एनपीएल : सुदूरपश्चिमको रोयल शैली, उक्लियो शीर्षमा

मंसिर २२, २०८१

विनोद पाण्डे

NPL: Royal style of the Far West, ascended to the top

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जितलाई निरन्तर दिनेक्रममा लुम्बिनी लायन्सविरुद्धको एकतर्फी खेलमा ४५ रनको जित हात पारेको छ । १ सय ८८ रनको लक्ष्य लिएर आएको लुम्बिनीलाई सुदूरपश्चिमले २० ओभरमा १४२–९ को स्कोरमा रोकेर ४५ रनको जित हात पारेको थियो ।

सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । लगातार तीन खेल जितेको जनकपुर बोल्ट्सलाई उछिन्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ । त्यसको विपरीत नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले लगातार तेस्रो खेलमा हार व्यहोरेको हो ।

स्कट कुग्लेनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा इनिङ्सको पहिलो बलमै अर्जुन साउदलाई एलबीडब्लु आउट गरेपछि लुम्बिनी सम्हालिन सकेन् । न्युजिल्यान्डका तीब्र बलर उनले अर्का ओनपर उनमुक्त चन्दलाई पनि ४ रनमा एलबीडब्लु आउट गरे ।

अर्का विदेशी बलर स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले कप्तान रोहित पौडेले (५), टम मुर्स (७) र साद बिन जाफर (०) लाई आउट गरेपछि लुम्बिनी ५ ओभर भित्र १९–५ को स्थितिमा पुगेको थियो । सन्दीप जोराले २६ बल खेली १ छक्कासहित २० रन बनाए । दीनेश अधिकारी १४, रामोन सिमान्ड्स शून्य र सूर्य तामाङ ७ रनमा आउट भए ।

विवेक यादव ७७ रन बनाई अविजित रहे । ५४ बल खेलेका उनले ३ चौका र ७ छक्का प्रहार गरे । लुम्बिनीबाट सैफ जैब र म्याकमुलेनले ३–३ विकेट लिए । जैबले ४ ओभरमा ३३ र म्याकमुलेनले ४ ओभरमा २१ रन खर्चेका थिए । कुग्लेनले ४ ओभरमा १९ रन खर्चेर २ र अविनाश बोहराले १ विकेट लिए ।

यसअघि ओपनर जैबले बिहानको कठिन कन्डिसनमा पनि सानदार ब्याटिङ गर्दै ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभर खेलि ४ विकेट गुमाई १ सय ८७ रन बनाएको थियो ।

इंग्लिस ब्याटर जैबले ६१ बल खेली ६ चौका र ५ छक्का प्रहार गरे । १८ औं ओभरमा आउट भएका उनले विनोद भण्डारीसँग पहिलो विकेटमा ६.३ ओभरमा ४९, दोस्रो विकेटमा म्याकमुलनेसँग ४३ बलमा ५७ र कप्तान दीपेन्द्रसिंह ऐरीसँग २४ बलमा ५३ रनको साझेदारी गरेका थिए ।

विनोदले १३ बल खेलि २ चौकासहित १७, म्याकमुलेनले २० बल खेलि समान १ चौका र छक्कासहित २३ रन बनाए । दीपेन्द्र १९ बल खेली ४ चौका र २ छक्का प्रहार गरि ३९ रनमा अविजित रहे । आरिफ शेख आफुले सामना गरेको पहिलो बलमै आउट भए । लुम्बिनीबाट सिमोन्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ तथा रोहित र विवेकले १–१ विकेट लिए । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully