बसिरको ब्याटिङमा विराटनगरको नाटकीय जित

बसिरले ४३ बलमा ६२ रन बनाएर अन्तिम ओभरमा छक्का प्रहार गर्दै विराटनगरलाई १६१ रनको लक्ष्य एक बल अगाडि पूरा गर्न मद्दत गरे ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Biratnagar's dramatic win on Bashir's batting

What you should know

काठमाडौँ — बसिर अहमदको सानदार ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार कर्णाली याक्समाथी ३ विकेटको सनसनी विजय हात पारेको छ ।

बसिरले अविजित ६२ रन बनाएपछि विराटनगरले १ सय ६१ रनको लक्ष्य त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ बल अगाडि पूरा गर्‍यो । अन्तिम ओभरमा १० र अन्तिम २ बलमा ४ रन चाहिने अवस्थामा बसिरले विजय छक्का प्रहार गरेपछि विराटनगरले १ सय ६३ रन बनाएको हो ।

प्लेयर अफ द म्याच बसिरले ४३ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । कप्तान सन्दीप लामिछाने ४ बलमा ६ रन बनाई अविजित रहे । पावर प्लेको पहिलो ६ ओभरमा ३५ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा विराटनगरले खेल पल्टाएको हो ।

जर्ज मन्सी शून्य, लोकेश बम ६, साम हेजलेट १६ रनमै आउट भएको अवस्थामा बसिरले पहिला साहिल पटेलसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे । पहिलो पटक मौका पाएका साहिलले २४ बल खेली १ छक्का प्रहार गरी १९ रन बनाए ।

मर्च्येन्ट डी ल्याङ्गे २ रनमै आउट भए पनि बसिरले नारायण जोशीसँग छैटौं विकेटमा ६९ रनको साझेदारी गरे । सोमपाल कामीको बलमा आउट भए पनि नो बलका कारण जोगिएका नारायले १६ बल खेली २ चौका र १ छक्कासहित २५ रन बनाए । प्रतिश जिसी ६ रनमा आउट भए । कर्णालीका सोमपाल र गुलशन झाले २–२ तथा पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेहन जयसूर्यालाई विराटनगरले पहिलो पटक खेलाएको थियो । अमेरिकी अलराउन्डर शुभम् रन्जनेले यूएईको आईएल टी २० का लागि दुबई लागेपछि ल्याइएका जयसूर्या फिल्डिङका क्रममा घाइते भएपछि ब्याटिङमा आउन नसक्ने अवस्था रहेको स्थितिमा विराटनगरले खेल पल्टाएको थियो ।

विराटनगरले ५ खेलमा चौथो विजय हात पार्दै प्लेअफ नजिक पुगेको हो । विराटनगर दोस्रो स्थानमा छ । सुदूरपश्चिम रोयल्स पहिलो चार खेल जितेर शीर्ष स्थानमा छ । कर्णालीको भने ४ खेलमा यो तेस्रो हार हो ।

यसअघि प्रियान्क पाञ्चल र बोसिस्टाको प्रयासमा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६० रन बनाएको थियो । ओपनर मार्क वार्ट ९ बलमा ६ रन बनाई आउट भएपछि पाञ्चल र बोसिस्टोको जोडीले ८२ बलमा ९६ रनको साझेदारी गरेको थियो । पाञ्चलले ४७ बलमा ६३ रन बनाए । प्रतियोगितामा यो उनको दोस्रो अर्धशतक हो । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

बोसिस्टो ४८ रनमा अविजित रहे । ४८ बल नै खेलेका उनले २ चौका प्रहार गरे । नाजिबुल्लाह जाद्रान ६ बलमा १ छक्का प्रहार गरी १२ रनमा अविजित रहे । गुलशन १० बल खेली २ चौका र १ छक्का प्रहार गरी २० रन बनाई आउट भए । सन्दीप र डी ल्याङ्गेले १–१ विकेट लिए । 

कान्तिपुर संवाददाता

Link copied successfully