जनकपुर बोल्ट्सको दाबेदारी

मंसिर १८, २०८१

विनोद पाण्डे

काठमाडौँ — अनिल साहले कप्तानी इनिङ्स खेलेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । अनिलले अविजित ६२ रन बनाएपछि जनकपुरले सोमबार दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गरी सुरुआती दाबेदारिता प्रस्तुत गरेको छ ।

उनले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले १ सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा गरेको थियो । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले नै पराजित गरेको थियो । कर्णालीले पहिलो खेलमा हार बेहोरेको हो ।

नेपाली राष्ट्रिय टोलीका सदस्यद्वय अनिल र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । उनीहरूले पहिलो विकेटमा ८४ रन जोडे । आसिफ १० औं ओभरमा २९ बलमा ३६ रन बनाई आउट भए । आफ्नो पहिलो ओभर लिएर आएका मौसम ढकालले उनलाई लङअनमा क्याचआउट गराए ।

पावर प्लेको ६ ओभरमा ५५ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा ८५ रन जोडेर बलियो विजय आधार तयार पारेको थियो । अनिलले जिसन मक्सदुलाई स्ट्रेट छक्का प्रहार गरी ३५ बलमा व्यक्तिगत अर्धशतक पूरा गरेका थिए । लाहिरू मिलान्थाले १३ बल खेल्दै समान २ चौका र छक्कासहित २४ रन बनाए । उनलाई मक्सुदले एलबीडब्लु आउट गरे । जिम्मी निशम ८ बलमा २ चौका र १ छक्कासहित१६ रनमा अविजित रहे । यसअघि भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णालीले ७ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो । अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रन जोडेपछि कर्णालीको स्कोर हेर्नलायक बनेको थियो । १९ औं ओभरमा हर्ष ठाकेरलाई २ छक्का र २ चौका प्रहार गरेका अर्जुन अन्तिम ओभरमा ३३ रनमा रनआउट भए । उनले २२ बल खेले । अन्तिम ओभरमा २१ रन प्रहार गरेका सोमपाल १३ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित भए ।

देव खनाल र शिखर धवन ओपनिङ जोडीको रूपमा आएका थिए । देवलाई १ रनमा ललित राजवंशीले बोल्ड गरिदिए । धवनले ३ चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाए । क्यानेडियन खेलाडी ठाकेरले धवनको अफस्टम्प उडाइदिए । मोहम्मद मोहसिनले चाडविक वाल्टनलाई ८ र बाबर हायतलाई १२ रनमा आउट गरे । २५ बल खेलेका हायतले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । हायतअघि न्युल्यिान्डका अलराउन्डर जिम्मी निशमले जेसन मक्सुदलाई शून्यमा बोल्ड गरेका थिए ।

गुलशन झाले कर्णालीबाट सर्वाधिक ३६ रन बनाए । उनले २७ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । मोहसिनले ४ ओभरमा १४ रनमात्र खर्चेर २ विकेट लिए । ललित, किशोर महतो र ठाकेरले १–१ विकेट लिए । 

आजका खेल

सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्स (९ः१५ बजे )

चितवन राइनोज विरुद्ध पोखरा एभेन्जर्स  (१३:१५ बजे )

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully