जब रोहित बने बुमराह

टिममा बलिङ समस्याबारे आफ्नो धारणा राख्दा रोहित पौडेल यसअघिका खेलमा जिस्किँदै भन्थे– ‘लुम्बिनी लायन्समा जसप्रित बुमराह आवश्यक छ’

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता, तस्बिर : हेमन्त श्रेष्ठ

When Rohit became Bumrah

काठमाडौँ — रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जति लयमा छन्, त्यसको उल्टो गतिमा छ उनको टिम लुम्बिनी लायन्स । पहिलो चार खेलमा पराजित भएर दाबेदार मानिएको लुम्बिनी प्लेअफ दौडबाट लगभग बाहिरिइसकेको छ ।

रोहितले हरेस खाइसकेका छैनन् । उनका लागि मंगलबारको आफ्नो प्रदर्शन कीर्तिपुर मैदानमा उत्कृष्टमध्ये एक हुनसक्छ । तर, उनी अझै योभन्दा राम्रो आउन बाँकी रहेको दावी गर्छन् । लुम्बिनीलाई एनपीएलमा पहिलो जित हात पार्न रोहितले ब्याटिङबाट मात्र होइन, बलिङबाट पनि ठूलो प्रभाव देखाए । रोहितको आकर्षक अलराउन्ड प्रदर्शनमा लुम्बिनीले चितवन राइनोजमाथि ३३ रनको जित हासिल गर्‍यो । 

टस हारेर ब्याटिङमा आएको लुम्बिनीले कीर्तिपुरस्थित त्रिवि मैदानमा २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो । जसमा कप्तान रोहितले ५७ बलमा ८० रनको योगदान गरे । तर चितवनले ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो । पाँचौं खेलमा चितवनको यो दोस्रो हार हो । 

‘टिमका लागि त्यति राम्रो भएको थिएन पहिलो चार खेलमा । आज हामीले एउटा रेखा पार गरेका छौं । आफूले रन हान्दा र टिमले जित्दा एकदमै खुसी लाग्छ । ब्याटिङ गर्दा निकै सकारात्मक भाव आइरहेको छ,’ रोहितले पोस्टम्याच कन्फ्रेन्समा भने, ‘म यसमा रमाइरहेको छु, एनपीएल नै राम्रो भएको छ मेरा लागि ।’ 

रोहितले ५ खेलमा १३८ माथिको स्ट्राइक रेटमा २ सय ६१ रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने सूचीमा उनी अगाडि छन् । दोस्रो स्थानमा रहेका चितवनका इंग्लिस ब्याटर रवि बोपाराले १ सय ६९ रन बनाएका छन् । 

रिजन ढकालले चितवनलाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । खेलको दोस्रो ओभरमा देब्रेहाते तीव्र गतिका बलर उनले आशुतोष घिरोहियालाई १ र उन्मुक्त चन्दलाई शून्यमा बोल्ड गरेका थिए । अर्जुन साउद १२ बलमा १५ र टम मुर्स ५ बलमा १० रन बनाएर आउट भएपछि लुम्बिनी ८ ओभरभित्र ४९–४ को स्थितिमा पुयो । 

When Rohit became Bumrah

यस्तो अवस्थामा रोहितले ड्रेसिङ रुमतर्फ देखाउँदै देव्रहाते ब्याटर पठाउन संकेत गरेका थिए । उनले भने, ‘बल एकदमै टर्न गरिरहेको थियो र उनीहरूले देव्रेहाते स्पिनर लगाएको भएर सन्दीप जोरा र विवेक यादवअघि सादबिन जाफरलाई देव्रहाते ब्याटर भएको हिसाबमा बोलाएको हो । १ सय ४० भन्दा माथि भयो भने चितवनलाई पनि चुनौती हुन्छ भन्ने हामीलाई थाहा थियो । जाफर र मेरा राम्रो साझेदारी भयो, त्यो साझेदारी एकदमै महत्त्वपूर्ण थियो ।’ 

रोहितले ६ चौका र ५ छक्का प्रहार गर्दै क्यानडाका पूर्वकप्तान जाफरसँग पाँचौं विकेटका लागि ७० बल खेल्दै १ सय १४ रनको साझेदारी गरे । रोहित २० औं ओभरको तेस्रो बलमा आउट भए । त्यसपछि सन्दीप जोराले पहिलो बलमा चौका प्रहार गरे पनि अर्को दुई बलमा बिट भए । इनिङ्सको अन्तिम ओभरमा रनआउट भएका जाफरले ३५ बल खेल्दै ४ चौका र १ छक्कासहित ५२ रन बनाए । रिजनले ४ ओभरमा २९ रन खर्चेर ३, कप्तान कुशल मल्लले ४ ओभरमा ४२ र रन्जित कुमारले ४ ओभरमा २६ रन खर्चेर १–१ विकेट लिए । पाकिस्तानी भेट्रान तीव्र बलर सोहेल तनवीरले ४ ओभरमा २७ रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेनन् । 

उनै रोहितले ४ विकेट लिएर चितवनलाई सानो स्कोरमा खुम्च्याउन पनि प्रमुख भूमिका खेले । उनले ४ ओभरमा १७ रनमात्र खर्चेका थिए । प्लेयर अफ द म्याच रोहितले विपिन रावल (५), तेस्रो नम्बरमा पठाइएका तनवीर (१), बोपारा (१२) र यान निकोलस लफ्टी इटन (६) को विकेट लिए । रामोन सिमोन्ड्सले ४ ओभरमा २२ रन खर्चेर २, जाफर र अभिशेष गौतमले १–१ विकेट लिए । लुक बेन्केन्स्टेनले चितवनबाट सर्वाधिक ३१ रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । कुशल १७ बल खेलेर समान १ चौका र छक्कासहित २० र सन्तोष कार्की ८ बलमा २ चौकासहित १० रन बनाएर आउट भए । रिजनले १४ बलमा १ चौका गर्दै १५ र नरबहादुर सार्कीले १२ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरी अविजित २२ रन बनाए ।

इनिङ्सको दोस्रो ओभरमै दुर्गेश गुप्ताले फिल्डिङका क्रममा चोट बोकेपछि बलिङ गरेनन् । अस्ट्रेलियन अलराउन्डर बेन कटिङले बलिङ नगरिरहेका कारण त्यसै पनि लुम्बिनीलाई स्तरीय बलर अभावले पिरोल्दै आएको छ । रोहितले बलिङ समस्याका बारेमा यसअघिको खेलपछि आफ्नो धारणा राख्दा जिस्किँदै टोलीमा जसप्रित बुमराह आवश्यक भएको सुनाएका थिए । लुम्बिनीलाई पहिलो जित दिलाएपछि राहत महसुस गर्दै रोहितले ४ विकेट लिएको प्रसङ्गमा ठट्यौली पारामा भने, ‘बुमराह मै हुँ ।’

कान्तिपुर

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully