चितवनविरुद्ध लुम्बिनीको ब्याटिङ

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Lumbini batting against Chitwan

काठमाडौँ — पहिलो जितको खोजीमा रहेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि लुम्बिनीलाई ब्याटिङका लागि बोलाएको हो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलका नेतृत्वमा रहेको लुम्बिनी पहिलो चार खेल नै हारेर प्लेअफ पुग्ने सम्भावनाबाट लगभग बाहिरिसकेको छ । लुम्बिनीमाथि विजय हात पारे चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो हुनेछ । चितवनले ४ मध्येको ३ खेल जितेको छ ।

चितवनको टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ । दीपक बोहराको स्थानमा नरबहादुर शार्की र ओपनर हसन इसाखिलको स्थानमा लुक बेन्केन्स्टेनलाई खेलाइएको छ । राष्ट्रिय टोलीबाट खेलिसकेका तीब्र गतिका बलिङ अलराउन्डर कमलसिंह ऐरी घाइते भएपछि उनको स्थानमा ल्याइएका नरबहादुरको प्रतियोगितामा यो पहिलो खेल हो ।

सुदुरपश्चिम रोयल्समाथि चितवनले ३३ रनको विजय हात पार्दा इसाखिलले उनले ५२ बल खेली ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाएका थिए । उनी अफगानिस्तानका पूर्व कप्तान मोहम्मद नाबीका छोरा हुन् ।

लुम्बिनी लायन्सले अस्ट्रेलियन अलराउन्डर बेन कटिङको स्थानमा अमेरिकामा खेल्दै आएका भारतीय ब्याटर उनमुक्त चन्दलाई खेलाएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully