एनपीएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सानदार ब्याटिङ

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

NPL: Far West batting brilliantly against Lumbini

काठमाडौँ — सैफ जैबले बिहानको कठिन कन्डिसनमा पनि सानदार ब्याटिङ गर्दै ९० रन बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ ।

लुम्बिनीले शनिबार टस जितेपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर जैबको प्रयासमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ४ विकेट गुमाई १ सय ८७ रन बनाएको हो ।

इंग्लिस ब्याटर जैबले ६१ बल खेली ६ चौका र ५ छक्का प्रहार गरे । १८ औं ओभरमा आउट भएका उनले विनोद भण्डारीसँग पहिलो विकेटमा ६.३ ओभरमा ४९, दोस्रो विकेटमा ब्रान्डन म्याकमुलनेसँग ४३ बलमा ५७ र कप्तान दीपेन्द्रसिंह ऐरीसँग २४ बलमा ५३ रनको साझेदारी गरेका थिए ।

विनोदले १३ बल खेलि २ चौकासहित १७, म्याकमुलेनले २० बल खेलि समान १ चौका र छक्कासहित २३ रन बनाए । दीपेन्द्र १९ बल खेली ४ चौका र २ छक्का प्रहार गरि ३९ रनमा अविजित रहे । आरिफ शेख आफूले सामना गरेको पहिलो बलमै आउट भए । लुम्बिनीबाट रामोन सिमोन्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ तथा कप्तान रोहित पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

लुम्बिनीले आशुतोष घिरोहियाको स्थानमा अजुर्न साउदलाई आफ्नो प्लेयिङ ११ मा खेलाएको छ । एनपीएलमा एउटा टोलीले चार विदेशी खेलाडीलाई खेलाउने पाउने प्रावधान रहे पनि सुदूरपश्चिमले लुम्बिनीविरुद्ध तीन विदेशी खेलाडीमात्र खेलाइरहेको छ । टोलीले रोहन मुस्ताफाको स्थानमा वसन्त खत्रीलाई खेलाएको छ । टोलीबाट विदेशी खेलाडीको रुपमा ब्रान्डन म्याकमुलेन, सैफ जैब र स्कट कुग्लेन खेलिरहेका छन् ।

सुदूरपश्चिमले पहिलो दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेको छ । लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully