अघिल्लो खेलमा गोर्खाजविरुद्ध पराजित चितवनले अमर सिंह र सौगातलाई ल्यायो भने जनकपुरमा वायन पार्नेल कप्तान बनेका छन् ।
काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिला ब्याटिङ गर्ने भएको छ । टोलीका कप्तान कुशल मल्लले मंगलबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
काठमान्डु गोर्खाजविरुद्ध ५३ रनले पराजित भएको अघिल्लो खेल खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गरेको छ । अमर सिंह रौटेला र सौगात ढकाल टोलीबाट खेल्ने भएका छन् । उनीहरूलाई रिजन ढकाल र दीपक बोहराको स्थानमा ल्याइएको छ । सौगात चितवनको ट्यालेन्ट हन्टबाट आएका खेलाडी हुन् ।
जनकपुरमा अनिल साह प्लेयिङ ११ मा आए पनि उनी कप्तानको भुमिमा रहने छैनन् । वायन पार्नेलले नै जनकपुरको कप्तानी गर्ने छन् । अनिल र सचिन भट्टले ललित राजवंशी र किशोर महतोको स्थान लिनेछन् । यस सिजनको एनपीएलमा ललितले ४ खेलमा २ र किशोरले १ विकेटमात्र लिन सकेका थिए ।
चितवनले ४ मध्येको २ खेल जितेको छ भने २ खेल हारेको छ । बाँकी दुई खेलमा विजय हात पारे चितवनको प्लेअफमा पुग्ने सम्भावना बलिया हुन्छ । चितवनले अन्तिम खेल बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।
डिफेन्डिङ च्याम्पियन जनकपुर पहिलो चारै खेलमा पराजित रहेको थियो । गत वर्ष जनकपुरले उपाधि जिते पनि समूहचरणको खेलमा चितवनले जनकपुरलाई ३४ रनले पराजित गरेको थियो ।
