काठमान्डुबाट महोम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा २ छक्का र ४ चौकाको मद्दतले ४८ रन बनाएका हुन् ।
काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबारको दोस्रो खेलमा कमजोर ब्याटिङ गर्दै विराटनगर किंग्सलाई १ सय ३५ रनको मात्र लक्ष्य दिएको छ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभर खेली ६ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो ।
काठमान्डुबाट आदिल अलाम अन्सारीले अविजित ४८ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । जसको कारण काठमान्डुले अन्तिम ५ ओभरमा १ विकेट गुमाई ६३ रन जोडेर हेर्न लायक स्कोर बनाउन सकेको थियो ।
पावर प्लेको पहिलो ६ ओभरमा काठमान्डुले ३ विकेट गुमाई २२ रनमात्र बनाउन सकेको थियो । टोलीले केवल ६ चौका र ५ छक्का प्रहार गर्न सकेको थियो ।
आकाश त्रिपाठी पहिलो ओभरमै शून्यमा आउट भएका थिए । रिकार्डो भास्कोनसेलोस ३ रनमा रनआउट भए । प्रतियोगितामा पहिलो पटक मौका पाएका प्रतीक श्रेष्ठले पनि २ रनमात्र बनाउन सके । जेहर्राड इरसमस १० रनमै आउट भए ।
ओपनर बेन चार्ल्सवर्थले ३३ बल खेली १ चौका र २ छक्कासहित ३२ रन बनाए । उनलाई १३ औँ ओभरमा शुभम रन्जनेले आउट गरे । त्यसपछि आदिल र सन्तोष यादवले छैटौँ विकेटमा ३० बलमा ४५ रनको साझेदारी गरे । सन्तोषले २४ बल खेली १ चौकासहित २६ रन बनाए । जोहन सिम्पसन ५ बल खेली ७ रन बनाई अविजित रहे ।
विराटनगरका मर्च्येन्ट डी ल्याङ्गेले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेसहित रन्जने र सूर्य तामाङले १–१ विकेट लिए ।
काठमान्डुले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो । विराटनगरले पहिलो खेलमा एनपीएलकै उच्च स्कोर २ सय २० रन बनाउँदै पोखरा एभेन्जर्ससँगको खेल ५३ रनले जितेको थियो ।
