अनुभवले खेलिरहेको छु : तनवीर

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

I am playing with experience: Tanveer

काठमाडौँ — सोहेल तनवीर ९ दिनपछि ४० वर्ष पुग्नेछन् । तर, तीव्र बलरका यी पाकिस्तानी भेट्रानको क्रिकेटमोह अझै उस्तै छ । मैदानमा शतप्रतिशत दिन उनी आतुर हुन्छन् । चितवन राइनोजबाट एनपीएल खेल्न उनी दुई दिनअघि मात्र क्यानडाबाट काठमाडौं आइपुगेका हुन् ।

अनौठो देव्रेहाते बलिङ उनको हतियार हो । त्यही हतियारलाई पूरा प्रयोग गर्दै उनले सोमबार काठमान्डु गुर्खाजविरुद्धको खेलमा ५ विकेट लिए । उनी प्लेयर अफ द म्याच चुनिए । पोस्टम्याच कन्फ्रेन्समा तनवीरले मिडियासँग गरेको संवाद :

नेपालको यो विकेटमा बलिङ गर्न कतिको गाह्रो रह्यो ?

टी–२० मै बलिङ गर्न सजिलो हुँदैन । निकै कठिन हुन्छ । तर, मसँग ४ सयभन्दा बढी खेल खेलेको अनुभव छ । कन्डिसन हेरेर बलिङ गर्न र पिचले कस्तो व्यवहार देखाइरहेको छ, त्यो बुझ्न अनुभवले मलाई निकै सहयोग गर्‍यो । सुरुमा सिम मुभमेन्ट थियो । तर, कन्डिसन बुझेर त्यसअनुरुप बलिङ गर्नु अझ राम्रो हुन्छ । 

माइकल लेभिटबाट तीन चौका सामना गर्नुभयो, तत्काल उनलाई आउट गर्न कुनै योजना बनाउनुभएको थियो ?

लेभिटले बाउन्ड्री हानिरहेको थियो । म उनलाई निक गर्न खोजिरहेको थिएँ, तर सफल हुन सकेको थिइनँ । त्यसपछि मैले प्लान ‘बी’ अनुसार बलिङ गरें, त्यसमा सफल भएँ । कहिलेकाहीं यस्तोमा सफल नहुन सक्छ । तर, आज मेरा लागि भाग्यशाली दिन रह्यो । 

तपाईं ढिला गरी काठमाडौं आउनुभयो र तयारीलाई समय पाउनुभएन । यस्तो विकेटका लागि कसरी तयार हुनुभयो त ?

मैले यो उपमहाद्वीपमा धेरै क्रिकेट खेलेको छु । तथापि मैले नेपालमा खेलेको थिइनँ । बंगलादेशमा खेलेको छु, त्यहाँको पिच स्लो र धेरै स्पिन सहयोगी हुन्छ । मसँग यो कन्डिसनमा भिज्न खासै समय थिएन । आइबार हाम्रो अभ्यास सत्र थियो । म क्यानडाबाट लामो फ्लाइट लिएर आएको थिएँ, त्यसैले यहाँ आउनेबित्तिकै खासै समय पाइनँ । चाँडो यो परिस्थिति बुझ्न मैले आफ्नो अनुभव मात्र प्रयोग गरेको थिएँ । 

तपाईंं र रवि बोपाराले धेरै लिगहरू खेल्नुभएको छ, टिममा केही युवा प्रतिभा छन् । यसलाई एकैसाथ कसरी अगाडि लैजाने सोच्नुभएको छ ? 

हामीसँग राम्रो टिम छ । युवा खेलाडीहरू छन् । अवश्य पनि एउटा टिमका हिसाबमा हामी जित्न चाहन्छौं । व्यक्तिगत रूपमा आफ्नो अनुभव युवा नेपाली खेलाडीमा सार्न चाहान्छु, जसका कारण उनीहरूले आफ्नो खेलमा प्रगति ल्यायोस् । मेरो यहाँ आउनुको उद्देश्य पनि यही हो । २० वर्षदेखि खेल्दै आएको छु । मसँग अझै क्रिकेट खेल्ने धैर्य छ । मुख्य कुरा मेरो अनुभव यहाँका खेलाडीलाई बाँड्नु नै हो । यो अनुभव मेरो टोलीलाई मात्र होइन, अरूलाई पनि बाँड्न खुला छु । हाम्रो टिम मिटिङ भएको थियो । मैले आफ्नो टोलीका युवा खेलाडीलाई केही कुरा बुझ्नुपरेमा सिधै आएर मलाई सम्पर्क गर्दा हुन्छ भनेको छु । 

नेपालका लागि एनपीएलको महत्त्व कत्तिको छ जस्तो लाग्छ ?

मैले आईपीएल पनि खेलेको छु । आईपीएलपछि भारतको क्रिकेटमा धेरै परिवर्तन आयो । आईपीएलले भारतलाई धेरै क्रिकेटर दिएको छ । पीएसएलले पनि पाकिस्तानी क्रिकेटलाई धेरै दिएको छ । यस्तो लिगले निश्चय पनि उनीहरूको देशको क्रिकेट विकासमा मद्दत गर्छ । यो लिग पनि केही वर्ष निरन्तर हुने हो भने नेपाली क्रिकेटले पनि फड्को मार्नेछ । 

तपाईंंहरूको खेल हेर्न चितवनबाटै दर्शक आएका छन्, यसलाई कसरी लिनुहुन्छ ?

हामी आर्टिस्ट हौं । मनोरन्जन प्रदान गर्छौ तर त्यो कसैले हेर्दैन भने त्यसको केही मजा हुँदैन । यहाँ आउनु अगाडि मैले केही भिडियोहरू टीभीमा हेरेको थिएँ, समर्थकले आफ्नो टिमको खेल कसरी हेर्छन् भन्ने मैले देखेको थिएँ । त्यसैले मैले यहाँ यस्तो खाले समर्थकको अपेक्षा गरेको थिएँ ।

कान्तिपुर संवाददाता

Link copied successfully