काठमाडौँ — आन्द्रिज गाउसले शतक बनाउदै दिनेश खरेलसँग कीर्तिमानी साझेदारी गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । गाउस र दिनेशले पहिलो विकेटमा १ सय ७६ रनको साझेदारीपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्यो ।

गाउसले १ सय ४ रन बनाएपछि पोखराले १ सय ७१ रनको लक्ष्य १६.५ ओभरमा १ सय ७६ रन बनाउँदै पूरा गर्यो । उनी एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । एनपीएलमा यो सबैभन्दा ठूलो साझेदारी पनि हो ।
गाउसले ५५ बल खेली १२ चौका र ५ छक्का प्रहार गरे । उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २० बलमा अर्धशतक र ५४ बलमा आफ्नो शतक पूरा गरेका थिए । दिनेशले ४६ बलमा अविजित ६१ रन बनाए । उनले स्कोर बराबरी भएको समयमा सूर्य तामाङको बलमा छक्का प्रहार गरेका थिए । दिनेशले समान ४ चौका र छक्का प्रहार गरे ।
तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर
पहिलो दुई खेल हारेको पोखराले तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो । लुम्बिनी लगातार दोस्रो खेलमा पराजित भएको हो । यस प्रतियोगितामा एउटै खेल नजित्ने टोली लुम्बिनी मात्रै हो । यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन बनाए । इनिङ्सको अन्तिम बलमा विवेक यादवले २ रन पूरा गरिसकेपछि तेस्रो रन लिन दौडिँदा रोहित रन आउट भए ।
नेपाली राष्ट्रिय टोलीको पनि कप्तान रहेका रोहितले १० चौका र ४ छक्का प्रहार गरे । रोहित र टर्म मुर्सले ७७ बलमा १ सय १० रनको साझेदारी गरे । १९औं ओभरको अन्तिम बलमा रनआउट भएका मुर्सले ३८ बल खेली समान २ चौका र छक्का प्रहार गरे ।
लुम्बिनीका ओपनिङ जोडि आशुतोष घिरोहिया र उनमुक्त चन्द दुवै शून्यमा आउट भए । दुवैलाई विपिन खत्रीलाई आउट गरे । सन्दीप जोराले १५ बलमा १८ रन बनाए । नयाँ बल लिएर आएका विपिनले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अर्को विकेट म्याट क्रिच्लेले लिए ।
