दर्शकदीर्घामा बसेर क्रिकेट हेर्न पाइयोस्, आफूहरूलाई टिकट उपलब्ध गराइयोस् भनेर हुटिङ गर्ने दर्शक नेपालबाहेक अन्य मुलुकमा सायदै छैनन् ।
क्रिकेटको नेपाली महाकुम्भ शनिबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा १२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको प्रतिस्पर्धासँगै नेपाल प्रिमियर लिग (एनपीएल) को औपचारिक आरम्भ भएको हो ।
लिग पुस ६ गतेसम्म चल्नेछ । नेपालमा यसअघि धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग भइसकेको भए पनि एनपीएल अहिलेसम्मकै सबैभन्दा ठूलो लिग हो ।
दर्शकदेखि खेलाडीसम्मको सहभागिता, टिम निर्माणमा गरिएको मिहिनेत, भौतिक तथा प्राविधिक तयारीलगायतका विषयले पाएको चर्चाको घनत्व पनि विशिष्ट छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो पूर्ण स्वामित्वमा आयोजना गरिरहेको यस लिगले नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान पुर्याउने निश्चित छ ।
एनपीएलमा आठवटा फ्रेन्चाइज टिम विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज्, चितवन राइनोज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स सहभागी छन् । यी टिममा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू र अन्य स्थापित तथा नवप्रतिभाको उपस्थिति छ ।
साथसाथै, नाम चलेका विदेशी खेलाडीहरू जस्तै न्युजिल्यान्डका मार्टिन गप्टिल, जिम्मी निसम र स्कट कुगेलेइज्न, भारतका शिखर धवन, इंग्ल्यान्डका स्टेफन इस्किनाजी, अस्ट्रेलियाका बेन कटिङलगायत ४० जनाले एनपीएल खेल्नेछन् । २२ दिनसम्म यस लिगले नेपाली खेल जगत्लाई क्रिकेटमय बनाउनेछ । यस क्रममा नेपाली खेलाडीले कैयौं विदेशी खेलाडीसँग खेल्न पाउनेछन् ।
जसले उनीहरूलाई आफ्नो प्रतिभा तिखार्न सहयोग पुर्याउनेछ । प्रतिष्ठित खेल च्यानल ‘स्टार स्पोर्टस्’ बाट भइरहेको प्रत्यक्ष प्रसारणका कारण पनि नेपाली खेलाडीको प्रतिभा विश्वका अन्य खेलाडी र व्यवस्थापकको नजरमा पर्ने विश्वास गर्न सकिन्छ । जसकारण यस लिगमा अभिव्यक्त हुने क्षमताबाट नेपाली खेलाडीको क्षमताको ‘एक्सपोजर’ हुने र बाह्य लिगमा पनि खेल्ने अवसर सिर्जना हुन सक्छ ।
एनपीएलका लागि बाह्य खेलाडीको आगमन, खेलसँग सम्बन्धित अन्य सरोकारवालाहरूको चहलपहल, उनीहरूले नेपाल र एनपीएललाई जोडेर दिने अभिव्यक्ति र सामाजिक सञ्जालमा गर्ने पोस्टलगायतका कारणले तत्काल र दीर्घकालको पर्यटन विकासका लागि पनि योगदान पुग्नेछ ।
एनपीएलको प्रायोजन, विभिन्न टिमको प्रायोजन, खेलाडीहरूका लागि हुने लगानी, उनीहरूको व्यवस्थापन, विभिन्न माध्यममा हुने विज्ञापन जस्ता कारणले यहाँको अर्थतन्त्र एक हदसम्म चलायमान हुने अपेक्षा गर्न सकिन्छ । खेलाडीहरूलाई खेलेरै आर्थिक पक्ष सबल गराउन सकिन्छ भन्ने आत्मविश्वास सिर्जना गर्नेछ नै, खेलबाहेकका क्षेत्रलाई पनि तरंगित गराउनेछ । यसक्रममा नयाँनयाँ रोजगारी सिर्जना हुनेछन् ।
