चितवनविरुद्ध टस हारेर ब्याटिङमा आएको काठमान्डुले अन्तिम ७ विकेट २३ बलमै गुमाउँदै १४२ रनमै इनिङ्स सकाएको छ ।
What you should know
काठमाडौँ — जोहन सिम्पसनको अर्धशतक बनाए पनि मध्यक्रम नाटकीय रूपमा पतन भएपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ठूलो स्कोर बनाउनबाट रोकिएको छ ।
‘बागमती डर्बी’ टस हारेपछि ब्याटिङमा आएको काठमान्डु १९.४ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । काठमान्डुले अन्तिम ७ विकेट २३ बलको अन्तरमा २० रनमा गुमाएको थियो ।
पावर प्लेको पहिलो ५ ओभर भित्र २४ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा सिम्पसनले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा मिलिन्द कुमारसँग चौथो विकेटमा ७१ बलमा ९८ रनको साझेदारी गरेका थिए ।
सिम्पसनले ६० रन बनाए । जारी प्रतियोगितामा काठमान्डुका खेलाडीको यो पहिलो अर्धशतक हो । उनले २९ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । मिलिन्दले ४३ बल खेली ५ चौका प्रहार गर्दै ३८ रन बनाए । दुवै लगातार बलमा आउट भए । मिलिन्दलाई १६ औँ ओभरको अन्तिम बलमा रवि बोपाराले बोल्ड गरे भने १७ औँ ओभरको पहिलो बलमा कमल सिंह ऐरीले सिम्पसनलाई आउट गरे ।
त्यसपछि भने काठमान्डुका खेलाडी पालै पालो आउट भए । १७ औँ ओभरमा सोहेल तान्बिरले ३ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जीत कुमारले ४ ओभरमा २८ र कमलले २.४ ओभरमा १९ रन खर्चेर २–२ विकट लिए ।
यसअघि आकाश त्रिपाठी ४ रनमै रनआउट भएका थिए । तेस्रो नम्बरमा पठाइएका रशिद खान एक छक्का प्रहार गरी ६ रन बनाई आउट भए । बेन चाल्सवर्थले १४ बलमा १३ रन बनाए । सिम्पसन आउट भएपछि आएका जेहरार्ड इरसमस वाइड बलमा स्टम्प आउट भए । आदिल आलम अन्सारीले ५ बलमा ८ रन बनाए ।
सन्तोष यादवले पनि खाता खोल्न सकेनन् भने कप्तान करण केसी १ रनमै आउट भए । दीपेश कँडेल ६ रनमा आउट भए । साहब आलम २ रनमा अविजित रहे ।
दुवै टोलीको समान ४ अंक छ । चितवनले ३ र काठमान्डुले ४ खेल खेल्दै क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यो खेल जित्ने टोलीको प्ले अफ पुग्ने सम्भावना बलियो हुनेछ ।
गत सिजन यी दुई टोली आफ्नो पहिलो खेलमा आमनेसामने हुँदा चितवनले काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो । समान ८ अंक बोकी चितवन प्लेअफसम्म पुगेको थियो भने काठमान्डु लिग चरणबाटै बाहिरिएको थियो ।
