लुम्बिनीमा श्रीलंकाली खेलाडी, पोखरा ब्याटिङमा

लुम्बिनीले श्रीलंकाका अनुभवी निरोशान डिकवेलालाई टोलीमा राख्दै थोमस ड्राकाको स्थानमा मैदानमा उतारेको छ भने पोखराले दुई खेलाडी परिवर्तन गरेको छ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Sri Lankan players in Lumbini, Pokhara batting.

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको पहिलो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पोखरा एभेन्जर्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

लुम्बिनीले आज श्रीलंकाबाट खेलिसकेका निरोशान डिकवेलालाई टोलीमा समावेश गरेर खेलाएको छ । ३२ वर्षे उनले श्रीलंकाबाट ५४ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

उनलाई थोमस ड्राकाको स्थानमा खेलाइएको छ । पोखराले भने दुई खेलाडी परिवर्तन गरेको छ । आकाश चन्द र ड्यान डाउथवेटको स्थानमा अभिषेक तिवारी र म्याट टेलरलाई खेलाएको छ ।

लुम्बिनीले ४ मध्येको ३ खेलमा पराजित भइसकेको छ र टोलीले एक खेलमात्र जितेको छ । टोलीलाई प्लेअफमा पुग्न बाँकी रहेको तीनै खेल जित्नु पर्ने दबाब रहेको छ । पहिलो दुई खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित पोखराले अघिल्लो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

लुम्बिनीका गुलबदिन नैब र पोखराका जिम्मी निसमको आज प्रतियोगितामा अन्तिम खेल हुने बताइएको छ । उनीहरू यूएईको आईएल टी २० खेल्न दुबई जाने तालिका रहेको छ ।

कान्तिपुर

Link copied successfully