफ्नो टोलीलाई मुम्बई पठाउने निर्णय गरेको थियो । टोलीमा लोकेशसहित सुबोध (सुवाष) ऐर, रीत गौतम, प्रतिश जिसी, सार्थक सेढाईंलगायतका खेलाडी थिए । त्यसको तीन महिना अघिमात्र लोकेश डीसीएसँग जोडिएका थिए ।
वानखेडे नजिकै रहेको आजाद मैदानमा सिन्ध स्पोर्ट्स क्लबसँगको दुईदिवसीय खेलको पहिलो दिनमा लोकेशले १ सय ६ रन बनाएका थिए, जतिखेर उनी १५ वर्षका थिए । यसले उनलाई ठूलो अनुभव दिएको थियो र नयाँ विषय सिक्ने अवसर पनि पाएका थिए ।
‘क्रिकेटको ठूलो सहरमा आएर त्यतिखेर खेल्दा धेरै अनुभव भएको थियो, मेरा लागि यो नयाँ ठाउँ थियो, यहाँको क्रिकेट संस्कार देखेर यो खेलप्रति अझ लगाव बढेको थियो,’ लोकेशले १० वर्षअघिको भ्रमण स्मरण गरे, ‘मुम्बईमा जता पनि क्रिकेट खेलेको देखिन्थ्यो । आजाद मैदानमा खेल्दा एउटा फरक अनुभव भएको थियो । ३० यार्डमात्र हामी खेल्ने टोलीका लागि थियो, त्योभन्दा बाहिरको भाग अरूसँग बाँडेर खेल्नुपर्थ्यो । हामीले हानेको बल उनीहरूतिर जान्थ्यो भने उनीहरूले प्रहार गरेको बल हामीतिर पनि आउँथ्यो ।’
डीसीएबाट मुम्बई भ्रमण गर्दासम्म लोकेश मध्यक्रममै खेल्थे । हार्ड हिटर भएकाले पावर प्लेको सदुपयोग गर्न उनलाई पछि ओपनर बनाइएको थियो । विश्वकपमा भने उनी मध्यक्रममै स्थान बनाउँदै टोलीमा सुरक्षित भएका थिए । लोकेशलाई ओपनरकै भूमिकामा खेल्न बढी मनपर्छ । तर फिनिसरको भूमिका पनि उत्तिकै रुचाउँछन् । म्याच जिताएर नटआउट भई फर्किंदाको अनुभवले पनि उनी तरंगित हुन्छन् । फिनिसरमा उनले इंग्ल्यान्डसँग आइतबार खेलेको इनिङ्सले विश्वकै ध्यान तानेको थियो ।
