मलान र अर्जुनको ११२ रनको उत्कृष्ट साझेदारीपछि चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको छ ।
What you should know
काठमाडौँ — डेबिड मलान र अर्जुन साउदको शतकीय साझेदारीमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।
यी दुईले पहिलो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ ७६ सय रन बनाएको हो । माज सदाकतले खेलको पहिलो ओभर मेडन फाले पनि ६ ओभरको पहिलो प्लेमा ३८, १० ओभरमा ७६ रन जोड्दै चितवनले विशाल स्कोर बनाएको हो ।
एनपीएल इतिहासमा चौथो शतकीय साझेदारी र तेस्रो उच्च साझेदारी बनाउँदा मलान र अर्जुनले जनकपुरका फिल्डरले छाडेको आधा दर्जन क्याचको भरपुर फाइदा उठायो । त्यसमध्ये पहिलो खेल खेलिरहेका सचिन भट्टको बलमा अनिल साहले मलानको ३५ रनमा निकै सजिलो क्याच छाड्न पुगे । मलानले ५४ बलमा ८० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे ।
यान निकोल लफ्टी इटनले १४ औं ओभरमा अर्जुनलाई आउट गरी जनकपुरलाई पहिलो सफलता दिलाएका थिए । अर्जुनले ३९ बल खेली ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाए । सैफ जैब ७, रवि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल १४ बल खेली समान २ चौका र छक्का प्रहार गरी ३० र अमरसिंह रौटेला १ रनमा अविजित रहे । जनकपुरका अनिल, रुपेश सिंह, माज सदाकत र लफ्टी इटनले १–१ विकेट लिए ।
काठमान्डु गोर्खाजविरुद्ध ५३ रनले पराजित भएको अघिल्लो खेल खेलेको टोलीबाट दुई खेलाडी परिवतर्न गर्दै चितवनले अमर र सौगात ढकाललाई खेलाएको छ । उनीहरूलाई रिजन ढकाल र दीपक बोहराको स्थानमा ल्याइएको छ । सौगात चितवनको ट्यालेन्ट हन्टबाट आएका खेलाडी हुन् ।
जनकपुरमा अनिल प्लेयिङ ११ मा आए पनि उनी कप्तानको भूमिमा रहेका छैनन् । वायन पार्नेलले नै जनकपुरको कप्तानी गरेका छन् । अनिल र सचिनले ललित राजवंशी र किशोर महतोको स्थान लिनेछन् । यस सिजनको एनपीएलमा ललितले ४ खेलमा २ र किशोरले १ विकेटमात्र लिन सकेका थिए ।
चितवनले ४ मध्येको २ खेल जितेको छ भने २ खेल हारेको छ । बाँकी दुई खेलमा विजय हात पारे चितवनको प्लेअफमा पुग्ने सम्भावना बलिया हुन्छ । चितवनले अन्तिम खेल बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।
डिफेन्डिङ च्याम्पियन जनकपुर पहिलो चारै खेलमा पराजित रहेको थियो । गत वर्ष जनकपुरले उपाधि जिते पनि समूहचरणको खेलमा चितवनले जनकपुरलाई ३४ रनले पराजित गरेको थियो ।
