जनकपुरविरुद्ध चितवनको जगमगाउँदो ब्याटिङ

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

Chitwan's sparkling batting against Janakpur

काठमाडौँ — कुशल मल्लको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने आफ्नै निर्णयमा कुशलले ७२ रन बनाएपछि चितवनले को १८०–५ को स्कोर बनाएको हो ।

कुशल र रवि बोपाराले चौथो विकेटमा ६७ बलमा १ सय १३ रनको साझेदारी गरेपछि चितवनले मजबुत स्कोर बनाएको हो । कुशलले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । बोपाराले ३२ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए ।

विपिन रावल ३ रनमात्र बनाई ललित राजवंशीको बलमा आउट भएका थिए । सन्तोष कार्कीलाई १४ रनमा मोहम्मद मोहसिनले बोल्ड गरे । ओपनर हसन इसाखिलले १९ बल खेली ४ चौका र १ छक्कासहित २८ रन बनाए । एनपीएलका उच्च विकेटकर्ता ललित राजवंशीले २ विकेट लिए । उनले ४ ओभरमा २ मेडन राख्दै ११ रनमात्र खर्चे । हर्ष ठाकर, जिम्मी निशम र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।

जनकपुर १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको छ । चितवन ६ अंकसहित चौथो स्थानमा छ । जनकपुरले विजय हात पारेमा क्वालिफायर्स १ मा पुग्ने छ । चितवनले विजय हात पारेमा टोलीको शीर्ष चार भित्र रहेर प्लेअफमा पुग्ने सम्भावना बलियो हुन्छ ।

विराटनगर किंग्ससँग अघिल्लो दिन पराजित चितवनले आफ्नो टोलीको प्लेयिङ ११ मा कुनै खेलाडी परिवर्तन गरेको छैन । जनकपुरले बिहीबार आफ्नो पछिल्लो खेलमा काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । त्यो टोलीबाट जनकपुरले कुनै खेलाडी परिवर्तन गरेको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully