बोसिस्टोद्वारा एनपीएलकै उत्कृष्ट बलिङ, कर्णालीलाई सानो लक्ष्य

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Best bowling in the NPL by Bosisto, a small target for Karnali

काठमाडौँ — विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकै उत्कृष्ट बलिङ गरेपछि कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध मंगलबारको दोस्रो खेल जित्न केवल १ सय ४ रनको लक्ष्य पाएको छ ।  टस जितेर ब्याटिङ रोजेको पोखरा बोसिस्टोले ६ विकेट लिएपछि १६.३ ओभरमा १ सय ३ रनमा अलआउट भयो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दिनेश खरेल र आन्द्रिज गाउसले ४ ओभर भित्र ४६ रन जोडेर पोखरालाई निकै राम्रो सुरुवात दिलाएका थिए । तर विपिन शर्माले गाउसलाई २५ रनमा आउट भएपछि पोखरा सम्हालिन सकेन । गाउसले १२ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर दिनेशले १९ बल खेली ४ चौका र १ छक्कासहित २६ रन बनाए ।

बोसिस्टोले कप्तान कुशल भुर्तेललाई १० रनमा कट एन्ड बोल्ड गरी पोखराको तेस्रो विकेट झारेर आफ्नो विकेट लिन सुरु गरेका थिए । बोसिस्टोको सानदार स्पेलपछि पोखराले २२ रनमा आफ्नो पछिल्लो सात विकेट गुमाएको थियो ।

Best bowling in the NPL by Bosisto, a small target for Karnaliबोसिस्टोले त्यसपछि म्याट क्रिच्लेलाई शून्य, दीलिप नाथलाई ३, माइकल लिसाकलाई २, नारायण जोशीलाई १, रेयमन रिफरलाई २० रनमा आउट गरे । २६ बल खेलेका रिफरले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

अस्ट्रेलियन अलराउन्डर बोसिस्टोले ६ विकेट लिने क्रममा ४ ओभरमा २८ रन खर्चेका थिए । जारी एनपीएलमा यो सवैभन्दा उत्कृष्ट बलिङ हो । यसअघि चितवन राइनोजका सोहेल तनवीर, सुदूरपश्चिम रोयल्सका नरेन साउद र जनकपुर बोल्ट्सका हर्ष ठाकरले एकै खेलमा ५–५ विकेट लिएका थिए ।

आकाश चन्द १ रन बनाई सोमपाल कामीको बलमा एलबीडब्लू आउट भए भने विपिन खत्री १० रनमा रनआउट भए । शिखर धवनबिना कर्णाली एनपीएलमा आफ्नो पहिलो खेल खेलिरहेको छ ।

धवनको स्थानमा बाबर हायत खेलिरहेका छन् । कर्णालीले यसअघिका ४ खेलमा २ मा विजय र २ मा पराजय भोगेको छ । पोखराले ३ खेलमा १ मा मात्र विजय हात पार्न सकेको छ । 

कान्तिपुर

Link copied successfully