एनपीएल : तान्भिरको सानदार बलिङमा गुर्खाजको मध्यम लक्ष्य

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

NPL : Medium target by Gurkhaz off Tanvir's decent bowling

काठमाडौँ — चितवन राइनोजका सोहेल तान्भिरको ५ विकेटपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा १ सय ११ रनको मात्र लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा आएको गुर्खाजले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार ९ विकेट गुमाई १ सय ११ रनमात्र बनाउन सक्यो ।

पाकिस्तानी देब्रेहाते तीब्र बलर सोहेल तान्भिरले आफ्नो पहिलो ३ ओभरको स्पेलमा स्टेफन इस्किनाजी, माइकल लेभिट र भिम सार्कीलाई आउट गरी गुर्खाजलाई दबाबमा राखेका थिए । उनले आफ्नो चौथो ओभरमा गुर्खाजका कप्तान करण केसी र शाहव आलमलाई समान १ रनमा आउट गरेका थिए । तान्भिरले ४ ओभरमा २१ रनमात्र खर्चेर ५ विकेट लिएका हुन् ।

गुर्खाजको सुरुआत राम्रो थिएन । इंग्लिस ओपनर इस्किनाजी २ रनमै आउट भए । अर्का ओपनर लेभिटले ४ चौका र १ छक्कासहित २५ रन बनाए । राइनोजका कप्तान कुशल मल्लले जेहरार्ड इरसमसलाई ४ रनमा बोल्ड गरे । भिम सार्की १ रनमात्र बनाई तान्भिरको बलमा एलबीडब्लु आउट भए ।

शंकर रानाले १७ बल खेली समान १ चौका र छक्का प्रहार गरि १६ रन बनाए । रशिद खानले पनि ४ रनमात्र बनाउन सके । सुमित महर्जनले गुर्खाजबाट सर्वाधिक २९ रन बनाए । ४१ बल खेली १ चौका प्रहार गरेका उनी १८ औं ओभरमा आउट भए । ड्यान डाउथवेट १८ बलमा २ चौका प्रहार गरि १९ र र दीपेश कँडेल १ रनमा अविजित रहे । चितवनका रिजन ढकाल, कुशल, अमरसिंह राउटेल लुक बेनकेन्स्टेनले १–१ विकेट लिए ।

कान्तिपुर

Link copied successfully