कप्तान करण र रसिद खानको उत्कृष्ट प्रदर्शनसँगै चितवनलाई ८९ रनमै समेट्दै काठमान्डुले पाँच खेलमा तेस्रो जित दर्ता गर्यो
What you should know
काठमाडौँ — उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गरी ‘बागमती डर्बी’ मा एकपक्षीय हिसाबमा धावा बोलेको छ ।
१ सय ४३ रनको लक्ष्य लिएर आएको चितवन त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा १७.२ ओभरमा ८९ रनमा अलआउट भयो । रसिद खानले पुछारको ३ विकेट लिए । उनले १.२ ओभरमा ३ रनमात्र खर्चेर पछिल्लो ४ मध्येको ३ विकेट लिए ।
कप्तान करण केसीसहित मिलिन्द कुमार र शाहव आलमले २–२ विकेट लिए । करणले ४ ओभरमा २३, मिलिन्दले ४ ओभरमा १८ र शाहवले ४ ओभरमा २६ रन खर्चे । सन्तोष यादवको नाममा १ विकेट रह्यो ।
चितवनबाट देव खनाल र रवि बोपाराले समान २१ रन बनाए । देवले १८ बल खेली २ चौका र १ छक्का तथा बोपाराले २३ बल खेली समान १ चौका र छक्का प्रहार गरे । सोहेल तान्बिर १८ रनमा आउट भए । करणले पहिलो ओभरमै दीपक बोहरालाई शून्यमा आउट गरेका थिए । अर्का ओपनर डेबिड मलान ७ रनमै आउट भए ।
सैफ जैब १, कप्तान कुशल मल्ल ६, अर्जुन साउद २ रनमा आउट भए । कमलसिंह ऐरीले २ रन जोडे । काठमान्डुको ५ खेलमा यो तेस्रो विजय हो । यस विजयपछि काठमान्डुको प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । चितवनले ४ खेलमा दोस्रो पराजय भोगेको हो ।
यसअघि जोहन सिम्पसनको अर्धशतक बनाए पनि मध्यक्रम नाटकीय रूपमा पतन भएपछि ठुलो स्कोर बनाउनबाट रोकिएको थियो । टस हारेपछि ब्याटिङमा आएको काठमान्डु १९.४ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । काठमान्डुले अन्तिम ७ विकेट २३ बलको अन्तरमा २० रनमा गुमाएको थियो ।
पावर प्लेको पहिलो ५ ओभर भित्र २४ रन बनाउदा ३ विकेट गुमाइसकेको अवस्थामा सिम्पसनले मिलिन्दसँग चौथो विकेटमा ७१ बलमा ९८ रनको साझेदारी गरेका थिए । सिम्पसनले ६० रन बनाए । जारी प्रतियोगितामा काठमान्डुका खेलाडीको यो पहिलो अर्धशतक हो । उनले २९ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । मिलिन्दले ४३ बल खेली ५ चौका प्रहार गर्दै ३८ रन बनाए । दुबै लगातार बलमा आउट भए । मिलिन्दलाई १६ औं ओभरको अन्तिम बलमा रवि बोपाराले बोल्ड गरे भने १७ औं ओभरको पहिलो बलमा कमल सिंह ऐरीले सिम्पसनलाई आउट गरे ।
त्यसपछि भने काठमान्डुका खेलाडी पालै पालो आउट भए । १७ औं ओभरमा सोहेल तान्बिरले ३ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जीत कुमारले ४ ओभरमा २८ र कमलले २.४ ओभरमा १९ रन खर्चेर २–२ विकट लिए ।
यसअघि आकाश त्रिपाठी ४ रनमै रनआउट भएका थिए । तेस्रो नम्बरमा पठाइएका रशिद एक छक्का प्रहार गरि ६ रन बनाई आउट भए । बेन चाल्सवर्थले १४ बलमा १३ रन बनाए । सिम्पसन आउट भएपछि आएका जेहरार्ड इरसमस वाइड बलमा स्टम्प आउट भए । आदिल आलम अन्सारीले ५ बलमा ८ रन बनाए । सन्तोषले पनि खाता खोल्न सकेनन् भने करण १ रनमै आउट भए । दीपेश कँडेल ६ रनमा आउट भए । साहब आलम २ रनमा अविजित रहे ।
