नेपाली फ्यान क्रेजी छन्, क्राउडसामु मलाई खेल्न मन पर्छ : फाफ डु प्लेसिस

डु प्लेसिसले विराटनगरबाट प्रतियोगिताभर खेल्ने

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Nepali fans are crazy, I love playing in front of the crowd: Faf du Plessis

What you should know

काठमाडौँ — दक्षिण अफ्रिकीका पूर्व सुपरस्टार फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न सोमबार काठमाडौं आइपुगेका छन् । उनलाई विराटनगर किंग्सले यसअघि नै अनुबन्धन गरेको थियो ।

अबुधाबी टी–१० लिग खेलेर डु प्लेसिस नेपाल आइपुगेका हुन् । अबुधाबी टी–१० लिगमा उनको टोली भिस्टा राइडर्स ७ मध्ये ३ खेलमात्र जितेपछि प्लेअफमा पुग्न असफल रहेको थियो । उनीसँग ६९ टेस्ट, १ सय ४३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ ।

विराटनगरले एनपीएल लिग चरणमा ५ खेल खेलिसकेको छ । टोलीले लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ । विराटनगरले लुम्बिनीसँग बुधबार र सुदूरपश्चिमसँग शनिबार खेल्ने तालिका छ । दुईमध्ये एक खेल जिते टोली प्लेअफमा पुग्नेछ र दुवै खेल जिते क्वालिफायर १ मा निश्चित हुनेछ ।

‘नेपालका समर्थक क्रेजी छन् भनेर मैले सामाजिक सञ्जाल हेरेर थाहा पाइरहेको छु । मलाई पनि भरिभराउ समर्थकको अगाडि खेल्न मनपर्छ । विराटनगरले मविना राम्रै खेलिरहेको छ । अझ राम्रो गर्न मैले पनि खेल्ने छु,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डु प्लेसिसले भने, ‘मैले विश्वको धेरै स्थानमा लिग खेल्दै आएको छु । अहिले म यही क्षेत्रतिर भएका कारण मलाई यहाँ आउन सजिलो भएको हो ।’

डु प्लेसिसले विराटनगरबाट प्रतियोगिताभर खेल्ने टोलीका निर्देशक दीपेन्द्र चौधरीले बताए । विराटनगरबाट दक्षिण अफ्रिकाकै तीव्र गतिका बलर मर्च्येन्ट डी ल्याङ्गे खेलिरहेका छन् ।

एनपीएल क्रिकेटका फ्रेन्चाइजहरूले यसअघि घोषणा गरेका खेलाडीमा इंग्ल्यान्डका विश्वकप विजेता ओपनिङ ब्याटर जेसन रोय पोखरा एभेन्जर्सबाट खेल्न आइतबार नै काठमाडौं आइसकेका छन् । अबुधाबी टी–१० लिग खेलेर आएका उनलाई पोखराले मंगलबार कर्णाली याक्ससँग खेल्दा मैदान उतार्ने छ । टोलीका न्युजिल्यान्डका स्टार जिम्मी निसम आईएल टी–२० खेल्न यूएई लागिसकेका छन् भने इंग्लिस काउन्टीका अनुभवी ड्यान डाउथवेट चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

Nepali fans are crazy, I love playing in front of the crowd: Faf du Plessisतस्बिरहरू : सुर्याम्स उप्रेती/कान्तिपुर

फ्रेन्चाइज टोलीले घोषणा गरेका खेलाडीमा दक्षिण अफ्रिकाकै भेट्रान स्पिनर इमरान ताहिर काठमाडौंमा खेल्न बाँकी छ । उनलाई जनकपुर बोल्ट्सले अनुबन्धन गरेको थियो । ताहिरको आउने नआउने अन्तिम निर्णय हुन बाँकी रहेको जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले जनाए । उनले मंगलबार चितवन राइनोजविरुद्धको खेलमा ताहिर अनुपस्थित रहने जनाए । सबै कुराको टुंगो लागे ताहिरले जनकपुरबाट अन्तिम २ खेल खेल्ने सम्भावना रहेको उनले बताए ।

यता शीर्ष चारमा पर्दै प्लेअफ पुग्नलाई दबाबमा रहेको चितवनले इंग्ल्यान्डबाट खेलिसकेका तीव्र गतिका बलर जर्ज स्क्रिमसवलाई टोलीमा समावेश गरेको जनाएको छ । उनले इंग्ल्यान्डबाट १ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । २७ वर्षे उनले सवैखाले ट्वान्टी–२० का ६७ खेलमा ९६ विकेट लिएका छन् । चितवन टोलीमा उनी चौथो इंग्लिस खेलाडी हुनेछन् । यसअघि नै चितवनबाट इंग्ल्यान्डका रवि बोपारा, डेविड मलान, सैफ जैबसहित पाकिस्तानका सोहेल तानवीर खेलिरहेका छन् ।

निसमसहित लुम्बिनीका गुलबदिन नैब, काठमान्डु गोर्खाजका जेहरार्ड इरसमस, विराटनगरका शुभम रञ्जने आईएल टी–२० खेल्न दुबई लागिसकेका छन् । सुदूरपश्चिमले भारतका पुनीत मेहेरालाई टोलीमा समावेश गरेको छ । टोलीका जस ब्राउन लिग चरणपछि आईएल टी–२० खेल्न दुबई जाने बताइएको छ ।

कान्तिपुर

Link copied successfully