काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार काठमान्डु गुर्खाजलाई १ सय १८ रनको लक्ष्य दिएको छ । काठमान्डु गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको विराटनगर १९.५ ओभरमा १ सय १७ रनमा अलआउट भयो ।
जेहरार्ड इरसमसले उत्कृष्ट बलिङ गर्दै विराटनगरलाई सानो स्कोरमा रोक्न महत्त्वपूर्ण भुमिका खेले । नामिबियाका कप्तान अफ स्पिनर इरसमसले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । स्कट इडवार्डसलाई बोल्ड गरेका उनले एकै ओभरमा क्रिस सोल र कप्तान सन्दीप लामिछानेको विकेट पनि लिए ।
अर्का स्पिनर दीपेश कँडेलले २ विकेट लिए । देव्रहाते दीपेशले ४ ओभरमा १६ रनमात्र खर्चे । शाहव आलम, ड्यान डाउथवेट र कप्तान करण केसी १–१ विकेट लिए । राजेश पुलामीले विराटनगरबाट सर्वाधिक २५ रन बनाए । उनले २१ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे ।
लोकेश बम ८, दीपक बोहरा २४ बलमा २०, निकोलस कृतन १२ बलमा १०, इडवार्डस १५ बलमा १४, बसिर अहमद १३ बलमा १३, इस्मातुल्लाह आलम ५, सोल १, लामिछाने र अनिल खरेल समान शुन्यमा आउट भए । सुवास भण्डारी ६ रनमा अविजित रहे ।
काठमान्डुले प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राख्न यस खेल जित्नै पर्छ । काठमान्डु ६ खेलमा ६ अंकसहित पाँचौं स्थानमा छ । एनपीएलको शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान रहेको छ । काठमान्डुले प्लेअफमा पुग्न विराटनगरलाई ठूलो अन्तरमा पराजित गर्नुका साथै कर्णाली याक्स सोमबार हुने खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुनु पर्नेछ ।
