काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । आइतबार टस जितेर ब्याटिङ रोजेको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ६४ रन बनायो ।
ओपनर हसन इसाखिलले चितवनबाट सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे । पहिलो पटक ओपनरको भूमिकामा पठाइएका सन्तोष कार्कीले ९ रनमात्र बनाउन सकेका थिए । विपिन रावल २० बलमा १७, कप्तान कुशल मल्ल १६ बलमा १३ रन बनाई आउट भए ।
भेट्रान इंग्लिस ब्याटर १८ बलमा समान २ चौका र छक्का प्रहार गरि ३६ रनमा आउट भए । अमरसिंह रौटेला ३ बलमा ६ र यान निकोलास लफ्टी इटन ४ बलमा २ रन बनाई अविजित रहे । सुदूरपश्चिमबाट स्कट कुग्लेनले २ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ जैबले १–१ विकेट लिए ।
सुदूरपश्चिमले पहिलो तीनै खेल जितेर एनपीएलको अंक तालिकामा दोस्रो स्थानमा छ । सुदूरपश्चिमले यस खेल जितेमा जनकपुर बोल्ट्सलाई रनरेटमा उछिन्दै शीर्ष स्थानमा पुग्नेछ । चितवनले ३ खेलमा २ जितेको छ । टोली पछिल्लो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो । चितवनले भेट्रान शरद भेषावकरको स्थानमा रन्जीत कुमार र लुक बेन्केस्टेनको स्थानमा इसाखिललाई प्लेयिङ ११ मा खेलाएको थियो ।
सुदूरपश्चिम रोयल्सले वसन्त खत्रीको स्थानमा दिलप्रित सिंहलाई खेलाएको छ । रोहन मुस्ताफा यूएई फर्किएपछि सुदूरपश्चिमले अघिल्लो खेल तीन विदेशी खेलाडीमै खेलेको थियो । एनपीएलमा एउटा टोलीले चार विदेशी खेलाडीलाई प्लेयिङ ११ मा खेलाउन पाउने प्रावधान छ ।
