एनपीएल : मुस्ताफा ल्यान्ड भए तर सुदूरपश्चिमको टोलीमा ३ विदेशी खेलाडीमात्र

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

NPL: Mustafa landed but only 3 foreign players in Far West team

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिला ब्याटिङ गर्ने भएको छ । विराटनगर किंग्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमलाई पहिला ब्याटिङका लागि बोलाएको हो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमबाट विनोद भण्डारी, अमित श्रेष्ठ, इशान पाण्डे, आरिफ शेख, नरेश बुढाऐर, अविनाश बोहरा, वसन्त खत्री, सैफ जैब, स्कट कुगेलेइन र ब्रान्डन म्याकमुलेन प्लेयिङ ११ बाट खेलिरहेका छन् । वसन्त ट्यालेन्ट हन्टबाट आएका खेलाडी हुन् ।

एनपीएलको नियामावलीमा चारजना विदेशी खेलाडी अनिवार्य भने पनि सुदूरपश्चिमले ३ जनामात्र विदेशीलाई मैदानमा ओरालेको छ । सुदूरपश्चिमको चौथो विदेशी खेलाडीको रुपमा रहेका रोहन मुस्ताफा टस अघिसम्म कीर्तिपुर मैदानमा आइपुगेका थिएनन् । सुदूरपश्चिमले फ्लाइट ढिलो भएको कारण मुस्ताफा खेल्न नसक्ने भएको ‘विशेष कारण’ आयोजकलाई दिएको बताइएको छ । मुस्ताफा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे पनि मैदान पुगिसकेका छैनन् ।

सुदूरपश्चिमको यो पहिलो खेल हो । विराटनगर आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । विराटनगरले जनकपुरसँगको खेलबाट अकिब इल्यासको स्थानमा इस्मात आलम र जितेन्द्र मुखियाको स्थानमा दीपक बोहरालाई खेलाएको छ । 

कान्तिपुर

Link copied successfully