काठमाडौँ — रोहित पौडेलको सानदार ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७० रन बनाएको हो ।
रोहितले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ५९ बलमा ९५ रन बनाए । जारी प्रतियोगितामा यो व्यक्तिगत उच्च स्कोर हो । प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले विराटनगर किंग्सविरुद्ध अविजित ७५ रन बनाएका थिए । इनिङ्सको अन्तिम बलमा विवेक यादवले २ रन पूरा गरिसकेपछि तेस्रो रन लिन दौडिँदा कप्तान रोहित रन आउट भएका थिए ।
नेपाली राष्ट्रिय टोलीको पनि कप्तान रहेका रोहितले १० चौका र ४ छक्का प्रहार गरे । रोहित र टर्म मुर्सले ७७ बलमा १ सय १० रनको साझेदारी गरे । १९ औं ओभरको अन्तिम बलमा रनआउट भएका मुर्सले ३८ बल खेलि समान २ चौका र छक्का प्रहार गरे ।
लुम्बिनीका ओपनिङ जोडि आशुतोष घिरोहिया र उनमुक्त चन्द दुवै शून्यमा आउट भए । दुवैलाई विपिन खत्रीलाई आउट गरे । सन्दीप जोराले १५ बलमा १८ रन बनाए । नयाँ बल लिएर आएका विपिनले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अर्को विकेट म्याट क्रिच्लेले लिए ।
