काठमान्डु गुर्खाजविरुद्ध सोहेल तनवीरको सानदार बलिङ

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Brilliant bowling by Sohail Tanveer against Kathmandu Gurkhaz

काठमाडौँ — सोहेल तनवीरले ५ विकेटको मद्दतमा चितवन राइनोजले दिनको पहिलो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले हरायो । तनवीरको धारिलो बलिङपछि १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमै १ सय १४ रन बनाएर पार गरेको हो ।

सन्तोष कार्की र शरद भेषावकरले छैटौं विकेटमा ४३ रनको अविजित साझेदारी गरे । सन्तोषले इनिङ्सकै सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र १ छक्का तथा शरदले २१ बलमा ११ रन बनाए ।

चितवनबाट हसन एसाखिल १२, दीपक बोहरा ७, कप्तान कुशल मल्ल र रवि बोपारा समान ११ रनमा आउट भए । लुक बेनकेन्स्टेनले १७ बल खेल्दै १ चौका र २ छक्कासहित २२ रन बनाए । गुर्खाजका शाहब आलमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जेहराड इरसमस र ड्यान डाउथवेटले १–१ विकेट लिए ।

यसअघि तनवीरको ५ विकेटमा टस हारेर ब्याटिङमा आएको गुर्खाजले ९ विकेट गुमाई १ सय ११ रनमात्र बनाउन सकेको थियो । तनवीरले आफ्नो पहिलो ३ ओभरको स्पेलमा स्टेफन इस्किनाजी, माइकल लेभिट र भीम सार्कीलाई आउट गरेका थिए । आफ्नो चौथो ओभरमा गुर्खाजका कप्तान करण केसी र शाहबलाई समान १ रनमा आउट गरेका तनवीरले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए । गुर्खाजको सुरुआत राम्रो थिएन । इंग्लिस ओपनर इस्किनाजी २ रनमै आउट भए । अर्का ओपनर लेभिटले ४ चौका र १ छक्कासहित २५ रन बनाए । कुशलले इरसमसलाई ४ रनमा बोल्ड गरे । भीम १ रनमात्र बनाई तनवीरको बलमा एलबीडब्लु आउट भए ।

शंकर रानाले १७ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरी १६ र रशिद खानले ४ रन बनाए । सुमित महर्जनले गुर्खाजबाट सर्वाधिक २९ रन बनाए । ४१ बल खेल्दै १ चौका प्रहार गरेका उनी १८ औं ओभरमा आउट भए । ड्यान डाउथवेट १८ बलमा २ चौका प्रहार गरी १९ र र दीपेश कँडेल १ रनमा अविजित रहे । चितवनका रिजन ढकाल, कुशल, अमरसिंह राउटेला र बेनकेन्स्टेनले १–१ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully