७ चौका र ७ छक्का प्रहार गर्दै रोसिङटनले ५८ बलमा १ सय ८ रन बनाएपछि पोखराले २० ओभरमा २ विकेट मात्र गुमाएर २ सय १ रन जोड्यो ।
What you should know
काठमाडौँ — एडम रोसिङटनको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई २ सय २ रनको लक्ष्य दिएको छ ।
रोसिङटनले अविजित १ सय ८ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको पोखराले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली २ विकेट गुमाई २ सय १ रन बनाएको हो ।
एनपीएल इतिहासमा यो तेस्रो शतक हो र सवै तीन विदेशी खेलाडीको नाममा रहेको छ । कर्णालीका स्कटिस ब्याटर मार्क वाटले यसै प्रतियोगितामा लुम्बिनी लायन्सविरुद्ध १ सय १४ र गत वर्ष पोखराकै अमेरिकी खेलाडी आन्द्रिज गाउसले लुम्बिनीविरुद्ध १ सय ४ रन बनाएका थिए ।
रोसिङटनले ५५ बलमा शतक पुरा गरेका थिए । वाटले लुम्बिनीविरुद्ध ४१ बलमै शतक बनाएका थिए । गाउसले ५४ बलमा शतक बनाएका थिए । ३२ वर्षे रोसिङटनले कुल ५८ बल खेल्दै ११ चौका र ७ छक्का प्रहार गरे ।
एनपीएलमा २ सय रन पार गर्ने पोखरा दोस्रो टोली पनि बनेको छ । यसै प्रतियोगितामा विराटनगर किंग्सले पोखराविरुद्धै २ सय २० रन बनाएको थियो ।
कप्तान कुशल भुर्तेल १७ बलमा ३ चौका र १ छक्का प्रहार गरी १८ रनमा आउट भएपछि रोसिङटनले प्रतियोगितामा पहिलो खेल खेलिरहेका इंग्ल्यान्डका विश्वकप विजयी खेलाडी जेसन रोयसँग दोस्रो विकेटमा ७२ बलमा १ सय २७ रनको साझेदारी गरेका थिए ।
रोय ४६ रनमा आउट भए । उनले ३४ बल खेली २ चौका र ३ छक्का प्रहार गरे । उनी जस्तै प्रतियोगितामा पहिलो खेल खेलिरहेका धनन्जय लक्षण ११ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २३ रनमा अविजित रहे । कर्णालीका नन्दन यादवले ४ ओभरमा ३४ र वाटले ३ ओभरमा २४ रन खर्चेर १–१ विकेट लिए । कप्तान सोमपाल कामीले ४ ओभरमा ५० र गुलशन झाले ३ ओभरमा ३५ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।
पोखराले ४ मध्येको १ खेलमात्र जितेको छ । प्लेअफमा पुग्न टोलीले बाँकी रहेको तीनै खेल जित्नु पर्नेछ । कर्णालीले ५ मध्येको १ खेलमात्र जितेको छ । प्लेअफमा पुग्ने आशालाई जीवितै राख्न टोलीले बाँकी रहेको दुवै खेल जित्नु पर्छ ।
