काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट एक दिनको विश्रामपछि मंगलबार पुनः सुरु हुँदा लुम्बिनी लायन्ससामु जितको ढोका खोल्ने अवसर हुनेछ ।
लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजको सामना गर्नेछ । दिनको दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी सुरुको आफ्नो चार खेलमै पराजित भइसकेको छ । प्लेअफको समीकरणबाट लगभग बाहिरिइसकेको छ । स्तरीय बलरको अभावमा पिरोलिएको लुम्बिनी पहिलो खेलमा १ सय ९१ रन बनाएर पनि विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो ।
त्यसयता टोलीको हारको क्रम रोकिएको छैन । प्रतियोगिता सुरुअघि बलियो दाबेदार मानिएको टोलीले पोखरा एभेन्जर्ससँग १० विकेट, सुदूरपश्चिमसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १ रनको हार बेहोरेको थियो । लुम्बिनीको प्रतिद्वन्द्वी चितवनले भने ४ मध्ये ३ खेल जितिसकेको छ । प्रतियोगिताअघि सबैभन्दा कमजोर टोलीको रूपमा हेरिएको चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेट, पोखरालाई ८७ रन र दाबेदार सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो । लुम्बिनीलाई पराजित गरेमा चितवनको प्लेअफमा पुग्ने सम्भावना बलियो बन्ने छ भने हारले लुम्बिनी औपचारिक रूपमै प्रतियोगिताबाट बाहिरिने छ ।
यता भारतीय स्टार ब्याटर शिखर धवनविना कर्णाली एनपीएलमा आफ्नो पहिलो खेल खेल्नेछ । पहिलो दुई खेल हारेको कर्णालीले पछिल्ला २ खेल जितेको छ । सम्झौताअनुरुप पहिलो चार खेल खेलेर धवन भारत फर्किसकेका छन् । धवनले कर्णालीबाट सर्वाधिक १ सय ३६ रन बनाएका थिए । कर्णालीका अन्य कुनै ब्याटरले १ सय रन बनाएका छैनन् । देव खनालले ७९ रन बनाई कर्णालीबाट सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा छन् ।
पहिलो दुई खेलमा कमजोर ब्याटिङ गरेर पराजय भोगेको पोखराले लुम्बिनीमाथि १० विकेटको विजय हात पार्दा १ सय ७६ रन बनाएको थियो । प्लेअफमा पुग्न पोखरालाई कर्णालीविरुद्धको खेल जित्नु अनिवार्यजस्तै छ ।