त्यसकारण एनपीएलको महत्त्व क्रिकेटको दीर्घकालीन विकासमा मात्रै सीमित छैन, त्यसभन्दा बृहत् छ । त्यसकारण एनपीएललाई क्रिकेट संस्कृतिलाई थप उन्नत बनाउन, नवप्रतिभाको पहिचान गर्न, उनीहरूको अवसर सिर्जना गर्ने जस्ता पाटोमा मात्रै खुम्च्याउन जरुरी छैन । बरु आर्थिक चहलपहल, पर्यटकीय सम्भावना, निष्पक्ष भूमिका रूपमा अन्य देशबीच भविष्यमा खेल गराउन सक्ने गरी भौतिक पूर्वाधारदेखि सुरक्षाको सुनिश्चितता विकास गर्ने अनुभव लिने अवसरका रूपमा पनि सदुपयोग गर्न सक्नुपर्छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको उद्घाटन खेलमा दर्शकको उपस्थिति उल्लेखनीय थियो । त्यस क्षेत्रको वातावरण नै उत्सवमय थियो । मंसिर १० गते राति ८ बजेबाट क्यानले टिकट खुला गरेको तर १२ गते नै ‘सोल्ड आउट’ भएको पृष्ठभूमिले पनि दर्शकको प्रतीक्षा र चासोलाई पुष्टि गर्छ । यसअघि पनि त्रिवि मैदानमा भएका खेलमा नेपाली दर्शकको उत्साहजनक उपस्थिति हुने गरेको थियो ।
जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत लेन्समा परेका थिए । नेपाली दर्शकको यस खालको ‘क्रेज’ को पुँजीकृत गर्न नसकिएको भन्दै आलोचना हुने गरेको छ । एनपीएलको सफल आयोजना र यसपछि परिवर्तन हुन सक्ने खेल वातावरणले आलोचना गर्नु नपर्ने ठाउँमा पुर्याउन सक्छ । नेपालमा ठूला क्रिकेट स्टेडियमको आवश्यकता छ । यसलाई तीनै तहका सरकार तथा निजी क्षेत्रले पनि बुझ्नुपर्छ ।
आ–आफ्नो ढंगले वा एक्लाएक्लै सातै प्रदेशमा कम्तीमा एक–एकवटा सुविधासम्पन्न क्रिकेट स्टेडियम स्थापना गर्ने हो भने क्रिकेटको समृद्धि र स्टेडियममा गरिएको लगानीबाट नाफा प्राप्त हुने निश्चित जस्तै देखिन्छ । एनपीएलको पहिलो संस्करणमै देखिएको व्यापारिक संलग्नता सकारात्मक पक्ष हो ।
यो संलग्नता अझ विस्तार हुँदै गएर आयोजक र फ्रेन्चाइजहरूलाई भविष्यमा आर्थिक रूपमा फलदायी र सबल हुने स्थिति निर्माण हुन सक्छ । देशभित्रका क्रिकेटप्रेमीको प्रत्यक्ष संलग्नता र उत्साह बलियो बन्यो र बाह्य मुलुकमा पनि एनपीएलको चर्चा र चासो बढ्यो भने एनपीएलको व्यावसायिक सम्भावना झन् बलियो बन्नेछ ।
देशभित्र क्रिकेटको क्रेज अतुलनीय छ । टिकट बिक्रीको तीव्रता र त्रिवि मैदान परिसरमा देखिएको भीडले पनि दर्शकको हुटहुटीलाई पुष्टि गर्छ । दर्शकदीर्घामा बसेर क्रिकेट हेर्न पाइयोस्, आफूहरूलाई टिकट उपलब्ध गराइयोस् भनेर हुटिङ गर्ने दर्शक नेपालबाहेक अन्य मुलुकमा सायदै छैनन् ।
यसरी प्रत्यक्ष उपस्थित भएर वा प्रविधिमार्फत खेल हेर्ने संख्या र सामाजिक सञ्जालमा यसबारे भएका चर्चाले एनपीएलको निरन्तरताको आधार प्रदान गर्छ । यतिबेला क्यानलाई शुभकामना व्यक्त गर्नु, लिगको सफलताको कामना गर्नु र दीर्घकालीन आयोजनाको सुनिश्चितताप्रति शुभेच्छा व्यक्त गर्नु वाञ्छनीय हुन्छ ।
