त्रिवि क्रिकेट रंगशालामा कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाउँदा पाञ्चलले प्रतियोगिताको दोस्रो अर्धशतक पूरा गरे।
What you should know
काठमाडौँ — प्रियांक पाञ्चल र विलियम बोसिस्टाको उत्कृष्ट ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबारको दोस्रो खेलमा विराटनगर किंग्सलाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङमा आएको कर्णालीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६० रन बनाएको हो ।
ओपनर मार्क वार्ट ९ बलमा ६ रन बनाई आउट भएपछि पाञ्चल र बोसिस्टोको जोडिले ८२ बलमा ९६ रनको साझेदारी गरेको थियो । पाञ्चलले ४७ बलमा ६३ रन बनाए । प्रतियोगितामा यो उनको दोस्रो अर्धशतक हो । उनले ६ चौका र २ छक्का प्रहार गरे ।
बोसिस्टो ४८ रनमा अविजित रहे । ४८ बल नै खेलेका उनले २ चौका प्रहार गरे । नाजिबुल्लाह जाद्रान ६ बलमा १ छक्का प्रहार गरी १२ रनमा अविजित रहे । गुलशन झा १० बल खेलि २ चौका र १ छक्का प्रहार गरी २० रन बनाई आउट भए । विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्च्येन्ट डी ल्याङ्गेले १–१ विकेट लिए ।
विराटनगरले तीन खेलाडी परिवर्तन गर्दै सूर्य तामाङ, नरेन भट्ट र शुभम् रन्जनेको स्थानमा साहिल पटेल, सुवास भण्डारी र सेहन जयसुर्यालाई खेलाएको छ । तर फिल्डिङका क्रममा जयसुर्याको खुट्टा दोबारिएको छ र उनी ब्याटिङमा आउने सम्भावना कम छ । रन्जनले यूएईको आईएल टी २० का लागि दुबई लागेको बताइएको छ ।
कर्णालीबाट अर्जुन घर्तीमगरको स्थानमा दीपक डुम्रेले विकेटकिपिङ गर्नेछन् ।
