चितवनद्वारा लुम्बिनीलाई मध्यम लक्ष्य

त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा सात विकेट गुमाउँदै १४२ रन बनाएको छ, बोपाराले ६६ रनको योगदान दिए।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Chitwan sets medium target for Lumbini

What you should know

काठमाडौँ — रवि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार लुम्बिनी लायन्सलाई १ सय ४३ रनको लक्ष्य दिएको छ । 

टस हारेपछि ब्याटिङमा आएको चितवनले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभर खेली ७ विकेट गुमाई १ सय ४२ रन बनाएको हो । 

बोपाराले ५५ बलमा ६६ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । बोपारालाई अन्तिम ओभरमा गुलबदिन नैबले दीलिप नाथबाट क्याच गराए । 

चितवनको सुरुआत राम्रो थिएन । पहिलो ओभरमै रुबेन ट्रम्पलमनले डेबिड मलानलाई शून्यमै बोल्ड गरे । देव्रेहाते स्पिनर अभिषेक गौतमले दीपक बोहरालाई १० र देव खनाललाई १४ रनमा आउट गरेपछि चितवन आठौं ओभरमा ४१–३ को स्थितिमा पुगेको थियो । 

कप्तान कुशल मल्लले १८ बलमा २१ रन बनाए । १२ रनमा शेर मल्लबाट रिटर्न क्याच हुन जोगिएका कुशलले १ छक्का प्रहार गरे । उनी ट्रम्पलमनको दोस्रो सिकार भए । ट्रम्पलमनले सैफ जैबलाई पनि आउट गरे । जैबले ७ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाए । सोहेल तन्बिर ५ रनमा आउट भए । 

ट्रम्पलमनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । नैबले ४ ओभरमा २३ र अभिषेकले ३ ओभरमा १५ रन खर्चेर २–२ विकेट लिए । 

चितवनले अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । विपिन आचार्यको स्थानमा टोलीले अमरसिंह राउटेलालाई खेलाइरहेको छ ।

लुम्बिनीको यो पहिलो खेल हो । चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । चितवनले १ सय ६७ रनको लक्ष्य ५ बल अगाडि १ सय ७१ रन बनाउँदै पूरा गरेको थियो । 

गत वर्ष लुम्बिनी पुछारमा रहेको थियो र टोलीले लिग चरणमा ७ मध्येको ६ खेल हारेको थियो । तर चितवनसँगको खेलमा लुम्बिनी ३३ रनले विजयी भएको थियो । लुम्बिनीले जितेको सो एकमात्र खेलमा कप्तान रोहित पौडेलले ५७ बलमा ८० रन बनाउनुका साथै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए । 

कान्तिपुर

Link copied successfully