काठमान्डुले एक खेलाडी परिवर्तन गरेको छ भने कर्णालीलाई शीर्ष चारमा पर्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ।
काठमाडौँ — कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमान्डु गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
अघिल्लो खेलमा चितवन राइनोजलाई पराजित गरेको टोलीबाट काठमान्डुले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । दीपेश कँडेलको स्थानमा भीम सार्कीलाई ल्याएको छ । चितवनले अघिल्लो खेल खेलेको टोलीबाट आफ्नो टोलीमा कुनै खेलाडी परिवर्तन गरेको छैन ।
काठमान्डु ५ खेलमा ३ विजय हात पारि प्लेअफतर्फ अग्रसर रहेको छ । कर्णालीमाथि विजय हात पारे टोलीको प्लेअफ यात्रा लगभग निश्चित जस्तै हुनेछ । कर्णालीलाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्नेछ ।
कर्णालीले ४ मध्येको ३ खेलमा पराजय भोगिसकेको छ । काठमान्डुसँग पराजित भए टोली बाहिरिने स्थितिमा पुग्ने छ । प्लेअफमा पुग्न कर्णालीलाई बाँकी रहेको तीनै खेल जित्नु पर्ने दबाब रहेको छ ।
गत वर्ष काठमान्डुले कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो । तर कर्णाली प्लेअफमा पुगे पनि काठमान्डु शीर्ष चारमा पर्न सकेको थिएन ।
