सन् २००९ मा लर्ड्समा सम्पन्न ट्वान्टी–२० विश्वकपको उपाधि पाकिस्तानले श्रीलंकालाई आठ विकेटले पराजित गर्दै जितेको थियो, जहाँ साहिद अफ्रिदी प्लेयर अफ म्याच बनेका थिए ।
What you should know
काठमाडौँ — पहिलो ट्वान्टी-२० विश्वकपको फाइनलमा भारतविरुद्ध बेहोरेको हार पाकिस्तानका लागि कम्ती पीडादायी थिएन । तर यो पीडालाई खुसीमा बदल्न पाकिस्तानले धेरै वर्ष पनि कुर्नु परेन । सन् २००९ को जुन ५ देखि २१ सम्म इंग्ल्यान्डले दोस्रो संस्करणको ट्वान्टी-२० विश्वकप आयोजना गरेको थियो र त्यसमै पाकिस्तान च्याम्पियन भएको हो ।
ऐतिहासिक लर्ड्समा भएको फाइनलमा पाकिस्तानले सामना गरेको थियो, दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकाको ।
त्यसमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै बनाएको थियो, ६ विकेटको क्षतिमा १ सय ३८ रनको स्कोर । त्यसको जवाफमा पाकिस्तानले १८.४ ओभर मात्र उपयोग गरेर दुई विकेटमा १ सय ३९ रन बनायो । यसरी पाकिस्तान आठ विकेटले सजिलै विजयी रह्यो । यसमा प्लेयर अफ म्याच थिए, तिनै साहिद अफ्रिकी । उनले ४० बलमा ५४ रन बनाएका थिए । सेमिफाइनल चरणमा पाकिस्तानले दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो भने श्रीलंकाले वेस्ट इन्डिजलाई ५७ रनले पन्छाएको थियो ।
प्रतियोगितामा कुल १२ टिमको सहभागिता थियो र तिनलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट लिग चरणको समाप्तीमा शीर्ष दुई टिमले सुपर आठको यात्रा तय गरेका थिए ।
त्यसअनुसार समूह ए बाट भारत र आयरल्यान्ड, समूह बी बाट इंग्ल्यान्ड र पाकिस्तान, समूह सी बाट श्रीलंका र वेस्ट इन्डिज तथा समूह डी बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड अन्तिम आठमा प्रवेश गरेका थिए । यस प्रकार पहिलो चरणबाटै बाहिरिने हेभिवेट टिम थियो, अस्ट्रेलिया ।
यो टिम समूह चरणमा वेस्ट इन्डिज र श्रीलंका दुवैको हातबाट पराजित रहेको थियो । यो पनि यो विश्वकपको एउटा ठूलो विशेषता रह्यो, भलै अस्ट्रेलियालाई सुरुमा समूह विजेता मानिएको थियो । अन्तिम आठको चरणबाट भने इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड र आयरल्यान्ड बाहिरिए ।
यो चरणमा भारतले अविश्वसनीय रूपमा एकै खेल पनि जित्न सकेन् । यो विश्वकपको सबै स्कोर हेर्ने हो भने अहिले कम जस्तो लाग्न सक्छ । त्यति बेला १ सय २० रनको स्कोर पनि एक प्रकारले राम्रै थियो र त्यसलाई बलिङ गर्ने टिमले रक्षा पनि गर्न सक्थ्यो ।
तर त्यो ट्वान्टी-२० क्रिकेटका सुरुआती दिन थियो । पाकिस्तानले यो विश्वकप जितेर प्रमाणित गरेको थियो, यो देशको क्रिकेट टिम वास्तवमै अविश्वसनीय छ । पाकिस्तानले कहिले कसरी खेल्छ भनेर अनुमान नै गर्न सकिन्न ।
इंग्लिस भूमिमा उपाधि जित्ने क्रममा पाकिस्तानले उत्कृष्ट क्रिकेट खेलेको थियो र त्यो पाकिस्तानी टिम आफैंमा राम्रो पनि थियो । पाकिस्तानी क्रिकेटका लागि अनेक खाले अप्ठयाराबीच यो सफलताले सकारात्मक भूमिका खेलेको थियो ।
