काठमाडौँ — कप्तान रोहित पौडेलले फेरि एउटा सानदार इनिङ्स खेलेपछि पहिलो जितको खोजीमा रहेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । चितवनले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङका लागि बोलाइएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनायो ।
प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रन बनाएपछि कमजोर सुरुआत गरेको लुम्बिनीले चुनौतीपूर्ण स्कोर दिन सफल भएको हो । उनले ६ चौका र ५ छक्का प्रहार गर्दै क्यानडाका पूर्व कप्तान साद बिन जाफरसँग पाँचौं विकेटका लागि ७० बलमा १ सय १४ रनको साझेदारी गरेका थिए ।
रोहित अन्तिम २० औं ओभरको तेस्रो बलमा आउट भएका थिए । त्यसपछि आएका सन्दीप जोराले पहिलो बलमा चौका प्रहार गरे पनि अर्को दुई बलमा बिट भएका थिए । इनिङ्सको अन्तिम ओभरमा रनआउट भएका जाफरले ३५ बल खेली ४ चौका र १ छक्कासहित ५२ रन बनाए ।
रिजन ढकालले चितवनलाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । खेलको दोस्रो ओभर एवंम आफ्नो पहिलो ओभरमा देव्रेहाते तीब्र बलर उनले आशुतोष घिरोहियालाई १ र उनमुक्त चन्दलाई शुन्यमा बोल्ड गरेका थिए । अर्जुन साउद १२ बलमा १५ र टम मुर्स ५ बलमा १० रन बनाई आउट भएका थिए ।
रिजनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान कुशल मल्लले ४ ओभरमा ४२ र रन्जीत कुमारले ४ ओभरमा २६ रन खर्चेर १–१ विकेट लिए । पाकिस्तानी भेट्रान तीब्र बलर सोहेल तनवीरले ४ ओभरमा २७ रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेनन् ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी पहिलो चार खेल नै हारेर प्लेअफ पुग्ने सम्भावनाबाट लगभग बाहिरिसकेको छ । लुम्बिनीमाथि विजय हात पारे चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो हुनेछ । चितवनले ४ मध्येको ३ खेल जितेको छ ।
चितवनको टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ । दीपक बोहराको स्थानमा नरबहादुर शार्की र ओपनर हसन इसाखिलको स्थानमा लुक बेन्केन्स्टेनलाई खेलाइएको छ । राष्ट्रिय टोलीबाट खेलिसकेका तीब्र गतिका बलिङ अलराउन्डर कमलसिंह ऐरी घाइते भएपछि उनको स्थानमा ल्याइएका नरबहादुरको प्रतियोगितामा यो पहिलो खेल हो ।
सुदूरपश्चिम रोयल्समाथि चितवनले ३३ रनको विजय हात पार्दा इसाखिलले उनले ५२ बल खेली ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाएका थिए । लुम्बिनी लायन्सले अस्ट्रेलियन अलराउन्डर बेन कटिङको स्थानमा अमेरिकामा खेल्दै आएका भारतीय ब्याटर उन्मुक्त चन्दलाई खेलाएको छ ।
