वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । त्यसमा स्यामुएल्स एक्लैले ५६ बलमा ७८ रन बनाएका थिए । जवाफमा श्रीलंका १ सय १ रनमै अलआउट भएको थियो ।
What you should know
काठमाडौँ — सन् २०१२ मा ट्वान्टी-२० क्रिकेट पहिलो पटक दक्षिण एसियाली भूमिमा आयोजना भएको थियो र त्यो थियो, यस विश्वकपको चौथो संस्करण । श्रीलंका आफैं प्रतियोगिताको फाइनलसम्म प्रवेश गर्न सफल पनि रह्यो, तर उपाधि जित्न भने सकेन । उसलाई हराउने टिम थियो, वेस्ट इन्डिज ।
सन् २००० यता वेस्ट इन्डिज त्यस्तो रहन छोडेको थियो, जस्तो सन् सत्तरी र अस्सीको दशकतिर थियो । तर सबै एउटा तथ्यमा के सहमत थिए भने वेस्ट इन्डिजको समग्र क्रिकेट स्तर केही खस्के पनि ट्वान्टी-२० ढाँचामा यसको कुनै जवाफ छैन ।
फेरि त्यो समयको वेस्ट इन्डिज टिम आफैंमा कम्ती थिएन । खेलाडी सूचीमा थिए, क्रिस गेल, मार्लन स्यामुएल्स, ड्वायन ब्राभो, किरोन पोलार्ड, एन्ड्रे रसेल्सी, सुनिल नारान आदि । यी सबै यस्ता नाम हुन्, जसले ट्वान्टी-२० क्रिकेटमा आफ्नो नामलाई खुबै चम्काएका थिए । यही वेस्ट इन्डिजले अक्टोबर ७ मा कोलम्बोको प्रेमदासा स्टेडियममा भएको खेलमा आयोजक देशलाई ३६ रनले हराएको थियो ।
वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । त्यसमा स्यामुएल्स एक्लैले ५६ बलमा ७८ रन बनाएका थिए । जवाफमा श्रीलंका १ सय १ रनमै अलआउट भएको थियो, १८.४ ओभर टिकेर । सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई १६ रनले हराएको थियो भने वेस्ट इन्डिजले अस्ट्रेलियालाई ७४ रनले पन्छाएको थियो । सुपर एट चरणबाट इंग्ल्यान्ड र न्युजिल्यान्ड तथा भारत र दक्षिण अफ्रिका बाहिरिएका थिए । सेप्टेम्बर १८ देखि अक्टोबर ७ सम्म आयोजना भएको यस विश्वकपमा सहभागी टिमको संख्या १२ थियो ।
टिमलाई चार समूहमा विभाजन गरिएको थियो । त्यसमध्ये पहिलो चरणबाटै बाहिरिने टिम रहेका थिए- अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे र बंगलादेश । अस्ट्रेलिया सेमिफाइनलमै रोकिएको भए तापनि उसका ब्याटर सेन वाट्सन खुबै चम्के, उनले २ सय ४९ बनाए । उनी नै प्रतियोगिताका उत्कृष्ट खेलाडी पनि घोषित भए । यस्तै श्रीलंकाली बलर अजन्था मेन्डिसले १५ विकेट लिए । वान डे विश्वकपका सुरुआती दुई संस्करण जितेको वेस्ट इन्डिजले यसपल्ट ट्वान्टी-२० विश्वकप जितेर अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन रचेको थियो ।
