काठमाडौँ — भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ । कप्तान सोमपाल कामीले टस जितेपछि ब्याटिङमा आएको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले ७ विकेट गुमाई १ सय ४१ रन बनायो ।
अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रन जोड्दै कर्णालीले हेर्नलायक स्कोर बनाएको थियो । १९ औं ओभरमा हर्ष ठाकेरलाई २ छक्का र २ चौका प्रहार गरेका अर्जुन अन्तिम ओभरमा ३३ रनमा रनआउट भए । उनले २२ बल खेलेका थिए । अन्तिम ओभरमा २१ रन प्रहार गरेका सोमपाल १३ बलमा ३ चौका र १ छक्का प्रहार गरि १९ रनमा अविजित भए ।
देव खनाल र धवन ओपनिङ जोडिको रुपमा आएका थिए । देवलाई १ रनमा ललित राजवंशीले बोल्ड गरिदिए । धवनले ३ चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाए । क्यानेडियन खेलाडी हर्ष ठाकरले धवनको अफ स्टम्प उडाइदिए ।
मोहम्मद मोहसिनले चाडविक वाल्टनलाई ८ र बाबर हायतलाई १२ रनमा आउट गरे । २५ बल खेलेका हायतले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । हायत अघि न्युल्यिान्डका अलराउन्डर जिम्मी निशमले जेशन मक्सुदलाई शुन्य रना बोल्ड गरेका थिए ।
गुलशन झाले कर्णालीबाट सर्वाधिक ३६ रन बनाए । उनले २७ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । मोहसिनले ४ ओभरमा १४ रनमात्र खर्चेर २ विकेट लिए । ललितले ४ ओभरमा १६, किशोर महतोले ४ ओभरमा २८ र ठाकेरले ४ ओभरमा ४५ रन खर्चेर १–१ विकेट लिए ।
