कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनायो ।
What you should know
काठमाडौँ — गुलशन झाको आक्रामक इनिङ्सपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार काठमान्डु गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ । कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनायो ।
कर्णालीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निकै दयनीय सुरुआत गरेको थियो । कप्तान करण केसीले खेलको पहिलो बलमै प्रियांक पाञ्चाललाई कट एन्ड बोल्ड गरेका थिए । सोही ओभरको अन्तिम बलमा विलियम बोसिस्टो १ रनमा रनआउट भए ।
मार्क वाट र पवन सर्राफले तेस्रो विकेटमा ५९ रनको साझेदारी गरी कर्णालीको स्थिति सुधारेका थिए । वाट पनि ३० रनमा रनआउट भए । उनले २७ बल खेली १ चौका र २ छक्का प्रहार गरे । पवनलाई ३५ रनमा सन्तोष यादवले एलबीडब्लु आउट गरे । पवनले २९ बल खेली समान २ चौका र छक्का प्रहार गरे ।
नाजिबुल्लाह जाद्रानले १४ बलमा १२ रनमात्र बनाउन सके । कप्तान सोमपाल कामी पनि ६ रनमै आउट भए । गुलशनले दीपक डुम्रेसँग २८ बलमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे । दीपकले १२ बलमा १० रन बनाए । गुलशन ४९ रनमा अविजित रहे । उनले २२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे ।
काठमान्डुबाट रशिद खानले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण, मिलिन्द कुमार र सन्तोषले १–१ विकेट लिए । करणले ४ ओभरमा २६, मिलिन्दले ४ ओभरमा २४ र सन्तोषले ३ ओभरमा २२ रन खर्चे ।
काठमान्डुले टोलीमा एक खेलाडी परिवर्तन गर्दै दीपेश कँडेलको स्थानमा भीम सार्कीलाई ल्याएको छ । चितवनले अघिल्लो खेल खेलेको टोलीबाट आफ्नो टोलीमा कुनै खेलाडी परिवर्तन गरेको छैन ।
काठमान्डु ५ खेलमा ३ विजय हात पारि प्लेअफतर्फ अग्रसर रहेको छ । कर्णालीमाथि विजय हात पारे टोलीको प्लेअफ यात्रा लगभग निश्चित जस्तै हुनेछ । कर्णालीलाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्नेछ ।
कर्णालीले ४ मध्येको ३ खेलमा पराजय भोगिसकेको छ । काठमान्डुसँग पराजित भए टोली बाहिरिने स्थितिमा पुग्ने छ । प्लेअफमा पुग्न कर्णालीलाई बाँकी रहेको तीनै खेल जित्नु पर्ने दबाब रहेको छ ।
गत वर्ष काठमान्डुले कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो । तर कर्णाली प्लेअफमा पुगे पनि काठमान्डु शीर्ष चारमा पर्न सकेको थिएन ।
