क्रिकेटको जन्मथलो इंग्ल्यान्डले आईसीसीको पहिलो उपाधिका लागि लामो प्रतीक्षा गर्नुपर्यो । पटक–पटक नजिक पुगेर चुक्यो पनि । अन्ततः सन् २०१० मा त्यो ऐतिहासिक क्षण आयो, जब इंग्ल्यान्डले तेस्रो संस्करणको ट्वान्टी–२० विश्वकप जित्दै फाइनलमा विशेष प्रदर्शन गर्यो ।
What you should know
काठमाडौँ — इंग्ल्यान्डमा क्रिकेट खेल जन्मेर हुर्केको भए पनि उसले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पहिलो उपाधि जित्नका लागि धेरै समय कुर्नु परेको थियो । त्यसबीच उपाधिको नजिक पुगेर पनि धेरैपल्ट असफलता पनि चुम्नु परेको थियो ।
आखिरमा सन् २०१० त्यो ऐतिहासिक अवसर जुरेको थियो र इंग्ल्यान्डले जितेको थियो, तेस्रो संस्करणको ट्वान्टी-२० विश्वकप । इंग्ल्यान्डको फाइनल प्रदर्शन आफैंमा विशेष पनि रह्यो ।
यस्तो किन भन्दा उसले फाइनलमा हराएको थियो, आफ्नो सबैभन्दा ठूलो र परम्परा प्रतिद्वन्द्वी अस्ट्रेलियालाई । यसअघि इंग्ल्यान्डले वान डे क्रिकेटको तीन विश्वकप फाइनल गुमाइसकेको थियो, सन् १९७९, १९८७ र १९९२ । ब्रिजटाउनको प्रसिद्ध किंग्सटन ओभलमा भएको फाइनलमा इंग्ल्यान्ड सात विकेटले विजयी रह्यो । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय ४७ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डले तीन विकेट गुमाएर १७ ओभरमा जित लक्ष्य हात पारेको थियो ।
केभिन पिटरसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी रहे, उनी ब्याटबाट मस्त चम्के । इंग्ल्यान्डले जितेको अर्थमै यो विश्वकप विशेष रह्यो । यो विश्वकप किन पनि विशेषत रह्यो भने यसको आयोजना भएको थियो, वेस्ट इन्डिजमा । वेस्ट इन्डिज भनेपछि क्यारेबियनका त्यस्ता ठाउँ सम्झिने गरिन्छ, जुन क्रिकेट, संगीत, नृत्य, मस्तीका लागिका प्रसिद्ध छ । ट्वान्टी-२० क्रिकेट एक अर्थ यस्तै रमाइलोका लागि प्रसिद्ध हुने क्रममा थियो । पहिलो विश्वकपको आयोजनापछि ट्वान्टी-२० क्रिकेट आफैंमा असाध्यै लोकप्रिय स्वरूप भइसकेको थियो ।
दोस्रो विश्वकपले त्यसलाई अझ अगाडि बढाउने काम गरेको थियो । अप्रिल ३० देखि मे १६ सम्म आयोजना भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । त्यसमध्ये दुई छनोट भएर आएका टिम थिए भने अन्य टेस्ट मान्यता प्राप्त बलिया छिन् । छनोट हुने टिम थिए, अफगानिस्तान र आयरल्यान्ड । त्यसमध्ये अफगानिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भनेको यही हो । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको थियो ।
लिग चरणको समाप्तीमा प्रत्येक समूहबाट दुई टिमले सुपर आठको यात्रा तय गरे । त्यसको पहिलो समूहबाट इंग्ल्यान्ड र पाकिस्तान सेमिफाइनल पुगे, न्युजिल्यान्ड र दक्षिण अफ्रिका बाहिरिए । अर्को समूहबाट अस्ट्रेलिया र श्रीलंका अन्तिम चारमा पुगेको थियो, बाहिरिने टिम थिए, आयोजक वेस्ट इन्डिज र भारत ।
सेमिफाइनलमा इंग्ल्यान्डले श्रीलंका र अस्ट्रेलियाले पाकिस्तानलाई हराएको थियो । अन्त्यमा च्याम्पियन बन्ने टिम रह्यो, इंग्ल्यान्ड ।
