६ विकेट लिएर चम्किए बोसिस्टो

यू–१९ विश्वकपमा एउटा ब्याटरका रूपमा खेलेका बोसिस्टोले मंगलबार ६ विकेट लिई उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि कर्णाली याक्सद्वारा पोखरा एभेन्जर्स पराजित

मंसिर २६, २०८१

विनोद पाण्डे

काठमाडौँ — अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो पहिलो पटक नेपाल आएका हुन् । उनी कर्णाली याक्सबाट एनपीएलमा खेलिरहेका छन् । तर, उनको नेपालसँगको सम्बन्ध १२ वर्षयताकै हो । सन् २०१२ मा अस्ट्रेलियामै भएको आईसीसी यू–१९ विश्वकप उनकै नेतृत्वमा अस्ट्रेलियाले खेलेको थियो । 

टाउन्सभिलमा अस्ट्रेलिया र नेपालबीच समूह चरणमा भेट भएको थियो । बोसिस्टोले आठौं नम्बरमा ब्याटिङ गर्दै ५ बलमा अविजित ७ रन बनाएका थिए । अस्ट्रेलियाले २९४–७ को बलियो स्कोर बनायो । जबाफमा नेपाल २४ ओभरभित्र ८२ रनमै अलआउट भएको थियो । नेपाली यू–१९ टोलीबाट खेलेका देव्रेहाते स्पिनर भुवन कार्की अहिले कर्णालीकै टोलीमा रहेका छन् । 

यू–१९ विश्वकपमा एउटा ब्याटरको रूपमा खेलेका बोसिस्टोले मंगलबार ६ विकेट लिई एनपीएलकै उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि कर्णालीले पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो । बोसिस्टोले ६ विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमै अलआउट भयो । कर्णालीले १५ ओभरमै १ सय ६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । पहिलो दुई खेल हारेको कर्णालीले लगातार तीन खेल जितेर प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । उनी आएयता कर्णालीले सबै ३ खेल जितेको छ । 

‘एउटा देव्रे हाते स्पिनरले म यहाँ आएपछि यू–१९ विश्वकप खेलेको प्रसङ्ग सम्झाएको थियो । त्यतिखेर खेलेको मलाई धेरै सम्झना छैन । नेपाललाई सानो स्कोरमा आउट गरेका थियौं जस्तो लाग्छ । त्यही विश्वकप खेलेका उन्मुक्त चन्द पनि खेलिरहेका छन् । १२ वर्षपछि पनि हामी एकअर्काको प्रतिद्वन्द्वी भएर खेलिरहँदा मज्जा आइरहेको छ,’ बोसिस्टोले विगत स्मरण गर्दै भने । बोसिस्टो आएयता उनै भुवन कार्की बेन्चमा बस्दै आएका छन् । 

अस्ट्रेलियाविरुद्ध यू–१९ विश्वकप फाइनलमा अविजित १ सय ११ रन बनाउँदै भारतलाई ६ विकेटको विजय दिलाएका कप्तान उन्मुक्त लुम्बिनीबाट खेलिरहेका छन् । त्यतिबेला बोसिस्टो २ सय ७६ रन बनाउँदै प्लेयर अफ द सिरिजमा चुनिएका थिए । 

मंगलबार कीर्तिपुरमा दिनेश खरेल र आन्द्रिज गाउसले ४ ओभरभित्र ४६ रन जोडेर पोखरालाई निकै राम्रो सुरुआत दिलाए । तर विपिन शर्माले गाउसलाई २५ रनमा आउट गरेपछि पोखरा सम्हालिन सकेन । गाउसले १२ बल खेल्दा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर दिनेशले १९ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए ।

बोसिस्टोले कप्तान कुशल भुर्तेललाई १० रनमा कट एन्ड बोल्ड गरी पोखराको तेस्रो विकेट झारेर आफ्नो विकेट लिन सुरु गरेका थिए । बोसिस्टोको सानदार स्पेलपछि पोखराले २२ रनमा आफ्नो पछिल्लो ७ विकेट गुमायो । बोसिस्टोले त्यसपछि म्याट क्रिच्लेलाई शून्य, दिलीप नाथलाई ३, माइकल लिसाकलाई २, नारायण जोशीलाई १, रेयमन रिफरलाई २० रनमा आउट गरे । २६ बल खेलेका रिफरले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

‘स्पिन बलिङका लागि विकेट कठिन थियो र हाम्रो बलिङ युनिटले नै त्यहीअनुरुप बलिङ गरेको थियो । विकेटमा सिधा–सिधा बलिङ गरेर एलबीडब्लू आउट गराउने योजना बनाएका थियौं,’ बोसिस्टोले आफ्नो टोलीको रणनीति सुनाए । बोसिस्टोले ६ विकेट लिनेक्रममा ४ ओभरमा २८ रनमात्र खर्चे । एनपीएलमा यो सवैभन्दा उत्कृष्ट बलिङ हो । यसअघि चितवन राइनोजका सोहेल तनवीर, सुदूरपश्चिम रोयल्सका नरेन साउद र जनकपुर बोल्ट्सका हर्ष ठाकरले एकै खेलमा ५–५ विकेट लिएका थिए ।

आकाश चन्द १ रन बनाई सोमपाल कामीको बलमा एलबीडब्लू आउट भए भने विपिन खत्री १० रनमा रनआउट भए । भारतीय स्टार शिखर धवनविना कर्णालीको एनपीएलमा यो पहिलो खेल थियो । धवनको स्थानमा खेलेका बाबर हायतले कुनै प्रभाव पार्न सकेनन् । 

कर्णालीको पनि सुरुआत राम्रो हुन सकेन । विपिन खत्रीले पहिलो ओभरमै देव खनाललाई शून्यमा एलबीडब्लू आउट गरे । अर्का देव्रेहाते स्पिनर सागर ढकालले बाबरलाई ७ रनमा बोल्ड गरे । चाडविक वाल्टन र गुलशन झाले त्यसपछि तेस्रो विकेटमा ६० रनको साझेदारी गर्दा कर्णाली विजयतिर लम्किएको थियो । जमैकन ब्याटर वाल्टनले ३४ बल खेल्दा ६ चौका र १ छक्कासहित ४२ रन बनाए ।

गुलशनले अविजित ४९ रन बनाए । उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । गुलशनले विजयी रन छक्का प्रहार गर्दै बटुलेका थिए । सागर ढकालको १४ औं ओभरमा कर्णालीले २१ रन जोडेको थियो, जसमा गुलशनले २ छक्का र १ चौकासहित २० रन जोडेका थिए । सागरले पहिलो ३ ओभरमा ३ रनमात्र दिएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully