प्रतियोगितामा आखिर भारत च्याम्पियन भने भएन, तर विराट घोषित भए, उत्कृष्ट खेलाडी ।
What you should know
काठमाडौँ — जति बेला बंगलादेशले सन् २०१४ मा ट्वान्टी-२० विश्वकपको आयोजना गरेको थियो, त्यति बेला विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई बलियोसँग स्थापित गर्ने क्रममा थिए । प्रतियोगितामा आखिर भारत च्याम्पियन भने भएन, तर विराट घोषित भए, उत्कृष्ट खेलाडी ।
उनको ब्याट खुबै चम्केको थियो, पूरा प्रतियोगितामा उनले ३ सय १९ रन बनाए । उनले असाध्यै राम्रो खेलेको ठूलो प्रतियोगितामा यो पनि पर्छ ।
मार्च १६ देखि अप्रिल ६ सम्म बंगलादेशमा आयोजित यस प्रतियोगिताको फाइनलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो । भारतले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ३० रन बनाएको थियो । त्यसमा विराटले ७७ रन बनाए । जवाफमा श्रीलंकाले १७.५ ओभरमा चार विकेट गुमाएर १ सय ३४ रन बनायो । श्रीलंकाका लागि उपाधिसम्मको यात्रामा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडी थिए, महेला जयवर्द्धने र कुमार संगकरा ।
संगकरा फाइनलमा ५२ रन बनाएर नटआउट रहे । यो उपाधिसँगै ती दुई खेलाडी श्रीलंकाली क्रिकेटका सबैभन्दा सफलमा परे । सेमिफाइनलमा श्रीलंकाले वेस्ट इन्डिजलाई २७ रन र भारतले दक्षिण अफ्रिकालाई छ विकेटले हराएको थियो ।
यस विश्वकपमा सहभागी टिमको संख्या बढाएर १६ पुर्याइएको थियो । यो प्रतियोगितालाई नेपाली खेलकुदले सम्झिने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो र यो किन भन्दा यसमा नेपालले ऐतिहासिक रूपमा सहभागिता जनाएको थियो ।
नेपालको प्रदर्शन सहभागितामै मात्र पनि सीमित रहेन, सबैको मन जित्ने गरेर उत्कृष्ट प्रदर्शन पनि गरेको थियो । फेरि यो विश्वकपमा सहभागी टिमलाई नेपाली क्रिकेट इतिहासकै गोल्डेन जेनेरेसन भन्दा हुन्छ । टिम आफैं भने पारस खड्काको नेतृत्वमा थियो । जति बेला नेपालले यो विश्वकपमा आफ्नो चुनौती पेस गरिरहेको थियो, पूरा देश क्रिकेटमय भएको थियो । नेपाली क्रिकेटले लोकप्रियताको शिखर छोएको पनि यही विश्वकपको बेला हो ।
प्रतियोगिताको पहिलो चरणमा आठ टिम सम्मिलित थिए, त्यसलाई दुई समूहमा विभाजन भएर खेल भएको थियो । समूह 'ए' बाट बंगलादेश र समूह 'बी' बाट नेदरल्यान्ड्स अर्को चरण पुगे । नेपालले लिग चरणमा दुई खेलमा जित निकालेको थियो, हङकङ र अफगानिस्तानविरुद्ध ।
यो चरणको समाप्ति दस टिम प्रतियोगितामा रहे र तिनलाई थप दुई समूहमा विभाजन भएर खेल भएको थियो । त्यसैबाट श्रीलंका र दक्षिण अफ्रिका तथा भारत र वेस्ट इन्डिज सेमिफाइनल पुगेका थिए । यो विश्वकपले ट्वान्टी-२० क्रिकेटलाई अझ लोकप्रिय बनाउन मद्दत गरेको थियो ।
