भारतीय स्टार ब्याटर शिखर धवनलाई एनपीएलमा आउट गर्ने पहिलो नेपाली खेलाडी बनेका प्रतिशले अन्तिम ओभरमा कुनै रन नदिई ३ विकेट लिए
काठमाडौँ — प्रतिश जीसीले सनसनीपूर्ण अन्तिम ओभर फालेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबारको दोस्रो खेलमा कर्णाली याक्सलाई १ सय ३३ रनमा अलआउट गरेको छ । प्रतिशले अन्तिम ओभरमा बिना कुनै रन खर्ची ३ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको कर्णाली पुरा २० ओभर खेली अलआउट भएको हो ।
प्रतिशले अन्तिम ओभरमा जिसन मक्सुदलाई २ तथा नन्दन यादव र विपिन शर्मालाई शुन्यमा आउट गरेका थिए भने युनिस ठकुरी रन आउट भएका थिए । प्रतिश भारतीय स्टार ब्याटर शिखर धवनलाई एनपीएलमा आउट गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका थिए । उनले धवनलाई ५ रनमा बोल्ड गरेका थिए ।
प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलिरहेका धवनले काठमान्डु गुर्खाजविरुद्ध अविजित अर्धशतक बनाएका थिए भने अन्य दुई खेलमा विदेशी खेलाडीबाट आउट भएका थिए । कर्णालीका अर्का विदेशी खेलाडी चाडविक वाल्टन १ रनमा क्रिस सोलले आउट गरेका थिए ।
विलियम बोसिस्टो र देव खनालले तेस्रो विकेटमा ७९ बलमा १ सय २ रनको साझेदारी गरेपछि कर्णालीको खेल सुधारिएको थियो । कर्णाली यहा“ सम्म पुग्नुमा विराटनगर आफै दोशि थियो । प्रतिस जिसीको बलमा सुवास भण्डारीले देवको क्याच छाड्न पुगेका थिए, जति खेर देव ७ बलमा २ रन बनाएर खेलिरहेका थिए ।
देवले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४८ बलमा ५३ रन बोसिस्टोले ४९ बलमा ६६ रन बनाए । देवले ४ चौका र २ छक्का तथा १९ औं ओभरमा आउट भएका बोसिस्टोले ५ चौका र ३ छक्का प्रहार गरे । बसिर अहमदले लगातार बलमा देव र गुलशन झा (०) लाई आउट गरेका थिए ।
अकिब इल्यासले अर्जुन घर्तीलाई १ रनमा आउट गरे । कर्णालीले अन्तिमम ५ विकेट कुनै रन नजोडि गुमाएको थियो । कणौली र विराटनगर दुबै टोलीले पहिलो ३ खेलमा १ मा मात्र विजय हात पार्न सकेका छन् ।
